धरान/ कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगको सदस्यहरू धरानका दुई सहित चार जनालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
खोकु छिन्ताङ दुख्यो कि भन्ने गीत गाएर चर्चित भएका किसोर थुलुङ राई, बरिष्ठ पत्रकार भवानी बराल,डा. सिताराम बस्नेत, र नमिता न्यौपानेलाई सोमबार वसेको मन्त्री परिषद बैठकले नियुक्ति गर्ने निर्णय गरेको हो । धरानका थुलुङ पर्यटन,पत्रकारिता ,साहित्य तथा संगीत क्षेत्रमा नाम चिनिएका व्यक्ति हुन् ।थुलुङ एमालेबाट नियुक्त भएका छन् ।
धरानकै वरिष्ठ पत्रकार बराल माआबादीबाट हुन् । पत्रकारिता तथा लेखन क्षेत्रको प्रतिनिधित्व गर्दछन् ।अर्का न्यौपाने नियुक्त पनि माओबादीबाट नियुक्त भएका छन् । न्यौपाने विराटनगर निवासी हुन् ।
उनी शिक्षा तथा बीमा व्यवसायमा संलग्न रहेकी छन् । सरकारले नियुक्त गरेका सदस्यहरूमा डा. बस्नेत काठमाडौं निवासी हुन् ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले चार जनालाई नियक्ति गर्ने निर्णय गरेको बताए ।
आयोगका उपाध्यक्षमा भने यसअघि नै डा. राजेन्द्र अधिकारी नियुक्त भइसकेका छन् ।
मन्त्रिपरिषद् बैठकले कोशी प्रदेशमा विभिन्न पक्षहरूसँग वार्ता तथा संवादका लागि आर्थिक मामिला तथा योजनामन्त्री राम बहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा शान्ति वार्ता टोली गठन गरेको छ ।
टोलीको सदस्यहरूमा भौतिक पूर्वाधार मन्त्री गणेश प्रसाद उप्रेती र आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी रहेका छन् ।
सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेल रहने गरी वार्ता समिति गठन गरेको जनाइएको छ ।