धरान। मीरगञ्ज पुलको समस्या समाधान तथा विराटनगर नाकासम्मको आवागमन सुचारु गराउन मोरङ व्यापार संघका पदाधिकारीले भारतका विहार राज्यका मन्त्री सँग भेट गरेका छन् ।
संघका अध्यक्ष नविन रिजालको टोलिले भारतको विहार राज्यका कला, संस्कृति तथा युवा मामिला मन्त्री आलोक रञ्जनको आमन्त्रणमा विहारको राजधानी पटनामा भेटघाट गरेका हुन् । संघको टोलिले विहार मन्त्री रञ्जनसँग मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्यमी व्यवसायीहरुको प्रमुख समस्याको रुपमा रहेको क्षतिग्रस्त मीरगञ्ज पुल बारे अवगत गराउँदै समस्याहरु शिघ्र निराकरणका लागि भारतका सम्बन्धित निकायहरुमा पहल गरिदिन अनुरोध गर्दै सुझाव सहितको ज्ञापन पत्र बुझाएको छ ।
संघका अध्यक्ष रिजाल सहित सचिव संजय श्रेष्ठ, का.का. सदस्यहरु मनिष मारु, गोपाल अग्रवाल र विराटनगरका समाजसेवी पवन सुराना सहितको टोलीले पटनामा माननीय मन्त्री सहित विहार सरकारका अन्य अधिकारीहरुलाई समेत भेटघाट गरिरहेका छन् ।
संघले भारतको बथनाहा–जोगबनी मार्गमा विगत एक महिना देखि क्षतिग्रस्त रहेको मीरगञ्ज पुलका कारण विराटनगर नाका मार्फत औद्योगिक प्रयोजनका सवारी साधनहरुको आवागमन अवरुद्ध हुन गई दैनिक करिब ४ सय मालवाहक सवारी साधनहरु भीमनगर–भन्टावारी नाका मार्फत थप १ सय ३० किमी गन्तव्य तय गर्नु पर्ने र त्यसबाट प्रति सवारी साधन लगभग २० हजार रुपैया लागत खर्च बृद्धि हुन गएकोले त्यसको निराकरणका लागि भारतीय पक्षले तत्कालै कदम चाल्नु पर्ने बताउँदै आएको छ ।
संघले ज्ञापनपत्र मार्फत विराटनगर नाकाबाट नेपाल प्रवेश हुनु पर्ने ३० मेट्रिक टन सम्मका सवारी साधनहरु तथा भारत फर्किने खाली सवारी साधनहरुका लागि अररिया–कुर्साकाँटा–जोगबनी मार्ग खुला गरिनु पर्ने, क्षतिग्रस्त मीरगञ्ज पुलको छेउमा अन्तिम चरणमा निर्माणाधिन ४ लेनको नयाँ पुललाई अस्थायी रुपमा तत्कालै संचालनमा ल्याउनु पर्ने तथा क्षतिग्रस्त मीरगञ्ज पुलको मर्मत कार्य समेत शिघ्रताका साथ सम्पन्न गर्नु पर्ने आदि सुझावहरु दिएको छ ।