जडान गरेको दुई महिनामै बिग्रियो अक्सिजन प्लान्टको उपकरण

  • असोज २९, २०७९
  • "रासस"
alt

खोटाङ/ जिल्ला अस्पताल खोटाङमा जडान गरिएको अक्सिजन प्लान्ट उद्घाटन गरेको दुई महिना नबित्दै बिग्रिएको छ । अक्सिजन प्लान्टको थ्री फेज स्टेप्लाइजरको पिसी बोर्ड बिग्रँदा २० दिनदेखि अक्सिजन उत्पादनको काम बन्द भएको जिल्ला अस्पतालका प्रमुख डा नितु लामाले बताइन् ।

मुन रक्स इन्टरनेशनल प्रालिले जडानको जिम्मा लिएको अक्सिजन प्लान्ट गत साउन २३ गते औपचारिकरूपमा उद्घाटन गरिएको थियो । प्रदेश सरकार, १ नं प्रदेशको रु एक करोड ५० लाखमा जडान गरिएको अक्सिजन प्लान्टले काम नगर्दा अक्सिजन सिलिण्डर भर्नका लागि विराटनगर पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

अक्सिजन उत्पादन बन्द हुँदा सिकिस्त अवस्थाका बिरामीलाई अक्सिजन दिँदै अन्यत्र लैजानसमेत असहज भएको बिरामीका आफन्तले बताएका छन् । अक्सिजन प्लान्ट जडानसँगै जिल्ला अक्सिजनमा आत्मनिर्भर बनेको भनिएको थियो । अक्सिजन प्लान्ट जडानका लागि अस्पतालले बोलपत्र आह्वान गरेकामा नौवटा फर्मको आवेदन परे पनि घटाघटमा मुन रक्स इन्टरनेशनल प्रालिले ठेक्का पारेको थियो । तर अक्सिजन प्लान्टको संरचना कमसल बनेको भन्दै सर्वत्र विरोध भएको थियो ।

अक्सिजन प्लान्टको ट्रस अस्पतालकै एउटा भवनसँग अडेसा लगाएर बनाइएको, सिङ्गल इँटाको पर्खाल धकेल्दा ढल्ने खालको बनाइएको, ट्रसमाथि कागजजस्तो पातलो जस्ताको छाना हालिएको, मान्छे छिर्न सक्ने ठाउँ राखिएको, पर्खालभन्दामाथि र छानामुनिको ‘स्पेस’मा कुखुराको खोरलाई बारेजस्तो पातलो तारजालीले बारेको, जालीलाई प्लाष्टिकको डोरीले बाँधेको पाइएपछि रु १० लाख भुक्तानी रोकिएको थियो । अक्सिजन प्लान्टको जस्ता र जाली फेर्ने, पर्खाल प्लास्टर गर्नेलगायतका काम गरेपछि मात्र बाँकी रकम भुक्तानी दिइएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ ।

अक्सिजन प्लान्टको ट्रस कमसल बनाइएको भन्दै गुनासो आएपछि गत असार २४ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई नेतृत्वको टोलीले निरीक्षण गरेको थियो । अक्सिजन भर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य गर्न जिल्ला अस्पताल खोटाङमा जडान गरिएको अक्सिजन प्लान्टबाट दैनिक २० देखि २५ सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको थियो ।

विसं २०४९ वैशाख १ गते स्थापना गरिएको १५ शय्याको अस्पताललाई सङ्घीय सरकारको करिब रु २१ करोड लगानीमा ५० शय्यामा स्तरोन्नति गर्ने काम तीव्रगतिमा भइरहेको छ । स्थापना भएको ३० वर्षसम्म १५ शय्यामा सञ्चालन भइरहेको जिल्ला अस्पतालमा तत्कालका लागि सिलिन्डरमा भरेर प्रयोग गर्ने गरी अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको हो ।

प्लान्टबाट उत्पादन भएको अक्सिजन जिल्ला अस्पतालमा भर्ना भएका बिरामीलाई निःशुल्क तथा निजी अस्पताललाई प्रतिकेजी रु १५ मा बिक्री गर्ने व्यवस्था मिलाइएको थियो । जिल्लाको एकमात्र सरकारी अस्पतालमा सञ्चालन गरिएको अक्सिजन प्लान्ट बिग्रिएपछि नीजि अस्पतालहरुसमेत समस्यामा परेका छन् ।

निर्माणाधीन ५० शय्याको अस्पताल तयार भएपछि पाइपलाइनमार्फत सिधै बिरामीको शय्यामा अक्सिजन पु¥याउने अस्पतालले जनाएको थियो । दुई महिना नबित्दै बिग्रिएको अक्सिजन प्लान्ट सोही ठेकेदार कम्पनीलाई मर्मत गर्न लगाएर सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले बताए ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved