धरान । प्रेस चौतारी नेपाल धरान उपमहानगर समितीको तेस्रो अधिवेसनले कोशीपत्र राष्ट्रिय दैनिकका रोशन दाहालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती निर्वाचित गरेको छ ।
आइतबार सम्पन्न तेस्रो अधिवेसनले दाहालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत निर्वाचित गरेको हो । समितीको उपाध्यक्षमा हर्ट एफएमका स्टेशन मेनेजर रमेश राई, महिला उपाध्यक्षमा विजयपुर एफएमकी मेरिना तुम्सा, सचिवमा कोशीपत्रका संजोगबाबु दाहाल, सहसचिवद्वयमा औजार दैनिकका सन्देश तिमिल्सीना र कृति टेलिभिजनका ललित राई निर्वाचित भएका छन् भने कोषाध्यक्षमा रेडियो धरानकी देविका चाम्लिङ राई रहेका छन् ।
त्यसै गरि समितीको सदस्यहरुमा कृति टेलिभिजनकी मौसमी कार्की, अरुण राई, कोशीपत्रकी प्रतिक्षा विशुन्के, रेडियो धरानकी स्नेहा श्रेष्ठ, अनुपा राई, आइतीमाया तामाङ रहेका छन् ।
प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नम्बर १ इन्चार्ज लिलाराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न संचारक्षेत्रमा कार्यरत पत्रकार सहित नेकपा एमालेका प्रदेश, जिल्ला तथा धरान नगर समितीका नेताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी भट्टराईले पत्रकारिता क्षेत्रलाई सुदृढिकरण गर्नु पर्ने औलाउदै त्यसको शुरुवात नेपाल पत्रकार महासंघबाटै शुरुवात गर्नुपर्ने बताए । उनले भने, ‘प्रेस चौतारी पत्रकारितामा शुद्धिकरण गर्न तयार छ, तर त्यसको शुरुवात महासंघबाटै गर्नुपर्छ ।’ पत्रकारितामा लागेर स्वास्थ्य उपचार समेत पाउन नसक्ने अवश्थामा पत्रकारहरु रहेको अवश्थामा महासंघ मुकदर्शन बनेको उनको आरोप छ ।
प्रेस चौतारीका धरान नगर अध्यक्ष योगेशबाबु काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा त्यसै गरि कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य मुरारी सुवेदीले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै पार्टीलाई सहयोग गर्न आग्रह गरे । पत्रकारिताको निति र नियम भित्र बसेर व्यवसायीक पत्रकारिता सँगै पार्टीले गरेका सकारात्मक कामहरुलाई पनि बाहिर ल्याउनुपर्ने दायित्व प्रेस चौतारीका सदस्यहरुलाई रहेको बताए ।
कार्यक्रममा प्रदेश सदस्यद्वय मोतीराज सुनुवार, विजय राई, जिल्ला सदस्य नारायण सुवेदी, धरान नगर उपाध्यक्ष पारस काङमाङ राई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषि राई लगायतले शुभकामना दिएका थिए ।
दुई पत्रकारलाई नगद सहित प्रशंसापत्र
कार्यक्रमको अवसरमा धरानका दुई जना पत्रकारहरुलाई प्रशंसापत्र प्रदान गरिएको छ । विगत ६ वर्ष देखि धरानलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका हर्ट एफएमका स्टेशन मेनेजर रमेश राई र कृति टेलिभिजनकी सम्वाददाता मौसमी कार्कीलाई प्रशंसा पत्र प्रदान गरिएको हो । उनीहरुलाई जनही ५ हजार रुपैया दरले नगद समेत प्रदान गरिएको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी, विशिष्ठ अतिथी लगायतले खादा लगाउँदै प्रशंसापत्र प्रदान गरेका हुन् ।