मोरङ/ कृषि क्षेत्रको पनि व्यापार सन्तुलनमा महत्वपूर्ण भूमिका रहने हुदा कृषिजन्य वस्तु उत्पादन र उत्पादन मुल्य श्रृखला बढाउने कार्य गर्दै कृषि उपजमा प्रतिस्पर्धी क्षमता विकास गर्नुपर्नेमा कोशी प्रदेशका व्यवसायीहरुले जोड दिएका छन् ।
उनीहरुले जब सम्म व्यापार योग्य वस्तु तथा सेवा उपलब्ध हुँदैनन् तबसम्म व्यापार सहजीकरण प्रयासले खासै अर्थ नराख्ने बताएका छन् ।
कोशी प्रदेशको कृषि व्यापार प्रवद्र्धन रणनीति सम्बन्धि छलफल कार्यक्रममा व्यवसायीहरुले कृषि उत्पादनलाई तुलनात्मक लाभ प्राप्त गर्नसक्ने हैसियत प्रदान गर्न वस्तुमा केन्द्रीत रहि निर्यात बृद्धिमा जोड दिनुपर्ने माग गरेका छन् ।
कृषिमा लगानी बढाउने गरी सरोकारवाला क्षेत्रहरुले काम गर्नुपर्ने उनीहरुको सुझाव छ । कृषि उत्पादनको लागत कम गर्नका लागि सरकारले नै ध्यान दिनुपर्ने उनीहरु बताउँछन् । अहिलेकै अवस्थाको कृषि उत्पादनले ठुलो बजारमा प्रतिष्पर्धी क्षमता तयार गर्न नसक्ने दाबी उनीहरुको रहेको छ ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कृषि व्यापारको क्षेत्रलाई अघि बढाउनका लागि राम्रो रणनीति बनाउन छलफल आयोजना गरिएको बताए ।
महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले कृषि क्षेत्रलाई इमान्दारिताका साथ अघि बढाउन सवै क्षेत्रको सहयोग रहनु पर्ने बताए ।
उनले आवश्यकता परेको खण्डमा अप्रिय निर्णय लिएर भएपनि काम गर्नुपर्ने सुझाव दिए । छिमेकी मुलुकबाट आयातमा भइरहेको सहजताका कारण मात्रै विभिन्न क्षेत्रले सुरक्षित महसुस गरेको जानकारी दिए ।
त्यसै गरि उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहालले व्यापार प्रबद्र्धन रणनीतिमा प्रस्तुत गरिएको विषयहरुलाई तथ्यांकको तथ्यगत विश्लेषणबाट यथार्थपरक बनाउनु पर्ने बताए ।
उद्योग कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलले व्यापार प्रबद्र्धन रणनीति कार्यक्रममा नीजि क्षेत्रबाट व्यापार प्रबद्र्धनका लागि के के र कुन कुन क्षेत्रमा लगानी गर्न सकिन्छ विस्तृत रुपमा आउनुपर्ने बताए ।
प्रदेश महासंघका अध्यक्ष राउतको अध्यक्षता र कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री रामप्रसाद महतोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राज्यमन्त्री महतोले कृषि क्षेत्रमा धेरै ठुलो समस्या रहेको बताउदै त्यसका लागि कृषि व्यापार रणनीति आवश्यक रहेको बताए ।
उनले प्रदेशमा कृषि उत्पादनमा संलग्न किसानहरुलाई आत्मनिर्भर बनाउँदै कृषि क्षेत्रको समस्या समाधान गर्न आफु समेत लागि पर्ने बताए ।
उनले भने, ‘रणनीति बनेको खण्डमा प्रदेशको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन पनि सहयोग पुग्छ, किनभने हाम्रो कृषि क्षेत्रको नशाहरु नै बिग्रिएका छन्, एउटा नशाको उपचार गर्यो भने अर्कोतिर समस्या आइहाल्छ, अहिले त झन तराईका जिल्लामा भूमिगत पानीको स्रोत नै सुक्न थालेको छ, उता अर्कोतिर पानी खेर गइरहेको छ ।’
आफुले नेतृत्व गरेको मन्त्रालयबाट सकेसम्म किसानहरुलाई अघि बढाउन र व्यवसायिक रुपमा उत्पादन क्षेत्र विस्तार गर्न लागिपर्ने प्रतिवद्धता पनि जनाए ।
सहज परियोजनाका परामर्शदाता रामचन्द्र बस्ताकोटीले कोशी प्रदेशमा मूल्य श्रृंखलाका लागि बालीहरुको पहिचान गर्नुपर्ने सुझाव दिए ।
उनले कृषि व्यापार प्रवद्र्धन रणनीति निर्माणका लागि तयार पारिएको कार्यपत्र प्रस्तुत गर्दै निजी क्षेत्रले सरकारी क्षेत्रबाट कृषि क्षेत्रमा लगानी अभिबृद्धिका लागि प्राप्त गर्ने सहुलियत, लगानीको ढाँचा लगायतका बिषयलाई रणनीतिमा समेटिने जानकारी दिए ।
कृषि विज्ञ डा.राजेन्द्र उप्रेतीले नेपालमा ठुलो खालको गोदाम घरहरुको निर्माण हुन सके उत्पादनले बजार सुनिश्चितता प्राप्त गर्नसक्ने बताए ।
सुन्दरहरैंचा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजालले कृषि उत्पादन विचौलियाको हातमा पुगेको भन्दै किसानलाई फाइदा हुने गरी मुल्य निर्धारण गर्नुपर्ने सुझाव दिए ।
त्यसका लागि तीन तहका सरकारहरुबीच समन्वय आवश्यक रहेको बताए ।
कृषि अभियानकर्मी मधु राईले कौसी खेतीबाट उत्पादित ड्रागन फ्रुट लगायतका फलफुल र तरकारीले पनि बजार पाउन थालेकोले कृषि व्यापार रणनीतिमा यस्ता बिषयलाई समेट्नुपर्ने बताए ।
इनरुवा उद्योग बाणिज्य संघका अध्यक्ष विरेन्द्र कुमार साहले इनरुवा लगायतका स्थानमा निर्मित कोल्डस्टोरहरु प्रयोगमा आउन नसकेकोले कृषि व्यापार रणनीतिमै यस्ता कोल्डस्टोरमा गरिने लगानीबारे स्पष्ट व्यवस्था गर्नुपर्ने सुझाव दिए ।
त्यसैगरी स्नाकोत्तर क्याम्पस विराटनगरका अर्थशास्त्र विभागका प्राध्यापक रामकुमार ढुंगेलले किसानको प्रतिव्यक्ति आयस्तर बृद्धि, रोजगारी सिर्जना र लगानीकर्ताको सुरक्षालाई केन्द्रीत गरेर कृषि व्यापार रणनीति बनाउनु पर्ने बताए ।
कार्यक्रममा कोशी प्रदेशका सम्ब्न्धित मन्त्रालयका उच्च पदस्थ अधिकृतहरु, विभिन्न उदोग वाणिज्य संघहरु, वस्तुगत संघहरु, कृषि व्यवसायी लगायत नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यसमितिका सदस्यहरुको सहभागीता रहेको थियो ।