धरान । इलामको सूर्योदय नगरपालिकाले दुई वटा वडालाई वालमैत्री वडा घोषणा गरेको छ । सूर्योदय नगरपालिकाको नौ र दश नम्बर वडालाई वाल मैत्री घोषणा गरेको हो ।
सूर्योदय नगर, पर्यटकीय सहर वालमैत्री बनाउने नगरवासीको रहर भन्ने नाराका साथ बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रम मुक्त वडा घोषण गरेको हो । सूर्योदय नगरपालिकाले अव छिट्टै सिङ्गो नगरपालिकालाई वालमैत्री घोषणा गर्ने तयारीमा रहेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए । उनले नगरपालिकाले वालमैत्री वडा घोषणा कार्यक्रममा जनप्रतिनिधि उपस्थित नहुनु दुःखद रहेको भन्दै कार्यक्रममै उपस्थित नहुनु गैर जिम्मेवार रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य टिकाराम सुब्बाले यस नगरपालिकाले ऐतिहासिक काम गरेको भन्दै यसको कार्यान्वयनमा सबै जिम्मेवार हुनुपर्ने बताए । सूर्योदय नगरपालिकाले वडा कार्यालयलाई वालमैत्री घोषणा गर्दे गर्दा बालबालिकाको अधिकार सकारात्मक भएको सूर्योदय नगरपालिका वडा नं १० का वडाध्यक्ष पेवा उगन लामाले बताए । वालमैत्री घोषणा गर्नु सूर्योदय नगरपालिकाले ठुलो उपलब्धि हासिल गरेको लामाको भनाई छ ।
फिक्कल माध्यमिक विद्यालयका प्रधानाध्यापक गङ्गा बहादुर महतले वालमैत्री घोषणा मात्र महत्वपूर्ण नहुने भन्दै यसको कार्यान्वयन चुनौति रहेको बताए । प्रदेश १ वालपरिषद अध्यक्ष सुमन अधिकारीले वालमैत्री वडा घोषणा गर्नेमा सूर्योदय नगरपालिकाले उदाहरणीय काम गरेको बताए । अधिकार सुनिश्चित भए पनि बालबालिका सुरक्षित नभएको भन्दै मैत्री पूर्ण घोषणाले मात्र नहुने भन्दै कार्यान्वयन यसको चुनौतीको पाटो रहेको बताए । उनले विद्यालय सुरक्षित छ, पढ्न पाउने कुरा सुरक्षित छ तर विद्यालय देखि बाहिर निस्कन साथ सुरक्षित नभएको हुँदा यो मुख्य चुनौती वनेको उनको भनाई छ ।
‘हाम्रो सूर्योदय’ लोकार्पण
सूर्योदय नगरपालिकाले ‘हाम्रो सूर्योदय’ नामक स्थानीय पाठ्यपुस्तक लोकार्पण गरेको छ । स्थानीय तह सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दे सूर्योदय नगरपालिकाले ‘हाम्रो सूर्योदय’ नामक पाठ्यपुस्तक तयार गरेको थियो । मङ्गलवार वालमैत्री वडा घोषणा कार्यक्रम सँगै स्थानीय पाठ्यपुस्तक लोकार्पण गरेको हो । आगामी शैक्षिक सत्रबाट कक्षा एक देखि पाँच सम्म पढाई हुने उक्त पाठ्य पुस्तकमा सूर्योदयको अध्ययन गर्न सकिने पाठ्यपुस्तक निर्माण भएको नगरप्रमुख रणबहादुर राईले बताए । स्थानीय पाठ्यपुस्तक तयार पार्दा नगरभित्रका सुक्ष्म विषयलाई समेटेको भन्दै भौगोलिक, सामाजिक, सांस्कृतिक र स्थानीय भाषालाई समेट्ने गरी पाठ्यपुस्तक निर्माण गरेको बताए । नगरको इच्छा छोरी बुहारीलाई शिक्षा, गणितसँग खेलौ गणितीय धारणा बनौ भन्ने नाराका साथ सूर्योदय नगरपालिकाले शैक्षिक क्षेत्रको विकासमा लागिपरेको नगरप्रमुख बताउँछ । पाठ्यपुस्तक तयार पार्दा तहगत रूपमा नगरको जानकारी गर्ने गरी तयार पारिएको छ । नगरले गत वर्ष कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम सार्वजनिक गरेको थियो । सोही आधारमा तयार गरिएको कक्षा ५ सम्मको पुस्तक सार्वजनिक गरिएको हो । कक्षा ६ देखि ८ सम्मको पुस्तक लेखन अघि बढाइएको छ । करिब ३ वर्ष लगाएर विज्ञ समूले विभिन्न चरणमा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षा सम्बद्ध सरोकारवाला लगायतसँग छलफल गरी तयार गरेको पाठ्यक्रममा आधारित रहेर पुस्तक लेखिएको थियो । पुस्तकमा सूर्योदय नगरपालिकाको चिनारी, स्थानीय धार्मिक स्थल, विविध जातजाति, स्थानीय चाडपर्व, स्थानीय भाषा, स्थानीय खानेकुरा, स्थानीय पर्यटन, स्रोत तथा साधनलगायत विषयवस्तु समेटिएका छन् । पुस्तकमा बालबालिकाले विद्यालयको आधारभूत तहमा स्थानीय जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारका नीतिगत व्यवस्थादेखि नगरपालिकालाई समृद्ध बनाउने सम्मका विषयसमेत समेटिएका छन् । आधारभूत तहको ८ सय पूर्णाङ्कमध्ये १ सय पूर्णाङ्कको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउने प्रावधानअनुसार नगरपालिकाले पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार पारेको हो । पाठ्यक्रम बनाउन सघाउने विज्ञ र पाठ्यपुस्तक लेखनमा सहभागी शिक्षकहरूलाई नगरले सम्मान गरेको छ ।
अपांगमैत्रीमा ध्यानै पुगेन
मंगलवार तामझामका साथ वालमैत्री वडा घोषण गर्दे गर्दा अपाङ्ग वालमैत्री घोषणामा कसैको ध्यान नपुगेको देखियो । अपाङ्गता भएका वाल वालिका पनि विद्यालय आउँछन् तर वालमैत्री वडा घोषणा हुँदै गर्दा अपाङ्गमैत्रीमा कसैको ध्यान नपुग्नु दुखद बनेको छ । वालमैत्री घोषणा भएको विद्यालय पनि पूर्ण अपाङ्गमैत्री थिएन । विद्यालयको प्र्रांगरणबाट सिँढी चढेर कक्षाकोठामा प्रवेश गर्नुपर्छ । त्यही विद्यालयमा हृवीलचियर प्रयोग गर्ने विद्यार्थी जान सक्ने कतै ठाउँ थिएन । सूर्योदय नगरपालिका वडा नं १० का वडाध्यक्ष पेमा उँगेन लामाले पछिल्लो समय वनेका भौतिक संरचनामा अझै पनि अपाङ्गमैत्री बनाउने कुरामा ध्यान नपुगेको बताए ।