धरान । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल गर्ने निर्णय गरे पछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले असन्तुष्टि जनाएका छन् ।
असन्तुष्टिकै बाबजुद मोेरङमा तालमेल नगरी एकलै निर्वाचन लड्ने मोरङ कांग्रेसले निर्णय गरिसकेको छ । त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिकामा समेत कांग्रेस तालमेलको विरुद्धमा रहेको छ । कांग्रेसका इटहरी उपमहानगरपालिकाका नगर सभापति हेमकर्ण पौड्यालले पत्रकार सम्मेलन नै गरेर तालमेल नगर्ने बताएका थिए । उनले नेपाली कांग्रेस एक्लै निर्वाचनमा जान सक्ने र निर्वाचन जित्ने बताउदै साना दलहरुसंग तालमेल नभई सहकार्य गर्न भने सकिने बताएका थिए । नेपाली कांग्रेस निर्वाचनमा एक्लै जान सक्षम भएको पार्टी भएको भन्दै प्रमुख पद मेयर र उपमेयर दिन नमिल्ने बताएका थिए ।
संघीयता आएपछिको पहिलो स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले सुनसरीका ६ वटा पालिकामध्ये ३ र ६ गाउँपालिकामध्ये पाचमा आफ्नो वर्चश्व कायम गरेको थियो । उनीहरुले आफूले जितेको ठाउमा छोड्न नसकिने बताएका छन् ।
सुनसरीमा धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका, इनरुवा नगरपालिका, दुहवी नगरपालिका, बराहक्षेत्र नगरपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगरा गाउँपालिका, कोशी गाउँपालिका र भोक्राहा नरिसिंह गाउँपालिका रहेका छन् । धरान उपमहानगरपालिकामा किशोर राई, उमेश थापा, सुजेन्द्र तामाङ र उपनिर्वाचनबाट मेयरको नेतृत्वमा आएका तिलक राई धरान उपमहानगरपालिकाको प्रमुख पदको आकांक्षी देखिएका छन् ।
नगरप्रमुखको पदमा मात्र हैन धरानका २० वटै वडामा समेत नेपाली कांंग्रेसबाट आकांक्षी देखिएका छन् । यी मध्ये् नेपाली कांग्रेसले धरान उपमहानगरपालका वडा नं. १८ मा अहिलेका वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रवीण) र वडा नं. १ बाट रोशन पराजुलीको नाम टुंगो लगाईसकेको छ ।
यसरी आकांक्षी बढ्नुमा नेपाली कांग्रेसको संगठन मजबुत भएकै कारण वडाध्यक्षहरुको आकांक्षी बढेको हुनसक्ने क्षेत्रीय सभापति सुजेन्द्र तामाङ बताउछन् । उनी भन्छन्, काँग्रेसले धरानमा मजबुत संगठन बनाएकोले पनि वडाध्यक्षहरुको आकांक्षी बढेको हुनसक्छ ।’ एक हप्ता अगाडि वडाध्यक्ष र सदस्यको आकांक्षीहरुको नाम बुझाउन पत्राचार गरिसकेको कांग्रेसको उमेद्वारको नाम आउने क्रममा रहेको सभापति तामाङले बताए ।