धरान । ६ दिन अघि धरानको एक होटलमा भेटिएको महिलाको हत्या प्रेम सम्बन्धमा शंका गरे पछि भएको पुष्टि भएको छ ।
महिलाको हत्यामा संलग्नमा एक युवालाई प्रहरीले पक्राउ गरे पछि प्रेम सम्बन्धमा शंका गरे पछि महिलाको हत्या भएको पुष्टि भएको हो । फागुन १७ गते धरान १८ बुद्धचौकमा रहेको न्यु कान्तिपुर होटल एण्ड लजको कोठा नंं १०९ मा मृत अवस्थामा फेला परेकी सुमित्रा तामाङको हत्यामा संलग्न धनकुटा पाख्रीबास फलाटे घर भएका बर्ष २४ का जीवनराम भनिने विनेश रानालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । फरार रहेका रानालाई धरान प्रहरीले आइतबार सार्वजनिक गरको हो ।
पाँचथरको मिक्लाङजुङ गाउँपालिका वडा नं १ सारङडाडा स्थायी घर भई इटहरी उपमहानगरपालिका वडा नं। ५ तुलशाटोलमा कोठाभाडामा बस्दै आएकी ३९ बर्षीया सुमित्रा तामाङको हत्या गरेको अभियोगमा विनेशलाई प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको हो । प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगर, संघीय प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानबाट खटिएका प्रहरीको टोलिले उनलाई फागुन २१ गते पक्राउ गरेको थियो ।
रानालाई प्रहरीले धनकुटा जिल्लाको छथरजोरपार्टी स्थित ससुराली घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी सञ्जयसिंह थापाले बताए । उनले भने, ‘हत्याराको पहिचान खुलेपछि प्रहरीले व्यापक खोजी गरेको थियो, खोजी गर्ने क्रममा उनलाई उनकै ससुराली घरबाट फागुन २१ गते पक्राउ गर्न सफल भएका हौं ।’
तामाङका श्रीमान नर्वु तामाङ भारतीय सेनाबाट अवकास भएपछि वैदेशिक रोजगारमा गएपछि इटहरीमै सिटी सफारी चलाउदै आएका विनेश र सुमित्राबीच एक बर्ष अगाडि प्रेम सम्बन्ध रहेको खुलेको थापाले बताए । उनले भने, ‘अनुसन्धानका क्रममा सुुमित्राका श्रीमान वैदेशिक रोजगारीमा गएपछि एक बर्षदेखि प्रेम सम्बन्ध भएको पाइएको छ, विगतमा पटक पटक भेटघाट भएपनि विनेश भोजपुर ज्याला मजदुरी गर्न गएकोले तीन महिनादेखि भेटघाट भएको रहेनछ, फागुन १५ गते भोजपुरबाट धरान आएपछि सुमित्रालाई फोन गरेर भेटेपछि उनीहरुले कान्तिपुर होटलमा कोठा लिएका रहेछन् ।’
कोठामा बसेकै समयमा दुवैले अत्याधिक मादक पदार्थ सेवन गरेको र सुमित्राको मोवाइलमा अर्कैको फोन आएपछि विनेशले शंका गरी हत्या गरेको पाइएको अनुसन्धानबाट खुलेको थापाको भनाई छ । उनले भने, ‘उनीहरुबीच लामो प्रेम सम्बन्ध भएको पाइएको छ, फागुन १५ गते छोरीलाई खोप लगाउन भनेर निस्किएकी सुमित्रा दुई दिनपछि मृत अवस्थामा होटलमा फेला परेकी थिईन् ।’
एसपी थापाका अनुसार फरेन्सिक ल्यावको रिपोर्टले अनुहार, घाटी, जिउ, हात खुट्टा लगायतमा चोटपटक, निलडाम पाइएको र स्वय् अभियुक्तले नै हत्या गरिसकेको स्वीकारेकोले थप अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद थप गरिएको उनले बताए ।