श्रमसँस्कृतिले धरानको विकास योजनामा पारेको प्रभाव "गोविन्द बस्नेत"

  • वैशाख ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt - तस्बिर गोविन्द बस्नेत

धरानको इतिहास पुरानो छ । इतिहास जतिकै पुरानो अर्को उपनाम समेत थपेको छ । त्यो हो जनसहभागिताको सहर, श्रम सँस्कृतिको नमूना शहर । श्रमदान र जनसहभागिता धरानको पहिचान बनेको छ ।

धरानको इतिहास विसं १९५० तिर घना जङ्गल फँडानी गरेर सानो बस्तीबाट शुरुआत भएको मानिन्छ ।

विसं १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले चन्द्रनगर हाल पुरानो बजार र विसं १९९० तिर श्री ३ जुद्ध शमशेरले जुद्ध नगर हालको नयाँबजार बसालेको इतिहासमा छ ।

पछिल्लो समय शहरी विकाशमा धरानमा लाहुरेको बसोबास बढ्न थालेपछि ठूलो फड्को मारेको पाइन्छ । जनसहभागीताको प्रारम्भ तत्कालीन मेयर स्व. ध्यानबहादुर राईले शुरु गरे । त्यस्लाई पछिल्ला मेयर मनोजकुमार मेयाङबोले विकासको मोडल बनाए ।

अहिलेका मेयर हर्क साम्पाङले श्रमसंस्कृतिलाई धरानको खानेपानी, पार्कको अवधारण, वृक्षरोपण लक्ष्यीत श्रमदान अभियानले अघि बढाएका छन् ।

श्रम सँस्कृति पार्क पर्यटकको रोजाई बन्दै

शनिवार धरान १३ र २० मा पर्ने श्रम संस्कृति पार्कमा घुम्न आएका धनकुटाका रविन्द साम्पाङले पार्कले धरानको मुहार फेरेको बताए । उनले भने ‘धरान त्यसै सुन्दर छ, त्यसमाथि श्रम संस्कृति पार्कले यसको सुन्दरतामा थप इटा थप्ने काम गरेको छ ।’

इटहरी २० बाट आएका नागेशचन्द राईको भनाई पनि रविन्द्रको भन्दा फरक छैन । २ बर्ष अगाडि ओसो पार्क र छेउमा रहेको बीपीको शालिक बाहेक उँजाड ठाउँमा बनेको पार्कले यहाँको स्वरुप परिवर्तन गरेको उनले बताए ।

राइले भने ‘म दुई बर्ष अगाडि नेपाली काँग्रेस धरान नगर समितिले आयोजना गरेको बीपी जयन्तिको कार्यक्रममा यही ठाउँमा आएको थिएँ, त्यसबेला यो ठाउँ उराठलाग्दो थियो, अहिले त्यही ठाउँ यो हैन कि जस्तो लाग्यो ।’

धरान १३ का वडाध्यक्ष नेत्र काफ्लेले फ्लारब्रिजको निर्माण गरेर पार्कको बाटो खोलिदिएका थिए ।

त्यसपछि मेयर साम्पाङको गुरु योजनामै यो पार्कको निर्माणमा प¥यो । त्यसअघि लागू औषध प्रयोगकर्ताको अड्डा बनेको ठाउँ अहिले पार्क बनेको हो ।

पार्कमा घुम्न आउनेको संख्या बढ्दै गएकाले स्थानियलाई रोजीरोटीको बाटो खलेको धरान १३ का टिका राई बताउँछिन् ।

उनले भनिन ‘पहिला हामी यस ठाउँमा घाँस दाउँरा गर्न आउँन पनि डर लाग्थ्यो, यहाँ मरेको मान्छे अन्त्येष्टी गर्ने ठाउँ थियो, लागू औषध प्रयोगकर्ताका अखडा नै थियो ।’

अहिले आएर यस्तो हुन्छ भन्ने हामीले नसोचेका उनले बताइन । पहिले सुंगुर, कुखुरा पालेर घरायसी काममा दिन विताउने टिकाले पार्क नजिकै ‘किरात खाँजा घर’ खालेर दैनिक ६ देखि ७ हजारसम्म कमाउन थालेकी छिन् ।

पार्कमा चहलपहल बढेपछि धरान उपमहानगरपालिकाले टिकटको व्यवस्था गरेको छ ।

उपमहानगरपाकिाले दिदीवहिनी पार्क (एसडिवी) पार्क र आरा धरानमा छिर्नको लागि प्रतिव्यक्ति १० रुपैया लिने गरेको छ ।

यस बर्ष शनिवार नयाँ बर्षको दिन ३४ हजार संकलन भएको एडिडिवी पार्क निर्माण समितिकी कोषाध्यक्ष सुनिता राईले बताइन् ।

आरा धरान रोजाइमा

धरानमा इतिहास झल्काउने ‘आरा धरान’ को प्रतिमा बनाएपछि यसले अवलोकनकर्तालाई आकर्षित गरेको छ ।

मेयर हर्क साम्पाङले धरान १३ र २० वडामा पर्ने ओसो पार्कमा श्रम संस्कृति पार्कमा धरानको इतिहास झल्काउने ‘आरा धरान’को स्तम्भ बनाएका हुन ।

धरान नाम कसरी बन्यो भन्ने धरानकै नयाँ पुस्तालाई थाहा छैन । बाहिरकालाई थाहा हुने कुरै भएन ।

लाहुरेहरूको सहर भनिदैं आएको धरानको नामाकरणको प्रतिकका रुपमा यस्को निर्माण भएको हो ।

घना जंगल फडानी गरेर काठ चिर्न आरावालाहरुले आरा धरान बनाउँथे । त्यही धरान पूर्वको आधुनिक सहर धरान नाम रहन गएको हो ।

इतिहासलाई झल्काउन यो पार्क निर्माण गरिएको निर्माण समितिका संयोजक दत्त लिम्बुले बताए । उनलेले भने ‘आरा काटेर काठ चिरेको’ सँग प्रसङ्ग जोडिएकोले यसको इतिहासलाई जीवन्तता दिन आरा धरानको निर्माण गरिएको हो ।’

अहिले सम्म धरानको इतिहास प्रतिक धरानमा बनेको थिएन ।

भानु चोकमा आदिकवि भानुभक्तको अर्धकदको प्रतिमा छ । हङकङको मोडलमा बनेको घण्टाघर छ । इतिहासमा विजयपुरमा किरातकालिन राजधानी भएको उल्लेख छ ।

त्यसैको निरन्तरता स्वरुप विजयपुरमा बसेको बस्तीबाट आरावालहरु जंगलमा फडानी गरेर काठ चिर्न धरान झर्थे ।

धरानको चिनारीलाई जीवन्तता दिन श्रमसंस्कृति पार्कमा ‘आरा धरान’ बनाउने परिकल्पना अनुसार प्रतिक निर्माण गरिएको कलारकार रोजन राईले बताए ।

आरा धरानमा काठ चिर्दै गरेको काम वास्तविक रुपमा देखाउन पर्यटकका लागि बस्ने फलैचा, घेराबारा लगायतका सम्पूर्ण संरचना समेत काठकै बनाएको उनले बताए । उक्त निर्माण कार्यमा उपमहानगरपालिकाबाट ९ लाख ८४ रुपैयाँ खर्च भएको निर्माण समितिले जनाएको छ ।

रोजगार्डेनको आकर्षण

विदेश तथा स्वदेशका नेपालीहरुको सहयोग, स्वतन्त्र महिला समूहको पहलमा निर्माण भएको एसडिवी रोज गार्डेन श्रम संस्कृति पार्कभित्र एक आकर्षक पार्क बनेको छ । अहिले यो पार्क पर्यटकमा प्रमुख आकर्षकको केन्द बनेको छ ।

धरानका मेयर हर्कराजको सपनालाई साकार बनाउनका लागि बनाइएको गार्डेन निर्माण गरिएको निर्माण समितिकी अध्यक्ष गंगा लिम्बुले बताइन् ।

पार्क मेयर हर्कराज राई र श्रीमति निर्मला लिम्बुले फेबु्रअरी १४ तारिख प्रणय दिवसको दिन संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

पार्क ५९ दिनमा निर्माण भएको निर्माण समिति अध्यक्ष लिम्बुले बताइन् । पार्क निर्माणले त्यहाँ आएकाहरुलाई आकर्षित गर्ने गरेको छ ।

एसडिवी पार्कमा पुगेका दमक १० का हेम सुवेदीले धरानमा मेयरले बनाएको पार्क राम्रो छ भन्ने सुनेपछि घुम्न आएको बताए । उनले भने ‘धरान त्यसै राम्रो र सुन्दर छ, श्रमसंस्कृति पार्कको एसडिवीले सुन्दरता थपेको छ ।’

पार्कमा दिदी बहिनीले ढाकर बोकेकोप्रतिमा किराती सँस्कृतिमा रहेको तीन चुला निर्माणसँगै पानीको  फोहोरा निर्माण गरिएको फोहोरा सहित वरिपरि रोपिएको फूलले थप आकर्षण बढाएको सुवेदी बताउँछन् ।

निर्माण समितिकी कोषाध्यक्ष विष्णु लिम्बुले एसडिवी पार्क निर्माणका लागि ३१ लाख १९ हजार रुपैया संकलन भएको बताइन् ।

उनले भनिन् ‘देश विदेशबाट दाताहरुले २६ लाख ३० हजार रुपैया सहयोग गरेका छन्, हामी आफैले ४ लाख ४५ हजार संकलन गरेका थियौ ।’

उनका अनुसार हालसम्म यस पार्कमा ३० लाख ४४ हजार खर्च भइसकको छ । करिब ७५ हजार रुपैया बचत छ ।

बचत रकम बन्न लागेको सुम्निमा पारुहाङ प्रतिमा निर्माणका लागि दत्त लिम्बुलाई हस्तान्तरण गरिएको उनले बताइन् ।

श्रमदानबाट पानी

धरानमा बर्षेनी सुख्खा मौसममा पानीको हाहाकार हुने गरेको छ ।

असोज कात्तिक देखि नै पानीको अभाव झेलिरहेका सर्वसाधारणले चैत वैसाखमा मात्र समस्या हुने त्यो पनि आपूर्तिमा भने समस्या नभएको बताउने गर्छन् ।

धरान १५ की विमला बस्नेतले विगतको तुलनामा खानेपानीको समस्या अत्यन्तै कम भएको बताउँछिन् ।

उनी भन्छिन् ‘पहिला पहिला सुख्खा मौसममा पानी थाप्नकै लागि धारामा कतिखेर पानी चुहिन्छ भनेर रातभरि सुत्दैनौ थियौं, रातभरि रुँग्दा पनि पानी नआएपछि तुर्केसम्म टेम्पो रिजर्व गरेर पानी लिन जानुपर्ने अवस्था थियो, तर अहिले चैत्र र वैसाख महिनामा मात्र थोरै समस्या भयो ।’

चुनाव जितेर आएपछि मेयर हर्क साम्पाङले पानी आपूर्तिका लागि गरेको श्रम अभियानले धरानको समस्या पूरा नभए पनि समस्या केही हदसम्म समाधान भएको सर्वसाधारणको बुझाई छ ।

मेयर साम्पाङले चुनाव जित्ने वित्तिकैदेखि खानेपानी समस्या समाधानमा लागि परेका हुन् ।

उनले जलाधार क्षेत्रमा पानीको स्रोत बढाउने, पानी ट्यांकी निर्माण गर्नेमात्र हैन ४२ किमी टाढा कोकाहबाट श्रमदानबाटै पाइप विछ्याएर पानी ल्याएर धरानमा झार्न सफल भए ।

अहिले यो विष्णुचौकमा रहेको खानेपानी ट्यांकीमा जम्मा गरिएको छ ।

भूमिगत पानी कुम्भी आहालबाट मात्र पानी संकलन हुने सो ट्यांकीमा अहिले कोकाहाको पानी समेत संकलन हुन्छ ।

सुख्खा मौसममा पनि यो पानी निरन्तर आउने गरेका कारण धरान ११ र १७ का सर्वसाधारणलाई पानी खुवाउन सकिएको छ ।

कोकाहबाटमात्र ४ लाख लिटर पानी जम्मा हुने धरान खानेपानी बोर्डका व्यवस्थापक इन्जिनियर राजु पोख्रेल बताउँछन् । उनका अनुसार धरानमा १३ वटा वेलहरु रहेका छ्न । उनका अनुसार कुम्भी आहालमा ३ वेल र चारकोसे क्षेत्रमा १० वटा वेलहरु रहेका छन ।

धरानमा जम्मा ३ करोड लिटर पानी आवस्यकता रहे पनि अहिले सुख्खा मौसममा २ करोड पानी उत्पादन भरहेको बताए ।

उनले भने–‘भूमिगत पानीबाहेक श्रमदानबाट ल्याएको पानीले थप सहयोग पु¥याएको छ, पकुवा २ लाख पानी उत्पादन हुन्छ, कोकाहबाट ७ लाख, सर्दु खर्दु र निशानेबाट ४१ लाख पानी उत्पादन हुन्छ ।

त्यसबाहेक खानेपानी सस्थानको वेलबाट ६० लाख ,एडिबी प्रोजेक्टबाट १ करोड पानी उत्पादन भइरहेको उनको भनाइ छ ।

उनले खानेपानकै लागि धरान १३ सर्दु जलाधार क्षेत्रमामा गोर्खा गोर्खा पिस फाउन्डशनको सहयोगमा श्रमदानबाटै २ लाख ३७ हजार अट्ने पानी ट्यांकी समेत निर्माण गरिएको छ ।

यसले खानेपानी समस्या समाधानमा थप सहयोग पुगेको व्यवस्थापक पोख्रेल बताउँछन् ।

श्रमदानबाट वृक्षरोपण

मेयर हर्क साम्पाङको अर्को उद्देश्य धरानमा वृक्षरोपण गरेर हरियाली बनाउँदै जलाधार क्षेत्रको संरक्षण गर्नुपनि हो ।

हाल सम्म श्रमसंस्कृति पार्क क्षेत्रको सर्दु जलाधार क्षेत्र, च्यान डाँडा, जलाधारको सिरान धौलागिरी क्षेत्र लगायतमा १ लाख भन्दा बढी विरुवाहरु रोपिकएको वृक्षरोपण अभियान संयोजक दत्त लिम्बुले बताए ।

उनले भने ‘हामीले धरानका अधिकांश ठाउँमा सिसिर, जमुना, रुद्राक्ष दाना, भुइचम्पा, उत्तीस लगायतका विरुवाहरु रोपेका छौं,

अहिले ती विरुवाहरु हुर्किसकेका छन्, अहिले सुख्खा मौसम भएका कारणले वृक्षरोपणलाई हामीले थाँति राखेका छौ ।

उनका अनुसार सबै वृक्षरोपण श्रमदानबाट गरिएको हो । पश्चिममको पोखरा, पाल्पा लगायत पूर्वको झापा, मोरङ, संखुवासभा लगायतका सर्वसाधारणले विरुवा उपलब्ध गराउने र श्रमदानमा समेत सामेल हुँदै आएका छन् ।

कतिपय विरुवा धरानको सामुदायिक वन र वन कार्यालयबाट पनि उपलब्ध भएको लिम्बु बताउँछन् ।

उनले मेयर साम्पाङको अभियान स्वच्छ धरान, सफा धरान पनि हो यसैलाई मध्यनजर गरी वृक्षरोपणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिएको बताए ।

पार्कमा अन्य संरचना

मेयर हर्क साम्पाङको पकिल्पना अनुसार श्रम संस्कृति पार्कभित्र अझै धेरै संरचनाहरु निर्माणाधीन अवस्थामा रहेका छन् ।

कुनै संरचना निर्माण भइसकेका छन् कुनैको डिपिआर बनाएर निर्माण गर्ने चरणमा रहेको छ ।

एसडिवी पार्कको सौन्दर्यतालाई अझ सौन्दर्यककरण बनाउनका लागि झाक्री दहको निर्माण गर्न लागिएको निर्माण समितिकी कोषाध्यक्ष सुनिता राईले बताइन् ।

विदेशबाट आएको सहयोगमा जनश्रमदानद्वारा निर्मित सो दहो ८० प्रतिशत काम सकिएको उनी बताउँछिन् ।

उनले भनिन् ‘सबै काम बनिसकेको छ, अब झाक्रीको मूर्ति, पाहाको मूर्ति राख्नमात्र बाँकी छ ।’ सोही क्षेत्रमा मौनता पार्कको निर्माण समेत शुरु गरिएको छ ।

डिपिआर तयार गरेर निर्माण शुरु भएको मौनता क्षेत्रमा बुद्धको मूर्ति स्थापना गरिने निर्माण समितिकी कोषाध्यक्ष राईले बताइन् ।

उनका अनुसार यहाँ आउनका लागि तल बाटोबाट सुरुङमार्ग समेत निर्माण हुन्छ, यो निर्माण सम्पन्न भएपछि श्रम संस्कृतिको आकर्षण अझ बढेर जान्छ ।

अहिले देश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहेको उनले बताइन् ।

जनसहभागिताको नमुना धरान

जनसहभागिताको सहर भनेर धरानले अहिलेमात्र हैन विगतदेखि नै एउटा पहिचान बनाएको छ ।

जनसहभागिताको शुरुवात मेयर ध्यानबहादुर राईको पालामा भएको थियो । २०४८ सालको स्थानीय निर्वाचना उनी ३३ बर्षका मात्र थिए ।

तत्कालीन मेयर मेन्याङबो भन्छन् ‘जनसहभागिताको कन्सेप्ट तत्कालीन मेयर ध्यानबहादुर राईले गर्नुभएको थियो, त्यसबेला म उपमेयर थिए,

मलाई उहाँले ल्याएको कन्सेप्ट धेरै राम्रो लाग्यो, म २०५४ सालमा मेयरमा निर्वाचित भएपछि ६० प्रतिशत नगरपालिकाको र ४० प्रतिशत जनताको लगानीमा विकास निर्माणलाई तीव्रता दिएको हुँ ।’

उनले जनसहभागिताबाटै धरानमा धेरै विकास भएको बताए । त्यतिमात्र हैन सर्वसाधारणले बाटोका लागि जग्गा दिने, कम्पाउण्ड भत्काउने लगायतका काम समेत धराने जनताले स्वस्फूर्त गरेको उनी सुनाउँछन् ।

घण्टाघर निर्माणका लागि तत्कालीन मेयर मेन्याङ्बोको पहलमा बनेको हो ।

एक करोड ५० लाखको लागतमामा निर्माण भएको घण्टाघरको लागतमध्ये ५० लाख रुपैया उपमहानगरपालिकाले लगाएको उपमहानगरपालिकाका योजना विकास शाखाका प्रमुख इन्जिनियर सुरज श्रेष्ठ बताउँछन् ।

उनका अनुसार धरानमा जनसहभागिताबाट मात्रै करिब ३ सय किमी सडक कालोपत्रे भएको छ ।

धरानमा २०४५ सालमा आएको भुकम्पका कारण धेरै धनजनको क्षति व्यहोर्नु परेको थियो । नगरपालिकाले २०६० सालमा भवन आचारसहिता लागू गरेपनि २०६४ सालदेखि यसको कार्यान्वयन भएको हो ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved