धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य विमा बोर्डले स्वास्थ्य वीमामार्फतको रकम उपलब्ध नगराएको भन्दै वीमामार्फत गरिने उपचार बन्द गर्ने निर्णयलाई थप एक महिना सारेको छ ।
प्रतिष्ठानले चैत्र १५ गतेदेखि स्वास्थ्य बिमाबाट दिने स्वास्थ्य सेवा रोक्ने निर्णय गरेकोमा व्यापक यसको व्यापक विरोध भएको थियो । यसमा स्वास्थ्यसँग सरोकार राख्ने सबैले चासो राख्दै प्रतिष्ठानलाई स्वास्थ्य वीमालाई कायम राख्न दबाब दिदै आएकोमा प्रतिष्ठानले थप एक महिना अर्थात मंसिर १६ गतेसम्म सञ्चालन गर्ने सूचना प्रकाशित गरेको छ ।
प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी थप एक महिनाको लागि वीमा स्वास्थ्य सेवा नरोक्ने जनाएको हो ।
विज्ञप्तीमा भनिउको छ, नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश सरकार एवं स्थानीय सरकारबाट आवश्यक समन्वय गरी प्रतिष्ठान सञ्चालनमा सहयोगका लागि अनुरोध समेत गरेको छ । प्रतिष्ठानलाई सहज वातावरण बनाई सुलभ ढंगबाट सेवा प्रदान गर्ने वातावरण मिलाउन उपकुलपति गिरीले विज्ञप्तीमार्फ सहयोगो अपिल गरेका छन् ।
विज्ञप्तीमा प्रतिष्ठानमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमको विषयलाई लिएर केही दिनदेखि व्यापक जनचासो बढेकोप्रति प्रतिष्ठानको गम्भीर बन्दै एक महिना थप गरिएको जनाइएको छ ।
प्रतिष्ठानले २०७४ सालदेखि नियमित स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । सरकारद्वारा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएपनि सो बापतको रकम बिमा बोर्डले भुक्तानी नदिएकोले प्रतिष्ठान सञ्चालन गर्न नै समस्या भएको प्रतिष्ठानले सूचना प्रकाशित गर्दै चैत्र २५ गतेदेखि बन्द गर्ने जनाएको थियो । तर स्थानीय जनप्रतिनिधि, सरोकारवालाहरुले यस विषयमा प्रतिष्ठानसँग छलफल समेत गरेको थियो । धरानका सर्वसाधारण तथा सरोकारवालाको व्यापक असन्तुष्टि बढेपछि प्रतिष्ठानले थप एक महिना स्वास्थ्य विमा उपचार सेवालाई निरन्तता दिएको हो ।