धरान । प्रदेश नं. १ पूर्व मुख्यमन्त्री शेरधन राईले काँग्रेसले साथ दिए आधा घण्टा भित्र प्रदेशको नामाकरण गर्न सकिने बताएका छन् ।
बिहिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वमुख्यमन्त्री राईले काँग्रेसले साथ दिए आधा घण्टामा प्रदेशको नाम राख्न सकिने बताएका हुन् ।
राईले आफ्नै कार्यकालमा प्रदेशको नामकरण गर्न नसकेकोमा दुःख व्यक्त गर्दै भने, ‘नामको विषयमा एमालेमा कुनै समस्या छैन, हामी आधा घण्टामा टुंग्याउन सक्छौं,’ उनले भने, ‘नेपाली काँग्रेस लगायतका दलहरूसँग सम्वाद चलिरहेको छ र हामी केही दिनभित्र ठोस साझा प्रस्ताव गरेर प्रक्रियामा हामी सहभागी हुन्छौं ।’
सञ्चारकर्मीहरु सँग कुरा गर्दै उनले नामकरणको विषयमा छलफल भइरहेकाले केही दिनभित्रमा सहमतिमा पुग्ने बताए छन् ।
२ नं. प्रदेशको उदाहरण दिँदै पूर्व मुख्यन्त्रीले प्रदेशको नाम जे पनि हुनसक्ने बताएका छन् । उनले भने,“२ नम्बरले पनि मधेश नै राखिसक्यो । भनेपछि यो प्रदेशमा एउटा नाम तय गर्न अप्ठ्यारो छैन, प्रदेशको नाम राख्न कांग्रेस र एमाले सहमत हुँदा पनि दुई तिहाई पुग्दैन तर, हामी सहमत भयौं भने दुई तिहाई पुर्याउन समस्या हुँदैन त्यसका लागी काँग्रेस तयार हुनुपर्छ ।”
प्रदेश सरकरले आगामी आर्थिक वर्ष ७९÷८० लागी बुधबार प्रदेश सभामा पेश गरेको बजेट माथि टिप्पणी गर्दै गठबन्धनको सरकारले ल्याएको बजेट लक्ष्य उद्धेश्यविहीन भएको बताएका छन् ।
‘यो बजेट जस्तो सरकार छ बजेट त्यस्तै आएको छ । यो सरकार कुनै निश्चित उद्देश्य, गन्तव्य र प्राथमिकता नभएकोले बजेटमा पनि त्यो देखिएन,’ राईले भने, ‘चुनाव केन्द्रित, मतदातालाई चुनावमा प्रभावित गर्ने उद्देश्यबाट आएको देखिन्छ । विभिन्न नाममा पैसा छरेको देखिन्छ ।’
उनले भने, ‘एउटा जिल्लामा एउटा बर्थिङ्ग सेन्टरको अभाव छ अहिले प्रत्येक वडामा बर्थिङ्ग सेन्टर स्थापना गर्ने भन्ने आएको छ, के त्यो सम्भव छ त्यो ? ।’
यो बजेट चुनाव प्रभावित पार्नका लागि ल्याएको देखिएको उनको भनाई छ । उनले बजेट मान्छेलाई चुनावमा प्रभावित पारेर अल्मल्याउनका निम्ति ल्याएको बताउदै कार्यान्वयनपक्षमा भने कठिन हुने बताए ।
उनि नेतृत्तवको एमालेको सरकार बाहिरिएसँगै १ अर्ब बराबरको बजेट रकमान्तर गरेर आफ्नो पार्टी सम्बद्ध कार्यकर्ताहरुलाई वितरण गरेको आरोप समेत लगाएका छन् ।
साथै, उनले देश अहिलेको अवस्थामा आउनुमा काँग्रेस र एमाले जिम्मेवार रहेको बताएका छन् ।
०४६ सालको परिवर्तन पछि मुलकलाई सही ढंगले अगाडी बढाउन नसक्दा अहिले परिस्थिति उत्पन्न भएकाले यसको गम्भीर समिक्षा गरिने पर्ने उनले बताएका छन् ।
‘मुलुक यो खण्डमा आइपुग्नुको कारण नेकपा एमाले र नेपाली कांग्रेस नै जिम्मेवार हुन् । ०४६ सालको निर्वाचन पछि आजको जनताको अपेक्षा पुरा गर्ने गरी काँग्रेस र एमाले आउन सकेको भए माओवादी जनयुद्ध हुँदैन थियो,’ राईले भने, ‘विभिन्न भूगोल, समुदायको नाममा पार्टीहरु पनि आउँदैन थिए । त्यस कुरामा हामीले समीक्षा गर्नुपर्छ ।’ राईले भने । उनले अनेक शक्ति हुनुभन्दा दुईवटा ध्रुवको वरिपरि केन्द्रीत हुनुपर्नेमा जोड दिए ।