धरान । इलाम नगरपालिकाले तारा एयरसंग सम्झौता गरेर विमानस्थलबाट नियमित उडान गर्ने भएपछि प्रधानमन्त्री झलनाथ खनाल र पर्यटनमन्त्री प्रेम आले हतार हतारमा नेपाल बायुसेवा निगमको जहाज लिएर धावनमार्ग उद्धघाटन गर्न इलाम आएका थिए । लामो समय सम्मको पर्खाइमा रहेको इलामको विमानस्थल उद्घाटन हुदै गर्दा इलामबाटै जाहाज चढ्ने सपना देखेका जिल्ला वासीको सपना सपनामै सिमित बन्यो । अहिले विमानस्थलमा विमान आउन छाडेको तिन महिना वित्यो ।
गत फागुन ८ देखि इलामको फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट इलाम काठमाडौं उडान गर्न इलाम नगरपालिकाले सम्झौता गरेको थियो । हप्तामा दुईपटक काठमाण्डौं–इलाम–काठमाण्डौं उडानको लागि तारा एयरलाईन्स र इलाम नगरपालिकाबीच सम्झौता भएको थियो । नगरपालिका र एयरलाइन्सका बीचमा भएको सम्झौता अनुसार आतेजाते ११–११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्ने र ११ जना यात्रु नपुगे अपुग यात्रुको भाडा नगरपालिकाले ब्यहोर्नुपर्ने शर्तमा सहमति भएको सम्झौतामा उल्लेख थियो । नगरपालिका र तारा एयरलाईन्सका बीचमा भएको सम्झौता १२ उडान अर्थात तीन महिनाको लागि भएको हो । अपुग यात्रुको भाडाबापत इलाम नगरपालिकाले एयरलाईन्सलाई ११ लाख ४६ हजार रुपैया तिर्यो । तर सम्झौत मिति सकिएसँगै इलामबाट जहाज उडान बन्द भयो । नगरपालिकाले अपुग यात्रुको भाडा मात्र नभएर यात्रु प्रतिक्षालय र शौचालय निर्माणमा नगरपालिकाले २ लाख २३ हजार रुपैंया खर्च गरेको नगरपालिकाले जनाएको छ ।
अव नगरपालिकाले अपुग यात्रुको भाडा हालेर सञ्चालन गर्न नसक्ने इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले बताईसकेका छन । सुरुमा उडान निरन्तरता दिनका लागि नगरपालिकाले अपुग यात्रुको भाडा दिने सम्झौता भएपनि उडान निरन्तरता नहुदाँ जहाज उड्न छाडेको हो । फाल्गुन ११ गतेबाट उडान सुरु गरेको तारा एयरले जेठ ६ गते सम्म उडान गर्यो । त्यसयता विमानस्थल सुनसान छ भने ७ सय मिटर लम्बाई र २० मिटर चौडाई रहेको धावनमार्गको तल्लो भाग दविन सुरुभएको छ । नियमित उडान नहुँदै धानवमार्ग चर्किएपछि टालटुल पारिएको छ । राज्यको ठुलो लगानीमा निर्माण भएको विमानस्थल नियमित संचालनमा नआउँदै धावनमार्गको दविन सुरु भएपछि निर्माणको क्रममा प्राविधिक कमजोरी रहेको स्थानियको आरोप छ । विमानस्थल निर्माणमा हालसम्म राज्यको करिब ३० करोडभन्दा बढी लगानी भइसकेको छ । अझै शौचालय,टर्मिनल भवन,यात्रु प्रतिक्षालय देखी विमानस्थलसम्म पुग्ने सडक कालोपत्रे गर्न बाँकी नै छ । विमानस्थलमा प्राविधिक मापदण्ड नपुर्याई केही संरचना निर्माण गरिएका छन् । एयर ट्राफिक कन्ट्रोलका लागि बनाएको दुई तले भवन उपयुक्त स्थानमा नरहेकोले अर्को स्थानमा निर्माण गर्नुपर्ने देखिन्छ ।
२०५८ सालमानै विमानस्थल निर्माणको प्रक्रिया थालिएको भए पनि विमानस्थल बनाउने प्रक्रिया थालेको दशवर्षपछि २०६८ सालमा मात्रै निर्माणको काम थालिएको थियो । निर्माण थालेको दश वर्षपछि २०७८ मा मात्रै विमानस्थलको धावन मार्ग कालोपत्रे निर्माणको काम भएको थियो । धावन मार्ग कालोपत्रे हुनु अघि पनि परिक्षण उडान गरिएको थियो । २०७५ जेठ २१ मा तारा एयरको ट्वीनेटर जहाजले परिक्षण उडान गरेको थियो । कालोपत्रेको काम नै नथाली सफल परिक्षण भएको विमानस्थलमा कालोपत्रे भएपछि पनि परिक्षण भएको थियो । विमानस्थलबाट नियमीत उडान भए इलाम, पाँचथर सहित भारतको, दार्जिलिङ, सिक्कम लगायतका मानिसहरुलाई हवाई यात्राको लागि सहज हुनेछ । सुकिलुम्काको एउटा वस्ती नै उठाएर ३ सय २८ रोपनी जमिन अधिग्रहण गरेर बिमानस्थल निर्माण थालिएको थियो । सञ्चालन शुरु भएकर पनि नियमित उडान हुन नसक्नुले नेताहरुको चुनावी एजेण्डा बनाउन मात्र विमानस्थल निर्माण भएको देखिन्छ ।