स्थानीय तह निर्वाचन : प्रमुखमा दाबी गर्दै उपप्रमुख

  • चैत २१, २०७८
  • "दिनेश गजमेर"
alt

धरान । स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै स्थानीय तहका महिला जनप्रतिनिधिहरु पनि आफूलाई अपग्रेड गराउने तयारीमा जुटेका छन् । स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुले आफूहरु नै प्रमुखको पहिलो र स्वाभाविक दावेदार भएको बताएका छन् ।

सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै यो बहसको सुरुवात भएको हो । संघीयताका संस्थापक उपप्रमुखहरुले दोस्रो कार्यकालमा प्रमुख भएर इतिहास रच्छन् त भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

हरेकजसो राजनीतिक पार्टीमा महिला नेतृहरुले पहिलो कार्यकालमा उपप्रमुख तथा उपाध्यक्षमा चित्त बुझाएकाहरुले अब प्रमुख भएरै छाड्ने बताउने गरेका छन् । अघिल्लो कार्यकालमा उपका हैसियतले आफ्नो जिम्मेवारी निर्वाह गरेका महिलाहरूले यसपालि प्रमुखमा स्वाभाविक दाबेदारी गरिरहेका छन् ।

अघिल्लो निर्वाचनको नतिजा हेर्ने हो भने प्रदेश नम्बर १ का १ सय ३७ स्थानीय तह मध्ये एउटा गाउँपालिकामा मात्रै महिला प्रमुख छन् । झापाको कमल गाउँपालिकाकी मेनका काफ्ले एक मात्रै स्थानीय तहको प्रमुखमा रहेकी छिन् । प्रदेश एकमा ८८ वटा गाउँपालिकामा ८ जना पुरुष उपाध्यक्ष छन् भने दुई जना उपप्रमुख छन् ।

देश भरीको ७ सय ५३ स्थानीय तहमध्ये १८ वटामा मात्र महिला प्रमुख छन् । देशभरका ६ महानगरमध्ये भरतपुरमा मात्र महिला मेयर छिन् । त्यस्तै, २ सय ७६ नगरपालिकामध्ये ५ वटामा महिला मेयर छन् भने ४ सय ६० गाउँपालिकामध्ये १२ वटामा महिला प्रमुख छन् ।

केही दिन अघि एक गैह्रसरकारी संस्थाले गरेको कार्यक्रममा प्रदेश एकका सबै स्थानीय तहका उपहरुले प्रमुखको जिम्मेवारी दिईनुपर्ने भन्दै राजनितिक दलका नेताहरुलाई ज्ञापन पत्र समेत बुझाएका थिए । स्रोत साधन विहिन भएको अवश्थामा पनि ५ वर्षको कार्यकाल महिला उपप्रमुख तथा उपाध्यक्षहरुले जिम्मेवारी पुर्वक निर्वाह गरेका कारण पनि अहिले प्रमुखको दाबी गरिएको उपहरुको भनाई छ ।

उपमेयरको पदमा रहँदा प्रत्यक्ष जनताको समस्याको बारेमा पुर्ण रुपमा बुझेको र जनताको अपेक्षालाई सम्बोधन गर्न सफल भएकाले पनि उपहरुलाई प्रमुख बनाउनु पर्नेमा दाबी रहेको विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की बताउँछिन् । कार्की आफै पनि प्रमुखको दाबेदार हुँन् । उनी भन्छिन्, ‘अनुभव भएकाले प्रमुखको जिम्मेवारी चलाउन सहज हुन्छ, उपमेयर हुँदा कुनै मेयरले चलाउनु भनेर दिएको होईन्, क्षमता प्रदर्शन गरेर आएको हो ।’ जनताले उपप्रमुखलाई अनुमोदन गरेका कारण प्रमुखमा पनि जनताले अनुमोदन गर्ने उनको भनाई छ । उनले भनिन्, ‘नगरपालिका चलाउने, स्रोत साधान परिचालन गर्ने अनुभव प्राप्त छन्, उपमेयर भएर चलाउन तिनै जनता सँग बसेर सँगै काम गरेको छन्, भुगोलको जनताले के चाहेका छन् भन्ने बुझेका छन् । त्यही भएर पनि हो ।’ आफ्नो दाबी रहेको प्रष्ट पार्दै कार्कीले पार्टीले पुरुषवादी ढंगबाट नसोचि महिला कार्यकर्ताको क्षमता माथि विश्वास गर्नुपर्ने उनको भनाई छ ।

प्रमुख दाबेदार रहेकी इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौत्तम कानुन र संविधानको मर्म अनुसार प्रमुखको स्थान दिईनुपर्ने बताउँछिन् । महिलाहरु आधा जनसंख्या र आधा शक्ति भएकाले महिलाहरुले नगर चलाउन सक्छन् भन्ने विश्वास दिलाई सकेकाले पनि प्रमुखको जिम्मेवारीमा बढुवा गरिनुपर्ने उनी जोड दिन्छिन् । उनले भनिन्, ‘कानुनले प्रमुख र उपप्रमुखमा एक महिला भनेको छ, उपप्रमुख मात्रै भनेको होईन् । कानुन संविधानको मर्म अनुसार महिलालाई पनि प्रमुखको जिम्मेवारी दिनुपर्छ ।’

अघिल्लो निर्वाचनमा महिलाहरुलाई उपप्रमुखमा मात्रै सिमित गर्दा त्रुटि भएको उनको भनाई छ । कानुनले तोकेर दिएको जिम्मेवारी पुरा गर्न राम्रो क्षमता प्रदर्शन गरेकै कारण दाबी गरिएको उनले बताईन् । उनले भनिन्, ‘पाँच वर्षमा महिलाहरुले पाएको जिम्मेवारी पुरा गर्दा पारदर्शी भएका छन्, भ्रष्टाचार कम भएको छ, काम राम्रो भएको छ, त्यही भएर हो । मुलुक बनाउन पर्छ भने महिलालाई प्रमुख दिनुपर्छ ।’

उनी निकट पार्टीले पनि हरेक स्थानमा ३३ प्रतिशत सहभागिता गराउने अनिवार्य व्यवस्था गरेकाले महिलालाई प्रमुख बनाउनेमा ढुक्क रहेको उनको भनाई छ । उनले भनिन्, ‘अब सामानुपातिक बाटै मात्रै लगेर हुँदैन्, उनीहरुलाई कोटाबाट मात्रै लानु हुँदैन, अघिल्लो चुनावमा पुरुष सँग पनि प्रतिष्पर्धा गरेका छौं । त्यो क्षमता भएका महिलालाई प्रमुख बनाउनुपर्छ भनेका छौं ।’

धरान उपमहानगरपालिकामा पनि प्रमुखको दाबेदारी गर्दै आएकी उपप्रमुख मञ्जु भण्डारी सुवेदी पनि पाँच वर्षे अनुभवले प्रमुखको जिम्मेवारी पुरा गर्न सहज हुने बताउँछिन् । काम गराईको अनुभवले पुनः जिम्मेवारीमा आउँदा काम गर्न सहज हुने भएकाले उपप्रमुखहरुलाई प्रमुखमा उम्मेदवार बनाउनु पर्ने उनको भनाई छ । उनले भनिन्, ‘अनुभवका कारण पनि दिनुपर्छ, स्रोत साधान परिचालन, केन्द्रबाट स्रोत साधन ल्याउने कुरामा पनि कहाँ के छ भन्ने कुरामा केन्द्र सँगको लिङको कारणले पनि आउनुपर्छ भनेका छौं मेरो पनि दाबी हो ।’

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved