धरान । वैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धरानमा सत्ता गठबन्धन दलहरुबीच पटक पटक बसेको छलफलमा समेत भागबण्डा मिलाउन सकस देखिएको छ ।
केन्द्रकै सर्कुलर अनुसार गठबन्धन एक ठाउँमा उभिएर चुनाव लड्ने सहमति भएपनि धरान उपमहानगरपालिकामा पटक पटक छलफल हुँदा पनि मेयर, उपमेयर र २० वटै वडाका वडाध्यक्ष पदमा सहमति नजुट्दा गठबन्धनबीच भागबण्डामा समस्या भएको हो ।
नेकपा माओवादी केन्द्रका धरान इन्चार्ज चोत्लुङका अनुसार मंगलबार अबेरसम्म पनि गठबन्धन दलबीच छलफल चलेको थियो । छलफल निष्कर्ष विहिन भएको चोत्लुङको भनाई छ । उनले भने, ‘गठबन्धनलाई कसरी प्रभावकारी बनाएर लाने भन्ने विषयमा अहिले छलफल भइरहेको छ, अहिलेसम्म निष्कर्ष निस्कन सकेको छैन ।’ उनले सहमतिको प्रयास समेत भइरहेको बताए । यद्यपि गठबन्धनको छलफल भइरहेकै समयमा नेपाली कांग्रेसले मेयर र उपमेयरको नाम कांग्रेसको जिल्ला कार्यसमितिलाई पठाएको छ । यसरी पठाइएको नामहरुमा मेयर तिलक राई, कांग्रेस प्रदेश महामन्त्री उमेश थापा, कांग्रेस सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र तामाङ, कांग्रसको महासमिति सदस्य पर्वत राई, धरानका पूर्वनगरसभापति तथा हाल जिल्ला सदस्य किसोर राई, महासमिति सदस्य श्यामा रेग्मी, कांग्रेस सुनसरी क्षेत्र १ (२) का सदस्य अजय राई, कांग्रेसको भातृ संस्था दलित संघका प्रदेश १ सभापति गोविन्द दर्नाल र महिला नेतृ एवं पूर्व महाधिवेशन प्रतिनिधि मिना पुलामीको नाम सिफारिश भएको छ ।
यसैगरी उपमेयरमा उर्मिला प्रधान, शिला बज्राचार्य, निलकुमारी थापा गिरी, कुसुम ओली आचार्य, निर्मला शाक्य, मनिता घिमिरे, हिमाल राई, झुमा राई, सन्तोष बिक र कोपिला भट्टराई सिफारिश भएको नेपाली कांग्रेस धरान नगर समितिका सभापति श्याम पोख्रेलले जानकारी दिए ।
कांग्रेसले आकांक्षीहरुको नाम सिफारिस गरेर पठाइसकेपछि गठबन्धनमा कस्तो प्रभाव पार्ला भन्ने विषयमा चोत्लुङले यसमा केही प्रभाव नपर्ने दाबी गरे । उनले भने, ‘मेयर र उपमेयरको टुंगो केन्द्रले लगाउने हो, केन्द्रको सर्कुलर अनुसार हामी जाने हो, अहिले नगरपालिकाभित्रका वडाहरुमा हाम्रो छलफल चलिरहेको छ सम्भवतः बुधबारसम्ममा टुंगो लाग्छ ।’
यता नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले करिब करिब सहमति नजिक पुगिसकेको बताएका छन् । उनका अनुसार केन्द्रको सर्कुलर अनुसार मेयर नेपाली कांग्रेस, उपमेयर माओवादी केन्द्रलाई भन्ने कुरा करिब छलफलबाट निस्कर्ष निस्किसकेकोले अब वडामा सहमति जुटाउने प्रयास भइरहेको बताए । उनले भने, ‘माओवादी केन्द्रलाई उपमेयर सहित ४ वडाध्यक्ष, जनता समाजवादीलाई एक वडाध्यक्ष, एकीकृत समाजवादी पार्टीलाई एक वडाध्यक्ष र नेपाली काँग्रेसलाई मेयर सहित बांकी वडाका वडाध्यक्ष दिने विषयमा छलफल भइरहेको छ, शायद बुधबारसम्ममा भागबण्डा मिल्छ र सहमति हुन्छ भन्ने हामीलाई लागेको छ ।’
उनका अनुसार नेपाली कांग्रेसले लिने भनिएको ७ वडाको सर्वसम्मत टुंगो लागेको जानकारी दिए । उनका अनुसार काँग्रेसको तर्फबाट हालसम्म ७ वडाको सर्वसम्मत वडाध्यक्षको नाम टुंगो लागिसकेको छ । जसमा वडा नं. २ बाट सुधिरसिह लिम्बु, ३ बाट विद्या शाक्य, ४ बाट गणेश बजगाई, ५ बाट सन्तोष लिम्बु, १३ बाट पेम्बा तामाङ, ९ बाट रुपेश आचार्य, १८ बाट नरेन्द्रकुमार राई (प्रवीण) रहेका छन् । अन्य वडाको हकमा छलफल भइरहेको तामाङले जानकारी दिए ।