लेटाङ प्रकरण : उत्तेजित भिड नियन्त्रण नहुँदा प्रहरीको ज्यान गयो

  • चैत ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका शिक्षकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै आक्रोशित स्थानीयले प्रहरीमाथि नै आक्रमण गरे पछि सुन्दरहरैचा स्थित लेटाङ बजार अहिले सुनसान बनेको छ ।

मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नं. ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा आइतबार भएको घटनामा आक्रोशित स्थानीयलाई सम्हाल्न नसक्दा लेटाङमा आइतबार राती देखि नै कर्फ्यु लगाएको छ । बालिका माथि यौन दुव्र्यवहार गरेको आरोपमा उत्तेजित भएका स्थानीयहरुले सुरक्षामा खटिएकी एक महिला प्रहरी माथि छुरा प्रहरी गरे पछि माहौल अस्तव्यस्त बनेको थियो । छुरा प्रहरी भएकी महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भए पछि अहिले लेटाङ त्रसित बनेको छ ।

आइतबार साँझ श्रेष्ठ माथि आक्रमण भएको थियो । दोषिलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने प्रहरीले बताउँदा बताउँदै पनि भीड एक्कासी प्रहरीमाथि जाइ लागेको थियो । जसका कारण प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको छ भने २५ बढी प्रहरी तथा ७ जना सर्वसाधारण घाइते भएका छन् ।

गत चैत्र ४ गते शुक्रबार शिक्षा विकास मा.वि.का एक शिक्षकले सोही विद्यालयकी एक छात्रालाई यौन दुव्र्यवहार गरेको विरोधमा चैत्र ६ गते आइतबार स्थानीय सहित विद्यार्थीहरु आन्दोलित भएका थिए । शिक्षक मनोज पौडेलमाथि गत शुक्रबार घरमै रहेको १४ वर्षीया छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप छ । घटनापछि शिक्षक विद्यालयमै पुगेको अवस्थामा पीडित पक्षले कार्वाहीको माग गर्दै निवेदन दिएपनि ढिलो मात्र प्रहरीलाई घटनाबारे जानकारी भएको थियो । लेटाङ ५ का वडाध्यक्ष भीमसुर्य मगरले प्रहरीलाई खबर गरेपछि करिब १ बजे प्रहरी पुग्दा स्थानीयको आक्रोशित भीडले विद्यालय घेरेर आरोपी शिक्षकलाई कुटपिट गरिरहेको थियो । प्रहरीले उनलाई छुटाएर कोठामा राखेको बेला स्थानीयले विद्यालयमै आगजनी गरेका थिए । प्रहरी ढिलो पुगेकाले घटनाले जटिल रुप लिएको वडाअध्यक्ष मगरको भनाई छ ।

आरोपी शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएपछि गाउँलेले प्रहरीले उनलाई बचाउन लागेको भन्दै थप आक्रोशित भएको स्थानीयको भनाइ छ । दिउँसो १ बजे नै घटनास्थल पुगेको प्रहरीलाई स्थानीयबासीले दिनभरजसो छेकेका थिए । साँझतिर झडप सुरु भएको थियो ।

विद्यालय तनावग्रस्त बनेपछि प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको थप टोली सुरक्षाका लागि त्यहाँ पुगेको थियो । त्यसक्रममा भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको घाँटीमा प्रदर्शनकारीले धारिलो हतियार प्रहार गरेका थिए । अहिले लेटाङको ५ र ६ नम्बर वडाका सबै विद्यालयहरु कर्फ्युका कारण बन्द रहेका छन् । विद्यार्थीहरु पनि त्रसित भएका छन् । घटनामा संलग्न व्यक्तिहरु गाउँमा नयाँ देखिएको स्थानीयले बताएका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार सोमबार बेलुकासम्ममा ८ जना पक्राउ परेका छन् । यस्तै प्रशासनले आव्हान गरेको कफ्र्यु आदेशको उल्लंघन गर्ने अन्य १२ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटनालगत्तै सोमबार लेटाङमा पुगेर प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मोरङ प्रहरीका उच्च पदस्थ अधिकारी तथा सशस्त्र प्रहरीका अधिकारीको टोलीले घटनाको स्थलगत जानकारी लिएको छ ।

घटना प्रति प्रदेश नं. १ सरकारका यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले सोमबार विज्ञप्ति जारी गर्दैै घटनाले आफू स्तब्ध भएको उल्लेख गरेका छन् । मन्त्री घिमिरेले केही अराजक व्यक्तिहरूको भीडले घटनालाई हिंसातिर मोड्ने मनसायले शिक्षकहरूमाथि आक्रमण, विद्यालय तोडफोड, आगजनी गर्न सुरु गरेकाले भीड नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्न प्रहरीहरू जिम्मेवारीका साथ खटिएको स्पष्ट पारेका छन् ।

यता नेकपा एमाले लेटाङ नगर कमिटीले पनि विज्ञप्ती जारी गर्दै छात्रा माथि भएको बलात्कार प्रयासको घटना र घटनामा संलग्नलाई नियन्त्रणमा लिए पछि प्रहरीमाथि भएको आक्रमणको सत्यतथ्य अनुसन्धान हुनुपर्ने बताएको छ । मर्यादित ढंगले खटिएको प्रहरी माथि भएको अन्तयन्तै आततायी घटनामा संलग्न जो कोही भए पनि तत्काल गहिरो अनुसन्धान गरि कानुनतः कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

को हुन् उर्मिला

श्रेष्ठ अढाई वर्षयता प्रहरी सेवामा सेवारत थिईन् । लेटाङको अवस्था नियन्त्रणमा लिन प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानीमा कार्यरत श्रेष्ठ ५० जनाको टोलीसँगै लेटाङ पुगेकी थिइन् । बलात्कार आरोपी शिक्षकलाई नियन्त्रणमा लिएर हत्या गर्ने स्थानीयको प्रयासलाई रोक्दै प्रहरीले घटनास्थलबाट उनलाई बाहिर निकालेपछि उर्मिलामाथि आक्रमण भएको थियो ।

उनका दाजु भुवन र श्रीमान कुमार श्रेष्ठ पनि प्रहरी सेवामै छन् । दाजु भुवन विराटनगरको बखरी प्रहरी चौकीमा सहायक निरीक्षक छन् । श्रीमान् इलाममा कार्यरत छन् ।

लोकसेवा आयोगको परीक्षामा असफल भएपछि दाजु कार्यरत नेपाल प्रहरीमै भर्ना भएर नागरिकको सुरक्षा गर्ने कसम खाएकी उर्मिला श्रेष्ठले अराजक समूहको आक्रमणबाट ज्यान गुमाइन् । स्थानीयको आक्रमणबाट मारिएकी २६ वर्षीय प्रहरी जवान श्रेष्ठ २०७६ साउन १ गते प्रहरी सेवामा भर्ना भएकी थिइन् ।

बुबा कुमार र आमा सितामया श्रेष्ठ कोखबाट २०५२ कतिक १४ गते खोटाङको बरहापोखरी ४ मा जन्मिएकी उर्मिला उदयपुरको त्रियुगा जनता क्याम्पसबाट बिएस गरेपछि प्रहरी सेवामा प्रबेश गरेकी थिइन् । उनले गएको वैशाखमा उदयपुर घर भएका कुमार श्रेष्ठसँग विवाह गरेकी थिइन् ।

श्रेष्ठको सोमबार कोशी अस्पतालमा परिसरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । अस्पताल परिसरमै प्रहरी अधिकृत तथा जवानहरुले सलामी सहित श्रद्धाञ्जली दिएका थिए । अस्पतालभित्रको शवगृहमा पोष्टमार्टम सकेर शव बाहिर निकालेपछि श्रेष्ठको पार्थिब शरिर श्रद्धाञ्जलीको लागि राखिएको थियो । प्रदेश १ का प्रहरी प्रमुख डिआईजी अरुणकुमार बिसी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहित प्रहरी अधिकृतहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

कोरियाबाट फर्केर लाख ...

भोजपुर/  वैदेशिक रोजगारी छाडेर भोजपुरका रेवती ...

तीन शीर्ष नेताको बैठ ...

काठमाडौं/ समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved