धरान/धरानको बसपार्क अस्तव्यस्त भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले भानुचौक एरियामा जथाभावि रोक्ने अटो टेम्पो तथा सिटी सफारी नियन्त्रण गर्न थालेको छ । सिटी सफारीले बसपार्क अस्तव्यस्त बनाएको र दुर्घटनाको जोखिम बढाएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले सरोकारवालापक्षसँग छलफल गरेर निर्णय गरी नियन्त्रणको प्रयास थालेको हो ।
प्रयास स्वरुप कार्यालयले सरोकारवालासँग माघ १२ गते छलफल समेत गरेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतको उपस्थितिमा सिटिसफारीका प्रतिनिधिहरुसमक्ष छलफल भएको थियो । छलफलमा सिटी सफारीलाई ट्राफिक नियमसम्बन्धी जानकार गराउने सम्बन्धमा सरोकारवाला पक्ष सकारात्मक बनेको थियो ।
छलफलमा प्रहरी निरीक्षक बस्नेतसँगै सुरक्षित यातायात प्रा.लि.का अध्यक्ष मणिकुमार नेपाली, अखिल नेपाल यातायात मजदुर संघका प्रतिनिधि, बगरकोट यातायात प्रा.लिका अध्यक्ष उमाकान्त दुलाल, बरपिपल टेम्पो यातायात प्रा.लिका अध्यक्ष सन्तोष राई, कोशी टेम्पो यातायात प्रा.लिका अध्यक्ष मिनकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । छलफलमा अटो तथा टेम्पो नियन्त्रणका लागि चारबुँदे सहमति भएको थियो ।
निर्णय पश्चात जिल्ला ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरी सडकको जथाभावि रोक्ने, जहाँ पायो त्यही रोकेर मान्छे झार्ने तथा ओरोल्ने, पार्किङ निषेध एरियामा रोक्ने टेम्पो तथा सिटी सफारीलाई नियन्त्रण गरी दिनभरि कार्यालयमा राख्ने र साँझ एक घण्टा प्रशिक्षण दिने काम गरेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक श्याम कुमार बस्नेतले निर्णय भए बमोजिम ट्राफिक नियम उल्लङ्घन गर्ने टेम्पो तथा सिटी सफारीलाई पाँचदिन सम्म नियन्त्रणमा लिई प्रशिक्षण गराएको बताए । उनले भने–‘धरानको भानुचौक अस्तव्यस्त भएपछि हामीले सरोकारवालासँग छलफल गरेर यो अभियान चलाएका थियाँै, १२ गतेदेखि १७ गतेसम्म यो अभियान चलायाँै ।’
उनले त्यसपछि पनि यो अभियानलाई निरन्तरता दिएको बताए । उनले भने–‘त्यसपछि पनि हामीले अभियानलाई निरन्तता दिइरहेका छौं ।’ ट्राफिक नियम उल्लंन गर्ने सिटी तथा टेम्पोलाई नियन्त्रणमा लिएर जरिवाना गरेर छाडिदिने गरेका छौ, यसले गर्दा अहिले भानुचौक एरिया अत्यन्तै शान्त भएको महसुस सर्वसाधारणले गरेका छन् । ’ उनका अनुसार यसरी नियन्त्रणमा लिइएका सवारी साधनलाई पहिलोपटक ५ सय, दोस्रो पटक एक हजार र तेस्रो पटक १ हजार ५ सय रुपैया जरिवाना लिएर छाड््ने गरेको छ ।
नियन्त्रणमा लिइएका सिटी सफारी तथा टेम्पोलाई लेन अनुशासनको पालना, ओभरटेक गरिसकेपश्चात् पुन ः आफ्नो लेन (बाँया) मा आइसक्ने, सदैव बायाँ लेनबाट मात्र चलाउनुपर्ने, जथाभावि बाटो नकाट्ने, राइट टर्न, युटर्न नगर्ने, बाटो काट्नै परेमा साइट लाइट तथा लुकिङ्ग ग्लासको प्रयोग गरी मुख्य सडकका सवारी साधनलाई प्राथमिकता दिई सुरक्षित भएमा मात्र बाटो काट्ने लगायतका कुराहरु प्रशिक्षणमा सिकाइएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।
उनले भानुचौक सवारी साधन, यात्रु तथा साना सवारी साधनका कारण अस्तव्यस्त भएपछि यस विषयमा धरान उपमहानगरपालिकामा छलफल समेत भएको बताए । धरानको बजार एरियालाई व्यवस्थित बनाउन धरान उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष रमेश राईको संयोजकत्वमा जिल्ला ट्राफक प्रहरी कार्यालय सुनसरी समेत सदस्य रहने गरी १७ सदस्यीय समिति बनेको जानकारी दिए । यो समितिले विशेष गरी व्यस्त बजार धरान २ भानुचौक, देशीलाइन लगायतको अस्तव्यस्त न्यूनीकरणका सम्बन्धमा काम गर्ने उनले बताए । सिटी सफारी तथ टेम्पोलाई व्यवस्थित गर्न प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयको अभियान अन्तर्गत सुनसरीमा समेत यो अभियान थालिएको जानकारी दिए । प्रदेश १ मा भएका सबै जिल्लामा यो अभियान जारी रहेको समेत ट्राफिक प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।