धरान । विकाशका नाममा धरानको सेउती तथा सर्दु खोलासँगै आसपासका खोलाहरुमा हुने गरेका उत्खनन् नरोकिदा बसोबासका क्षेत्रहरुमा जोखिम बढ्दै गएको छ ।
मापदण्ड विपरीत खोला उत्खनन् हुँदा खोला आसपासमा बसेका बस्तीहरु जोखिममा परेका हुन् । पछिल्लो समय धरान–५ स्थित अ“धेरी खोलामा उत्खनन्को काम धमाधम भइरहेको छ । ठेकेदार कम्पनीले यसरी धमाधम उत्खनन् गर्दा बस्ती नै जोखिममा परेको स्थानीय बताउँछन् ।
धरान उपमहानगरपालिकाको स्वीकृतिमा मोतीदान ज्वाइन्ट भेन्चरले बस्ती नै जोखिममा हुने गरी उत्खनन् थालेपछि खोला आसपास स्थानीय त्रसित बनेका छन् । स्थानीय स्वर्णिमहाङ फोम्बोले यस क्षेत्रमा खोला उत्खनन् गर्दा जोखिम बढेको बताउँछन् । उनी भन्छन्, ‘अहिले उत्खनन् भइरहेको क्षेत्रको पश्चिम तर्फ तटबन्धन गरेपनि पूर्व तर्फ खोलाले कटान गर्ने जोखिम छ, स्थानीयबासी अहिले जोखिममा परिन्छ भन्ने त्रास भएपनि बोल्न सक्दैनन् ।’ उनले सडक आयोजनाको लागि उत्खनन् भएको भन्ने सुनिए पनि ठेकेदार कम्पनीले के कति उत्खनन् गर्छ भन्ने अनुगमन गर्ने निकाय सक्रिय हुनुपर्ने बताए ।
नगरप्रमुख स्तरीय निर्णयबाट मदन भण्डारी राजमार्ग निर्माणमा प्रयोग हुनेगरी गिटि निकाल्न सम्झौताको सुन्नमा आएको उनको भनाई छ । उनले भने, ‘यो उत्खनन्ले बस्ती जोखिमा पर्ने सम्भावना बढेर गएको छ, यो उत्खनन् सडक आयोजनाको लागि हो भन्ने सुनेका छौं, उत्खनन् गर्दा बस्तीलाई जोखिममा पार्नु भएन, जस्ती जोखिममा पर्ने देखिए हामी विरोधमा उत्रन्छौं ।’
स्थानीय डम्बर कार्की भन्छन्, ‘विगतमा बस्तीभन्दा धेरै तल खोला उत्खनन गर्दा पनि विरोध गरेका थियौ तर अहिले बस्तीबीचमा नै खोला उत्खनन् भइरहेको छ यस विषयमा कस्ले बोल्ने ?’ बस्ती नै जोखिम पर्ने गरी उत्खनन् भए पनि स्थानीयले केही बोल्न नसकेको उनले बताए ।