धरान । किराँत राई यायोक्खाको केन्द्रीय कार्यक्रम अनुसार प्रदेश एकलाई ‘किराँत प्रदेश’ नामाकरण गर्नुपर्ने माग राख्दै मुख्यमन्त्रीको कार्यालय घोषणा गर्नुपर्ने माग गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन् ।
७ प्रदेशमध्ये ६ वटा प्रदेशको नाम टुंगो लागिसक्दा पनि प्रदेश १ मा अझै नामको टुंगो लाग्न सकेको छ । साढे चार बर्षको अवधिमा तीन जना मुख्यमन्त्री फेरिए पनि उनीहरुले प्रदेशको नाम टुंगो लगाउन नसक्दा नामाकरणको विषया अझै पेचिलो बन्दै गएको छ ।
प्रदेश सरकारको कार्यकाल सहिन चार महिना बाँकी छँदा पनि प्रदेशले नामाकरण गर्न नसक्नु दुर्भाग्य भएको सर्वसाधारणले बताउदै आएका छन् । पहिचान र वहुपहिचानको आधार, भूगोलको आधार लगाायतका कुरामा नामाकरण हुनुपर्ने माग उठिरहेको बेला प्रदेशको नाम ‘किरात प्रदेश’ राख्न’पर्ने माग राख्दै किरात राई यायोक्खाले सोमबार मुख्यमन्त्रीको कार्यालय अगाडि घेराउ गरेका हुन् ।
प्रदेशवासीको भावनाअनुरुप प्रदेश १ को नाम पहिचानको आधार अर्थात किरात प्रदेश हुनुपर्नेमा जोड दिँदै नाराबाजीसमेत गरेका थिए ।
धरान र इटहरीबाट मोटरसाइकल ¥यालीसहित गएको टोलीले कार्यालय घेराउपछि मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष दिवस राईले ज्ञापन पत्र बुझाएका थिए । सो अवसरमा बोल्दै अध्यक्ष राईले पहिचानको आधारमा प्रदेश एकको नामाकरण गर्दा ‘किरात प्रदेश’ उपयुक्त हुने बताएका थिए ।
अध्यक्ष राइले भने–‘जनताको अभिमत लिएर आएका छौँ, किरात प्रदेश नामकरण सार्थक रुपमा तत्काल टुंगो लागोस्, यसको श्रेय सिंगो प्रदेशको इतिहासको यलम्बरको रुपमा तपाईलाई घोषणा गर्नेछौं । उनले प्रदेशको नाम ‘किरात’ राख्न सके मुख्यमन्त्री राजेन्द्र राईलाई ‘यलम्बर’ को उपाधि दिने उद्घोष गरेका थिए । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संसद् बैठक आगामी साउन ८ गते बोलाउने तयारी भइरहेको बताए । साउन ८ देखि प्रदेशको नामाकरणको विषयले प्रवेश पाउने विश्वास गरिएको छ ।
संवैधानिक व्यवस्था अनुसार प्रदेशको नामकरण टुङ्गो लगाउन प्रदेशसभामा दुई तिहाइ बहुमत अर्थात् ६२ सांसद आवश्यक पर्छ । प्रदेशको नामाकरणका सन्दर्भमा कोशी, सगरमाथा, किरात, विराट, विजयपुर, कञ्चनजङ्घा लगायतका नाम छलफलमा छन् ।