धरान । बराह ग्रुप प्रा.लि. अन्तर्गतको बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आएका समस्याका बारेमा संस्थाले विहीबार पत्रकार सम्मेलन गरेर वास्तविकता सार्वजनिक गरेको छ ।
धरान १२ बराह सपिङ हलको बराह किचेनमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्मा दियालीले बराहको नियत खराब नभई संक्रमणिकालीन अवस्थाले समस्या ल्याएको बताए । उनले भने, ‘हामीले कोरोना महामारीका समयमा शेयर सदस्य तथा बचतकर्ताको घर घरमै पुगेर रकम दिएका थियौ, आवश्यक पर्ने खाद्य सामाग्री दिएका थियौ, बराह स्थापना भएदेखि नै सामाजिक कार्यसँगै व्यवसायलाई अगाडि बढाएका हौै ।’
उनले बराहलाई २०७२ सालको भुकम्पले पनि केही असर गरेको बताउदै सबैको साथ सहयोगका कारण बराहले कहिल्यै समस्या भोग्नुनपरेको बताए । उनले भने, ‘लामो समयदेखिको कोरोना संक्रमणले बराहलाई धेरै असर ग¥यो, निक्षेपकर्ताहरुले निक्षेप नगरिदिँदा समस्या भएको थियो भने प्रवाह गरेको ऋण उठन समेत सकेन जसले गर्दा बराहलाई समस्या आएको हो ।’
उनले शेयर सदस्य तथा बचतकर्ताले बराहमा जम्मा गरेको रकम डुब्ने कुरा अनर्गल भएकोले सहज भएपछि सबैको रकम फिर्ता हुने बताए । उनले चैत्र २२ गते अलिअलि गरेर बचतकर्ताको रकम फिर्ता गर्ने भनिए पनि केही परिस्थितिका कारण फिर्ता गर्न नसकेको बताउदै अब वैसाख १५ गतेसम्ममा प्राथमिकताका आधारमा वचतकर्ताको रकम फिर्ता गर्ने बताए । उनले भने, ‘हामी ०७९ वैसाख १५ गतेबाट प्राथमिकताका आधारमा रकम फिर्ता गर्र्छौ, पहिलो प्राथमिकतामा हामीले जेष्ठ नागरिक, स्वास्थ्य उपचार, शिक्षा लगायत फरक क्षमता भएका व्यक्तिहरुलाई राखेका छौं ।’
यता बराह ग्रुप प्रा.लि.का अध्यक्ष शिव लामिछानेले कोरोनाले आर्थिक पाटोमात्र हैन शिक्षा, स्वास्थ्य, सामाजिक लगायतका धेरै क्षेत्रहरु प्रभावित भएको बताए । उनले त्यही क्राइसिस बराहमा समेत भएको बताए । उनले बराह बचत बराह गु्रप प्रालिकै एक हिस्सा भएकोले लगानीकर्ताहरुको रकम डुब्न नदिने वातावरण प्रा.लिले गर्ने विश्वास दिलाए । उनले भने, ‘बराह शुरुमा जुन अवस्थामा सञ्चालन गरिएको थियो, अहिले कुन अवस्थामा आइपुग्यो सबैलाई अवगत भएकै कुरा हो, विगतमा कस्ता कस्ता अफ्ठ्याराहरु झेलेर आएको बराहले यसको पनि हामी समाधान गर्छौं, ढुक्क हुनुहोस ।’ उनले बराह व्यापार व्यवसायसँगै आर्थिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक उत्थान गरेर जाने उद्देश्यका साथ ०५२ सालमा स्थापना भएको कम्पनी भएको बताउदै यसमा सबैको साथ सहयोग रहेको र आगामी दिनमा पनि साथ सहयोग रहने बताए ।
यता बचतकर्ता तथा शेयर सदस्यहरुले पनि बराहलाई विगतदेखि नै विश्वास लिएको बताउदै भविष्यमा पनि विश्वास गर्ने वातावरण तयार गर्न आग्रह गरेका छन् । बचतकर्ता कमल राईले बराहलाई विश्वास गर्दा गर्दै पनि केही कुरामा विश्वास नगर्ने वातावरण तयार गरेकोले बचतकर्ताहरुमा विश्वास हराउदै गएको बताए । उनले भने,‘बराहले पटक पटक भाका दियो, तर त्यो पूरा गरेन, अब राखेको भाकामा पनि धोका नहोस्, त्यो भएन भने सबैमा विश्वासको वातावरण बन्छ ।’
पत्रकार सम्मेलनमा बराहले आर्थिक बर्ष ०७८÷०७९ मा ७२ करोड १९ लाख ८४ हजार निक्षेपकर्ताहरुले रकम निक्षेप गरेको र ८९ करोड ३२ लाख ३३ हजार ८ सय ३२ रुपैया ऋण प्रवाह गरेको बताइएको थियो ।