मोरङ / विराटनगरलाई डुबानबाट मुक्त गराउन विराटनगर महानगरपालिकाले सम्भाव्यता अध्ययन सुरु गरेको छ ।
डुबान समस्याको दीर्घकालीन समाधान खोज्न महानगरले एसियाली विकास बैंक (एडीवी)को सहयोगमा वर्षातको पानीले हुने डुबान व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो । वर्षाको पानी सहज निकास नहुँदा हरेक वर्षायाममा विराटनगर डुबानमा पर्ने गरेको छ ।
महानगरलाई वैज्ञानिक रुपमै डुबानबाट मुक्त गर्न एडीवीको सहयोगमा सम्भाव्यता अध्ययन सुरु गरेको मेयर नागेश कोइरालाले जानकारी दिए । मेयर कोइरालाको नेतृत्वमा सोमबार अध्ययन टोलीले महानगरका डुबानग्रस्त विभिन्न वडाको स्थलगत निरीक्षण गरेको छ ।
आरयूडीपी प्रोजेक्टअन्तर्गतको स्मेक डिएमले वर्षातको पानी व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको मेयर कोइरालाले बताए । विराटनगरमा जम्ने पानीलाई कसरी सिंघिया र केसलिया खोलामा लगेर व्यवस्थापन गर्न सकिन्छ भनेर एडीवीका कन्सलट्यानहरूबाट अध्ययनको सुरुवात गरिएको उनको भनाइ छ ।
त्यस्तै पुराना पैनीहरू घोगा, बस्ता, धुदुवा, च्याङबारी, मर्लीखोलालगायतको पानीलाई पनि मूलखोलामा पु¥याएर वर्षाको पानीलाई व्यवस्थापन गर्ने महानगरको योजना छ । ‘विराटनगरको उत्तरदेखि दक्षिण र पूर्वदेखि पश्चिमसम्मको भाग हेरिरहेको छौं,’ मेयर कोइरालाले भने ।
स्मेक डिएमका टिम लिडर डा. शेख जाबेद मोहम्मदसहितको प्राविधिक टोलीले सम्बन्धित वडामा पुगेर पानीको निकासका विषयमा सूक्ष्म अध्ययन गरेको छ । टोलीले अध्ययनपछि विस्तृत प्रतिवेदन तयार पार्नेछ ।े चुनावकै बेला विराटनगरलाई डुबानमुक्त बनाउने वाचा गरेअनुसार नै काम सुरु गरेको मेयर कोइरालाको भनाइ छ ।
‘म मात्रै होइन विराटनगरलाई डुबानमुक्त बनाउन उपमेयर र वडाध्यक्षहरू तथा सबै कार्यपालिका सदस्यहरूको गम्भीर हुनुहुन्छ,’ मेयर कोइरालाले भने, ‘वर्षाको पानीबाट हुने डुबानको व्यवस्थापन गर्न सकियो भने हाम्रो कार्यकालको सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।’
प्राविधिकसहितको टोलीले विराटनगर वडा नम्बर ३, १५, १७, १८ र १९ मा पुगेर स्थलगत अध्ययन गरेको छ । प्राविधिक टोलीले खोला र पैनीको वर्षातको समयमा हुने अवस्थाबारे स्थानीयसँग समस्याको विषयमा बुझ्ने काम गरेको थियो । अध्ययन टोलीलाई सम्बन्धित वडाका अध्यक्षले समेत डुबानका बारे जानकारी गराएका थिए । वडा नम्बर १९ का वडाध्यक्ष श्याम घिमिरे, १५ का प्रकाश साह, १८ का जितेन्द्रकुमार साहले वर्षातको पानीका कारण हुने समस्या राखेका थिए ।
उनीहरूले वडामा बढी डुबान हुने स्थानमै पु¥याएर टोलीलाई अवलोकन गराएका थिए । टोलीमा महानगरका इन्जिनियरहरू पनि सहभागी थिए । अझै केही दिन विराटनगरका अध्ययन वडामा पुगेर अध्ययन गर्ने टोलीमा सहभागी नवराज भण्डारीले जानकारी दिए ।