धरान/ संघीय लोकतान्त्रिक मञ्चका अध्यक्ष कुमार लिङ्देनले पहिचानको आन्दोलन अझ पेचिलो भएर जाने बताएका छन् ।
उनले यसका लागि पहिचानवादी शक्ति एक ठाउँमा उभिएर संघर्ष समिति नै बनेर चरणवद्ध आन्दोलनमा उत्रिइसकेको अवस्थामा यो आन्दोलत अझ पेचिलो भएर जाने बताएका हुन् । अध्यक्ष लिङदेनले विहीबार नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा अबको लडाई अस्तित्वको लडाई भएको बताए ।
उनले भने, ‘हाम्रो आन्दोलन विगत १८ बर्षदेखिको हो, आन्दोलन निरन्तर चलिरहेको छ, यसलाई अझ ससक्त बनाउन प्रदेश नं. १ स्तरीय संघर्ष समिति गठन भएको छ, यसमा पहिचानवादी सबै एकै ठाउँमा छौं, यो समितिका हाम्रो भूमिका पनि महत्वपूर्ण रहन्छ ।’
उनले मञ्चको आन्दोलन तुहाउन केही व्यक्तिहरुले कोशिष गरे पनि असफल भएको बताए ।
उनले लिम्बुवान फुटाउन महत्वपूर्ण भूमिका खेल्ने ज्ञानबहादुर गुरुङ, अशोक चेम्जोङ, दिलकुमार लावती, भविराज तुम्सा, धनबहादुर पन्धाक, इन्दिरा मेन्याङ्बो, मदम माबो, अमर इजम, लगायतका व्यक्तिहरुलाई इंगित गर्दै लिम्बुवान आन्दोलनलाई ध्वस्त बनाउने तत्व आफै परास्त भएर गएको बताए ।
उनले अरुण सप्तकोशी पूर्वको भूमिमा अणुबमले पनि ध्वस्त गर्न नसक्ने लिम्बु आन्दोलनले जरा गाडेको देखेपछि पहिचानको आन्दोलनलाई तुहाउन तथा मञ्चलाई ध्वस्त बनाउन पटक पटक आक्रमण भएको भएपनि उनीहरुको प्रयास असफल भएको बताए ।
लिम्बुवान आन्दोलनाई कमजोर बनाउन हालिएको मुद्धा समेत चारपटक आफूहरुले जितेर आधिकारिकता प्राप्त भएको सुनाए ।
उनले भने, ‘मञ्चको संरचना अनुसार लिम्बुवान आउँदैन, मञ्चको संरचना अनुसार हामी कहिल्यै मन्त्री सांसद बन्दैनौ, त्यसैले एकताको नाम दिएर मञ्चलाई कुनै न कुनै विलय र ध्वस्त बनाउनुपर्छ भन्ने मानसिकता बोकेकाहरुको आज पराजय भएको छ ।’
उनले मञ्चले आधिरिकता पाएसँगै अब यो मञ्च अझ ससशक्त भएर अगाडि बढ्ने चेतावनी समेत दिए ।
पत्रकार सम्मेलनमा मञ्चका सुनसरी इन्चार्ज भुपेन्द्र सुन्दर लावतीको संयोजनमा भएको थियो । सम्मेलनमा मञ्चका विभिन्न तहका नेताहरुको उपस्थिति रहेको थियो ।