धरान । धरानको बसन्तटार स्थित बसन्त खोलामा झोलुङ्गगे पुल निर्माण भएको छ । धरान उपमहानगरपालिका सहित, स्थानीय र अन्य दाताको सहयोगमा पुल निर्माण भएको हो ।
झोलुंगे पुलनिर्माण भएपछि तिन सय घर धुरीका आठ सय जनसंख्या लाभान्वित भएका छन् । दैनिक आवतजावतमा स्थानिय विद्यार्थीहरुलाई विद्यालय आउन सहज हुने भएको छ । पुल निर्माण पश्चात दानाबारी, पत्रङ्गबारी र बसन्तटार क्षेत्रका स्थानीयलाई धरान बजार आउन सहज भएको स्थानीयको भनाई छ । वर्षामा सेउती खोलामा आउने बाढीका कारण धरान सँगको सम्बन्धनै टुट्ने गर्दथ्यो । वर्षामा जोखिमपुर्ण यात्रा गर्नु पर्ने बाध्यता पनि हटेको उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र राईले बताए ।
एक सय ६ मिटर लम्बाई र पचास सेन्टिमिटर चौडाई रहेको झोलुंगे पुल बनेको हो । पुलको अनुमानित लागत ८३ लाख ७१ हजार ७ सय ५५ रुपैया रहेको समितीले जनाएको छ । धरान उपमहानगरपालिकाको ६ प्रतिशत, समूदाय २ प्रतिशत, संघिय सरकारको ८४ दशमलव ७४ प्रतिशत र टि.डि.एस. शुल्क ७ दशमलव २६ प्रतिशत लगानी रहेको छ ।
२०७६ सालमा राजेन्द्र राईको अध्यक्षतामा १२ जनाको उपभोक्ता समिति गठन भएको थियो । झोलुंगे पुलनिर्माण गर्न २०७७ असारमा परिमार्जित लागत अनुसार २०७९ असार सम्ममा निर्माण सम्म गर्ने सम्झौता भएको थियो । इन्जिनियर निर्मल कुमार श्रेष्ठको रेखदेख तथा निर्देशनमा कार्य सम्पन्न भएको हो । (प्रशिक्षार्थी)