धरान । २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा निर्वाचित द्वारिकलाल चौधरीको नाम प्रदेश कमिर्टीले काटि दिएको छ ।
एमाले प्रदेश १ कमिटीको बैठकले चौधरीको नाम कटाएर बाँकी उमेदवारको नाम केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो । प्रदेश कमिटीको बुधबार विराटनगरमा बसेको बैठकले इटहरी उपमहानगर कमिटीको सिफारिसमा परेका द्वारिकलालको नाम कटाएर मेयरमा लक्ष्मी गौतम, रामप्रसाद चौंलागाई, यामकुमार सुब्बा र एमाले नेता बन्नुलाल चौधरीको नाम केन्द्रीय कमिटीमा पठाएको हो । प्रदेश कमिटीले सिफारिसमा परेका रेवती घिमिरेको नाम पनि हटाएको छ ।
प्रदेश सचिव चिन्तन पाठकका अनुसार उपमेयरमा अमला श्रेष्ठ, संगीता चौधरी, अम्बिका चौधरी, विष्णु शर्मा र रामचरण चौधरीको नाम सिफारिस भएको छ ।
यता, विराटनगर महानगरपालिकाको मेयरमा एमालेको महानगर कमिटीबाट सिफारिस नै नभएका जीवन घिमिरेको नाम पनि केन्द्रलाई पठाएको छ । प्रदेश एकको पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफू मुख्यमन्त्रीको तयारीमा रहेको तर महानगरको प्रमुखमा नजाने बताउँदै आएका थिए । विराटनगरको मेयरमा पार्टीका महानगर अध्यक्ष सागर थापा, प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेत, बाबुराम कार्की, महेश भट्टराई र रामलाल साहको नाम केन्द्रमा सिफारिस गरेको छ । उपमेयरमा विमला दाहाल, शिल्पा कार्की र अञ्जु उपाध्यायको सिफारिस भएको छ ।
धरानको मेयरमा मञ्जु भण्डारी, मोतीराज सुनुवार, विजय राई र मनोज मेन्याङ्बोको नाम सिफारिस भएको छ । नगर कमिटीले ११ जनाको नाम पठाएकोमा चार जनाको नाम मात्र सिफारिस गरेको छ । यस्तै उपमेयरमा सविता राई, पदम इस्बो, लहरुमाया जिमी र सुशीला पहाडीलाई सिफारिस गरिएको छ ।