धरान । बुधवार १७ वर्षिय नाबालिग गायिकाले जर्बजस्ती करणीको मुद्धामा तनहुँको दमौली प्रहरी कार्यालयमा उजुरी दिएपछि भूमिगत भएका अभिनेता पल शाहले बिहीवार फेसबुकमा एक स्टाटस लेख्दै आफू दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार रहेको बताएका छन् । तर, आफूमाथि केही नजिकका सहकर्मी व्यक्तिहरुले नै नियोजित ढङ्गले षड्यन्त्र गरेको उनको दाबी छ ।
उनले लेखेका छन्, ‘अडियो क्लिपमा समीक्षा अधिकारीद्वारा ममाथि सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप ममाथि लगाइएको छ ति सबै नियोजित र षड्यन्त्र पूर्वक ढङ्गले ममाथि प्रहार गरिएको छ ।’ पलले अडियो रेकर्डसहित दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईले समीक्षा अधिकारीलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गरेको उल्लेख गरेका छन् ।
पलले स्टाटसमा ६ वटा अडियो रेकर्ड समावेश गरेका छन्, जसमा दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईसँगै समीक्षा अधिकारीको संवाद सुन्न सकिन्छ । अडियो सुन्दा उनीहरुले समीक्षालाई पलविरुद्ध उक्साएको देखिन्छ । यो अडियो रेकर्ड पलले बाहिर ल्याएसँगै बुधवारसम्म उनीमाथि खनिएका सामाजिक सञ्जाल प्रयोगकर्ताहरु अहिले उनको पक्षमा देखिएका छन् ।
पलले सामाजिक सञ्जाल मार्फत स्पष्टिकरण दिए पनि प्रहरीमा जर्बजस्ती करणीको आरोपमा जाहेरी दिएपछि उनी फरार भएका छन् । जिल्ला अदालत तनहुँबाट पलको नाममा पक्राउ पूर्जी जारी भइसकेको छ । उनलाई पक्राउ गर्न नेपाल प्रहरीले देशभरका प्रहरी कार्यालयहरुमा सर्कुलर जारी गरेको छ ।
अदालतबाट पक्राउ पुर्जी जारी भएपछि तनहुँ प्रहरी कार्यालयले पल शाहलाई पक्राउ गर्न काठमाडौं महानगरीय प्रहरीसँग सहयोग मागेको थियो । अहिले प्रहरीले पलसँग नजिक रहेका व्यक्तिहरुसँग सोधपुछ गर्नुका साथै उनको फोन ट्यापिङमा राखेको छ । प्रहरीले खोजी कार्य तीव्र बनाइरहेको छ ।
बुधबार नाबालिक गायिकाका पिताले तनहुँ प्रहरी कार्यालयमा पल शाहविरुद्ध जाहेरी दिएका थिए । ती गायिका १८ वर्ष मुनीकी भएकाले उनका बुबाले जाहेरी दिएका हुन् । विवाह गर्ने प्रलोभन देखाएर पटक पटक जर्बजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । मुलुकी अपराध संहिता अनुसार १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।