धरान । संखुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटना हुदा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १४ जनाको घट्नास्थलमै र एकजनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुने १५ जनाकै सनाखत भइसकेको छ । बस ब्रेकफेल भएर दुर्घटना भएको घाइतेको भनाई उदृत गर्दै घाइतेका आफन्तहरुले बताएका छन् । तर प्रहरीले भने यसलाई पुष्टि गरेको छैन । प्रहरील भने तिब्र गतिका कारण बस अनियन्त्रित भई दुर्घटना हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रवक्ता सुमन तिम्सिनाले बताए । उनले भने–‘दुर्घटना हुनुमा कच्ची सडक र तीब्र गतिमा चलाइएको बस अनियन्त्रित हुँदा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।’
मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३० वर्षीय विपीन निरौला, संखुवासभा मादी–५ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–६ का ३० वर्षीया सीता बिक. ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटवालको पाँच वर्षीया छोरी दिक्षा कटवाल, मादी–५ का ४९ वर्षीय भवानीप्रसाद दाहाल, मादी–५ का ५५ वर्षीय श्याम शेर्पा, मादी–४ का आइतबहादुर तामाङ, मादी–२ का ४२ वर्षीय ईन्द्र अधिकारी, मादी–४ का ६० वर्षीय बलबहादुर कार्की, २८ वर्षीया सबिता कार्की, मादी–५ का ४८ वर्षीय दिपककुमार दाहाल, ताप्लेजुङका ३१ वर्षीया समीक्षा योञ्जन, समीक्षा योञ्जनको ८ वर्षीय छोरा सुदिप घिसिङ र मादी ५ नम्बर वडाकी २७ युका पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । युका पोखरेलको भने प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको सुवेदीले बताए ।
दुर्घटनामा घाइते भएका ५ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याइएको थियो । संखुवासभा मादी ५ बस्ने बर्ष ३० को सुभाष गोले (टिकट बुकिङ गर्ने), मादी ६ बस्ने बर्ष २२ कि तुलसा कटुवाल, सोही स्थानका उमेर नखुलेकी अम्बिका बि.क., सोही ठाउँका बर्ष ५० को डम्बर बहादुर कार्की, बर्ष ३० की युका पोखरेललाई हेलिकोप्टरमार्फत प्रतिष्ठान ल्याइएको थियो । घाइतेमध्ये युका पोखरेलेको भने प्रतिष्ठामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको थियो । बस मादी–६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो ।
बस सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । बस तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने डिएसपी सुवेदीले बताए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सुवेदीले बताए ।