धरान / नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन गरेकै कारण नेपाली काँग्रेस पछि परेको बताएका छन् । सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्र छुटिएर नेकपा एमालेसँग मिलेर सरकार बनाएसँगै नेता डा. कोइरालाले यस्तो धारणा राखेका हुन् ।
उनले सभापति शेरबहादुर देउवाको सत्तामोहका कारण अहिलेको अवस्था आएको बताएका छन् ।
नेता डा. कोइरालाले एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै यस्तो धारणा राखेका हुन् ।
कोइरालाले जारी विज्ञप्तीमा भनेका छन् ‘संविधानसभाबाट जारी संविधान अन्तर्गत मुलुकको दोस्रो आम निर्वाचनको माध्यमबाट देशले भर्खरै नयाँ प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाललाई पाएको छ ।
सर्वप्रथम संसदको तेस्रो शक्ति भएर पनि सांसदहरुको अत्यधिक वहुमत जुटाई नियुक्ति हुनुभएकोमा म उहाँलाई बधाई र शुभकामना दिन चाहन्छु ।’
विज्ञप्तीमा अगाडि भनिएको छ ‘संसदबाट नयाँ सरकारको नेतृत्व प्रचण्डको सत्तारोहण अपेक्षित थिएन । संसदीय व्यवस्थामा यस्ता घट्नाहरु असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ । सविधानसभाको रक्षा र समृद्धिको यात्रा गर्ने भनी गठित शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन हाम्रो अगाडि यो प्रश्न गम्भीर रुपमा अगाडि आएको छ । हामीले यसको चित्त बुझ्दो जवाफ काँग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुक लगायत सर्बै आम नेपाली माझ दिनुपर्ने मान्यता राख्छु ।’
उनले यस्तो अवस्थामा नेपाली काँग्रेस कति पनि विचलित नहुने विज्ञप्तीमार्फत बताउका छन् । उनले विज्ञप्तीमा भनेका छन्, ‘नेपाली काँग्रेस अब राष्ट्रिय राजनीतमा नयाँ भूमिका प्रवेश गर्देछ । काँग्रेस केन्द्रदेखि प्रदेश सबैतिर विपक्षमा बस्नुपर्नै वातावरण हठात आएको छ ।
यसबाट हामी निराश हुने छैनौं । यहाँबाट हामी सबैको परीक्षा शुरु भएको ठानी अब हामी फेरि नयाँ ढंगले जनताबीच जानेछौं । पार्टीको गल्ति कमजोरीका लागि माफी माग्ने छौं । जनतासँग सम्वाद शुरु गरेर नयाँ काँग्रेस निर्माणको महाअभियानमा जुट्नुको हामीसँग अब विकल्प छैन । सत्ता गुम्दैमा काँग्रेसको शक्ति गुमेको छैन । हामी थप शसक्त भएर कँग्रेस सशक्तिकरणको अभियानमा जुट्न दृढ संकल्प गर्दैछौं ।’