धरान । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित शुक्रवारे तथा लबटाली आसपासका स्थानीयहरु भुसिया कुकुरबाट आतंकित भएका छन् ।
केही दिन अघि एउटा बहुला कुकुरको टोकाईबाट दुई बालिका शक्त घाइते भएका छन् । रंगेली नगरपालिका ७ बस्ने सन्जय मंण्डलको १२ वर्षिय आचल कुमारी मंण्डललाई गत बिहिवार घरमै बसिरहेको अबस्थामा अचानक बहुला कुकुर घर भित्र छिरेर आक्रमण गर्दे उनको निधार गालामा टोक्दा उनी घाइते भएकी छन् । पुनः सोहि कुकुरले बिनोद मंण्डल की ११ बर्षिय लक्ष्मी मंण्डललाई समेत गालामा कुकुरले टोक्दा घाइते भएकी छन् । अहिले गाउँ घरमा भुसियाको आतंकले गर्दा आफ्नो घरमा पालनपोषण गरेका खसी बाख्राहरु लाई जोगाउन हम्मेहम्मे परेको छ ।
केही महिना अगाडि घरमा पालिएको बाख्रालाई चारैतिरबाट घेरेर बाख्रा समेत मरेको थियोे । अहिले बहुला कुकुरले खसी बाख्रा र सानो बाछा बाछी र गाईलाई समेत टोक्ने गरेको स्थानीय श्याम कार्कीले बताए । अहिले गाउँ घर तिर भुसिया कुकुर दिनप्रतिदिन बढ्न थाले पछि रातीको समयमा गाउँ घर तिर घर बाहिर समेत निस्कन नसकिने अवस्था सृजना भएको छ । रातिको समयमा मोटरसाईकलमा यात्रा गर्दा समेत कुकुरहरु झम्टिएर चालक माथि नै आक्रमण गर्ने गरेको स्थानीय लक्ष्मण मंण्डलले बताए । केही महिना अघि हरेक चोकमा १० देखि १५ बटा कुकुरहरुले यात्रुहरु लाई आक्रमण गर्ने गरेको छ ।
रंगेली अस्पतालका डाक्टर अरुण भट्टराईका अनुसार कुकुरको टोकाई बाट सातामा एक दुई जना मात्रै आउने गरेको भएता पनि केही दिन देखि भने ४ देखि ५ जना बिरामीहरु आउने गरेका छन् । कुकुरले उचाइको आधारमा बालबालिकाहरु लाई बडि मात्रामा आक्रमण गर्ने गरेको उनले बताए । अलगा ब्यक्तिहरु लाई कुकुरले खुट्टा र हातमा टोक्ने गर्दछ । अस्पतालमा अहिलेसम्म बालबालिकाको अनुहारमा मात्रै टोक्ने गरेको र उपचारमा आउने गरेको उनले बताए । रंगेली अस्पतालमा साता दिन भित्रमा २६ जनालाई कुकुरले टोकेर उपचारका लागि अस्पताल आएका थिए । भुसिया कुकुरहरुको नियन्त्रणको बिषयमा समयमै ध्यान नदिए रंगेली नगरपालिकाले ठुलो क्षेती बेहोर्नु पर्ने देखिन्छ ।