धरान । देश संघीयतामा गए पछिको स्थानीय तहको निर्वाचन पछिको विराटनगरलाई राजनितिक रुपमा हेर्ने हो भने कांग्रेस र एमाले पछि जनता समाजवादी प्रतिस्पर्धामा छ । अघिल्ला निर्वाचनमा माओवादी अन्य दल सँग गठबन्धन गरेर निर्वाचन लडेको थियो अहिले पनि गठबन्धनमै रहेको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस उम्मेदवार भीम पराजुलीले चुनाव जित्दा एमाले दोस्रो र तत्कालीन संघीय समाजवादी तेस्रो दलका रूपमा विराटनगरमा देखिएका थिए । मेयरमा निर्वाचित पराजुलीले २३ हजार ३१ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत प्राप्त गरेका थिए । गत चुनावमा एमालेले विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग तालमेल गरेको थियो । उपमेयरमा लोकतान्त्रिक फोरमलाई एमालेले समर्थन गरेको थियो ।
पछिल्लो समय प्रमुख दलहरु बिच सांगठनिक अवस्थामा परिवर्तन आए पछि मतदातालाई कसले प्रभावित पार्छ भन्ने विषय चासोका साथ हेरिएको छ । राजनीतिक दलहरूको आफ्नै अवश्था भए पनि ३० वैशाखमा हुने चुनावमा गठबन्धन भर्सेस एमालेको भिडन्त विराटनगरमा देखिने भएको छ । कांग्रेसको विराटनगर महानगर समितिले गठबन्धन नगर्ने निर्णय गरेको थियो । तर, महानगरमा मेयर र उपमेयरको निर्णय केन्द्रले गरिदिए पछि बाध्यतात्मक अवश्थामा भए पनि गठबन्धन मान्नुपर्ने भएको छ । मंगलबार गठबन्धनको केन्द्रिय बैठकले महानगर विभाजन गर्दा विराटनगरलाई कांग्रेसले राखेको छ ।
सांगठनिक र मतदाताको हिसाबमा ठूलो देखिएको कांग्रेस एक्लै चुनाव लड्ने रणनीति विराटनगरमा थियो । तर, केन्द्रीय निर्णयले अहिले अन्योल देखिएको छ । गठबन्धनबाट कांग्रेसले मेयर र जसपाले उपमेयर पाउने चर्चा विराटनगरमा छ । कांग्रेसबाट मेयरको उम्मेदवार को हुन्छ अझै अन्योलको स्थिति देखिएको छ ।
डा. शेखर कोइराला समूहबाट ०७४ को चुनावमा अहिलेका मेयर भीम पराजुलीले टिकट लिएका थिए । तर, १४ औँ महाधिवेशनमा पराजुलीले गुट परिवर्तन गरे । देउवा समूहबाट पराजुली केही महिनाअघि मात्रै केन्द्रीय सदस्य बने । लाइन परिवर्तन गरेर पार्टी सत्तानिकट रहेका पराजुली मेयरमा दोहोरिने योजनामा छन् ।
पार्टीभित्र मेयरका आकांक्षी पराजुली मात्रै होइनन् । उनको विकल्पमा देखिएका अर्का नेता हुन्, नागेश कोइराला । मोरङ कांग्रेसका उपसभापति उनी ‘कोइराला’ परिवारनिकट रहेकाले टिकट पाउन सक्ने सम्भावना छ । मेयरका अर्का हेबीवेट दाबेदारका रूपमा देखिएका छन् केन्द्रीय सदस्य अमृत अर्याल । २०५४ सालको स्थानीय तहको चुनावमा समेत मेयरमा कांग्रेसबाट उठेका थिए । देउवानिकट अर्याल अहिलेको निर्वाचनमा समेत कांग्रेसको बलियो दाबेदारको रूपमा देखिएका छन् ।
कांग्रेस महानगर समितिले भने ७ जनाको नाम केन्द्रमा सिफारिस गरिसकेको छ । मेयरका लागि केन्द्रीय सदस्यद्वय डा. डिला सङ्ग्रौला, अमृत अर्यालसहित मोरङ जिल्ला उपसभापति नागेश कोइराला, बहालवाला उपमेयर इन्दिरा कार्की र महानगर सभापति दीपक चापागाईंको नाम सिफारिस भएको हो । यस्तै, बहालवाला मेयर तथा केन्द्रीय सदस्य भीम पराजुली र प्रदेश समिति सदस्य गोपाल रेग्मीको नाम केन्द्रमा पठाइएको महानगर समितिले जनाएको छ ।
यता दोस्रो शक्तिको रुपमा रहेको एमाले भने एक्लै चुनावी मैदानमा जादैछ । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले विनोद ढकाललाई उम्मेदवार बनाएको थियो । तर, ढकाल कांग्रेसका भीम पराजुलीसँग पराजित भए । यो पटक ढकालले एमालेबाट आकांक्षा देखाएका छैनन् । एमाले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापा एमालेबाट उम्मेदवार हुने सम्भावना बढी छ । तर, थापा एमालेभित्रका एक्ला आकांक्षी भने होइनन् । एमाले विराटनगर कमिटीले मेयरका लागि ५ जनाको नाम केन्द्रमा पठाएको छ । जसमा थापासहित रामलाल साह, बाबुराम कार्की, परशुराम बस्नेत र महेश भट्टराई छन् । सिफारिसमध्ये साह एमाले केन्द्रीय सदस्य हुन् । बस्नेत र भट्टराई प्रदेश कमिटी सदस्य तथा कार्की जिल्ला उपाध्यक्ष हुन् ।