इलाम २ उप निर्वाचन १६ जना उममेद्वारकोे जमानत जफत बुबाकै प्रतिस्पद्धी हराउँदै सुहाङको संसद् यात्रा

  • बैशाख १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इलाम/ नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरू भएको छ ।

इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरू भएको हो ।

एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा बुबाको विरासत जोगाउँदै उनको सांसद यात्रा प्रारम्भ भएको हो ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार ८३० मतान्तरले पराजित गरेर सुहाङ इलाम–२ लाई प्रतिनिधित्व गर्दै सांसद बनेका हुन् । सुहाङले २७ हजार ७७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार ९४२ मत प्राप्त गरेका थिए ।

०७९ सालको निर्वाचनमा खड्का नै यो क्षेत्रबाट उम्मेदवार थिए ।

त्यतिबेला उनलाई पराजित गर्ने उम्मेदवार पनि सुहाङकै बुबा एमाले नेता सुवासचन्द्र नेम्बाङ थिए ।

त्यो निर्वाचनमा भने तत्कालीन सत्ता गठबन्धनका खड्का झिनो मतान्तरले पराजित बनेका थिए ।

सुवासले ३० हजार २० मत ल्याउँदा डम्बरले २९ हजार ९ सय ६ मत ल्याएका थिए ।

उनीहरूको मतान्तर १ सय १४ थियो । अहिले उनै खड्का सुवासका कान्छा छोरा सुहाङसँग फराकिलो मतान्तरले पराजित भएका हुन् ।

खड्का २०७४ सालको निर्वाचनमा पनि इलाम क्षेत्र २ (१) मा एमाले उम्मेदवार रामबहादुर रानासँग पराजित भएका थिए ।

इलाम क्षेत्र २ को उपनिर्वाचनका १९ उम्मेदवारमध्ये १६ जनाको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत ल्याउन नसक्दा उनीहरूको धरौटी गुमेको हो ।

१२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेकामा नेकपा (एमाले), नेपाली कांग्रेस र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिममात्र जमानत जोगाउन सफल भए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को व्यवस्थाअनुसार कुल सदर मतको १० प्रतिशत मत नल्याए धरौटी जफत हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), राप्रपालगायत १० दल र छ स्वतन्त्र उम्मेदवारले १० प्रतिशत मत ल्याउन सकेनन् ।

यो क्षेत्रमा कुल सदर मत ६९ हजार ३ सय ७४ छ । यसको १० प्रतिशत ल्याउन छ हजार तीन सय हाराहारी चाहिन्छ ।

रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत मात्र ल्याए ।

राप्रपा उम्मेदवार लक्ष्मी गुरुङले ४०४, जनमत पार्टीका प्रेम थाम्सुुहाङले ११८, नेकपा (एस)का जितबहादुर राईले ४०८, नेपाल मजुदर किसान पार्टीका श्यामबहादुर दर्जीले ३३, मंगोल नेसनल अर्गनाइजेसनका मणि लिम्बूले ८१६ मतमात्र ल्याएर धरौटी गुमाए ।

राप्रपा नेपालका गणेशबहादुर चौहानले ४३, नेपाल जनता दलका रेशबहादुर सुनुवारले २०६, नेसनल रिपब्लिकन नेपालका धन रानामगरले ३६ र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्तविक्रम साहले ४३ मत ल्याए ।

उनीहरूको पनि धरौटी बचेन ।

स्वतन्त्र उम्मेदवारहरू अर्जुनविक्रम शाहीको ५५, डाकप्रसाद गौतमको १४, दीपेश बोहोराको २१, मनोज निरौलाको १२, योगेन्द्र गुरुङको ४ र राज बस्यालको ३८ मत आएको छ । उनीहरू सबैले धरौटी गुमाएका छन् ।

को हुन सुहाङ ?

सुहाङको जन्म २०४६ फागुन ६ गते बुबा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रूपमा काठमाडौँमा भएको थियो ।

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरू गरेका सुहाङले जगत माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरे ।

ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि अष्ट्रेलिया गए । त्यहाँ दुई वर्ष बसेर उनी नेपाल फर्किए ।

स्वदेश फर्केर उनले काठमाडौँ स्कूल अफ लबाट कानुन संकायमा बीएलएलबी, वाणिज्य कानुनमा एलएलएम अध्ययन पूरा गरे ।

सुवास आफू कानुन पढेको र अधिवक्ता भएकाले छोरा सुहाङलाई पनि कानुन नै पढाएका थिए ।

सुहाङ पछिल्लो समय काठमाडौँको थापागाउँमा ‘कान्तिपुर ल एसोसिएट्स एण्ड रिसर्च सेन्टर’ स्थापना गरी वकालत गर्दै आएका थिए ।

सुहाङ राजनीतिभन्दा खेलकुदमा बढी लगाव राख्थे । स्कूले जीवनमा धरैजसो समय होस्टेलमै जीवन बिताएका सुहाङ अष्ट्रेलियाबाट फर्किएपछि कलेजमा हुने भएका खेलकुद प्रतियोगितामा सहभागी हुन थाले ।

उनले खेलकुद क्षेत्रको विकासका लागि दुई वर्षअघि ‘इलाम स्पोर्टिङ डी मेची क्लब’ समेत स्थापना गरे ।

पछिल्लो समय उनी सोही क्लबमार्फत इलामका विभिन्न ग्रामीण क्षेत्रमा पुग्ने गरेका थिए । फुटबल र क्रिकेटमा रुचि भएका तथा पेशाले अधिवक्ता सुहाङ सरल, सालिन र नरम स्वभावका छन् ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि बुबा सधैँ केन्द्रीय राजनीतिमा छाइरहेकाले पनि सुहाङले राजनीतिकलाई नजिकबाट बुझ्ने अवसर पाए । यद्यपि, उनी राजनीतिक गतिविधिबाट भने टाढै थिए । सुहाङले यसअघिसम्म कुनै पनि निर्वाचनमा मतदान समेत गरेका थिएनन् ।

आफ्नै बुबा उमेदवार हुँदा समेत मतादता नामावलीमा नाम दर्ता नभएकाले मतदान गर्न पाएका थिएनन् ।

राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाए पनि खासै रुचि भएका सुहाङलाई परिस्थितिले सांसद बनायो ।

तर, बुबाको सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनपछि उनलाई पार्टीले टिकट दिलाएर सांसद बनाएको हो ।

सुहाङलाई सांसद बनाउनमा नयाँ सत्ता समीकरणले सहज बनायो ।

नेकपा (माओवादी केन्द्र), नेकपा र नेपाल परिवार दलको समर्थन पाएका नेम्वाङले कम उमेरमा नै संसद छिर्ने अवसर पाएका छन् ।

एसईई स्पिकरको दोस्रो ...

धरान/ कोशी प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता ‘ ...

दमकको भ्यू टावर’ तया ...

झापा/ राष्ट्रिय गौरबको आयोजनाको रुपमा हेरिएको झापा ...

धन कमाउन हिडेकी धनमा ...

धरान । एक श्रीमान,५ छोरी र २ छोराकी आमा धनमाया विश्वकर् ...

कोशि प्रदेस स्तरीय ...

 धरान/  कोशि प्रदेस स्तरीय एस.ई.ई.आईडल-२ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved