विराटनगर/ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कोशी प्रदेशको राजधानी विराटनगरमा आइतबारबाट सुरु भएको प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठीको उद्घाटन गरेका छन् ।
गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयुक्त रूपमा गोष्ठीको आयोजना गरेका हुन् ।
गोष्ठीको समापन सोमबार हुने छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले प्रदेशभित्र रहेका विशिष्ट सुरक्षा समस्या पत्ता लगाउँदै समाधानको उपाय पहिल्याउन गोष्ठीको आयोजना गरिएको जानकारी दिए ।
प्रदेशभित्रको सुरक्षा समस्या समाधान गर्न कस्तो भूमिका खेल्नुपर्छ र सुरक्षा व्यवस्थासहित संघीयता कार्यान्वयनका लागि तत्कालीन एवं दीर्घकालीन रूपमा के के काम गर्न आवश्यक छ भनेर निष्कर्षमा पुग्नलाई प्रदेश सुरक्षा गोष्ठीको आयोजना गरिएको उनको भनाइ छ ।
उनका अनुसार सुरक्षा गोष्ठीमा नेपाल सरकार गृह मन्त्रालयबाट शान्ति सुरक्षा र विपद् व्यवस्थापनको क्षेत्रमा सम्पादन भइरहेका कार्यहरु, नीतिगत एवं योजनागत विषयहरु, प्रदेश तथा जिल्लास्तरमा रहेका समस्याहरुका बारेमा छलफल हुने छ । प्रदेशको सुरक्षा अवस्थाका बारेमा केन्द्रीय तहमा जानकारी गराउने र त्यसउपर छलफल गर्ने महत्वपूर्ण अवसर गोष्ठीबाट मिलेको पौडेल बताउँछन् ।यस कार्यक्रमले अन्तरतह समन्वय, सहकार्य र अन्तरसम्बन्ध पनि मजवुत हुने विश्वास रहेको उनको भनाइ छ ।
‘मुलुकका सबै स्थानमा एकै किसिमका सुरक्षा चुनौती रहँदैनन्,’ पौडेलले भने, ‘सुरक्षा चुनौती तथा समाधानका उपाय स्थान विशेष र समय अनुसार फरक पर्छन् ।’ पौडेलका अनुसार गोठीमा कोशी प्रदेशका १४ वटै जिल्ला, प्रदेश सरकार, नेपालका ४ वटै सुरक्षा निकाय र गृह मन्त्रालयबाट महाशाखागत प्रस्तुति रहने छ ।
गोष्ठीको सुरुमा प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले प्रस्तुति गर्ने छन् । उनीहरुले जिल्लाको समग्र वस्तुस्थिति, सुरक्षा अवस्था र चुनौती एवं आगामी दिनका लागि बनाउनुुपर्ने रणनीतिलगायतलाई समेटेर जिल्लागत प्रस्तुति दिने छन् ।
पहिलो दिन आइतबार इलाम, उदयपुर, ओखलढुंगा, खोटाङ, झापा, ताप्लेजुङ, तेह्रथुम र धनकुटाका प्रमुख जिल्ला अधिकारीहरुले प्रस्तुति गर्ने छन् ।पाँचथर, भोजपुर, मोरङ, संखुवासभा, सुनसरी र सोलुखुम्बुका प्रजिअको पालो दोस्रो दिन अर्थात सोमबार आउने छ । त्यसपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र गृह मन्त्रालयका तर्फबाट प्रस्तुति हुने छ ।
आन्तरिक मामिलाका सचिव लक्ष्मीप्रसाद पौडेल, गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव थानेश्वर गौतम, गृहकै विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिव डा. भीष्मकुमार भुसाल र गृहकै सुरक्षा तथा समन्वय महाशाखाका सहसचिव नारायणप्रसाद भट्टराईले कुरा राख्ने छन् ।