रित्तो भण्डारीटार

  • माघ १९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । ‘हामी अलिपछि नै झर्‍यौं, तर पनि आज ४० वर्ष भएछ यहाँ बस्न थालेको, उहिलेको शहर.. अहिले उराठ लाग्दो भाको छ,’ भण्डारीटारकी स्थानीय तारादेवी श्रेष्ठले भनिन्, ‘भण्डारीटार त कथाजस्तो भएको छ ।’

हामीले ‘सुम्निमा’ पढेर यो क्षेत्रको कल्पना गरेजस्तो, हाम्रा भावि सन्ततिले यहाँको कथा सुनेर मात्र कल्पना गर्न सक्लान्,’ विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित् सुम्निमा उपन्यासको प्रसङ्ग कोट्याउँदै स्थानीय युवा राजेश कट्वाल भन्छन्, ‘यहीं अलिमाथि चावाचा, तल कोशी बगर । यतै हो सोमदत्त र सुम्निमाको मिलन भएको ठाउँ । हाम्रै कल्पनाजस्तो ‘भण्डारीटार कुनै समय शहर थियो रे’, भनेर हाम्रा बालबच्चा कल्पनामा रमाउलान् ।’

स्थानीय वयोवृद्ध व्यापारी गङ्गाप्रसाद शाह एक डाडु घिउमा एक डाडु नुन साटेको कथा सुनाउँछन् । ‘कथाजस्तो भयो अहिले त, सुनाउनु पनि ।’

भलाईटार, भलायोटार, भेलेटार वा भँडारीटार जे भने पनि ‘भण्डारीटार’ एउटा अन्नको भण्डार थियो । अहिले भण्डार रित्तो छ । तर पनि निरर्थक नाम उभिइरहेको छ, ‘भण्डारीटार’ ।

खोटाङ, भोजपुर, धनकुटा, उदयपुरका अन्न यही भण्डारीटारमा आएर भण्डारण हुन्थ्यो र, मुलुकका ठूला शहरतिर निकास हुन्थ्यो । बेलाबखत ओखलढुंगा, संखुवासभा, तेह्रथुमका मान्छे पनि यहाँ ‘ढिके नून’ लिन आइपुग्थे । खोटाङ, भोजपुर, धनकुटा र उदयपुरको त यो ‘नून–भुटुन’ को शहर नै थियो । घिउसँग ढिके नून साटेका यहाँका किस्सा दन्तेकथा जस्तो लाग्छ ।

भण्डारीटारमा बुधबार र बिहीबार हाट लाग्थ्यो । युवा व्यावसायी सन्तोष शाहका अनुसार भण्डारीटार पूर्वी पहाडी जिल्लालाई तराई मधेस र ठूला शहरसँग जोड्ने पहाडी बजार थियो । भण्डारी टार खरिद बिक्री केन्द्र र कृषि थोक बजारका रुपमा स्थापित थियो । पहाडबाट कृषि जन्य वस्तु आउँथ्यो । यताबाट नून, तेलसँगै दैनिक खाद्यान्न ढाकरका माध्यमबाट ढुवानी हुन्थ्यो । ‘गाडी घोडा थिएनन्, ढाक्रेहरुले नै सबै सामान बोक्नुपथ्र्यो, व्यावसायी शाह भन्छन्, ‘पहाडका दाल, बेसार, जडिबुटीजन्य उत्पादन, सुन्तला, जुनार, चिउरी आयात हुन्थ्यो, थोक बिक्री वितरण हुने गरेको थियो ।’

तथ्याङ्क राख्ने कुनै संयन्त्र थिएन । बुधबार र बिहीबार वराहक्षेत्र मन्दिरदेखि भण्डारीटार, चतरा हुँदै बिहीबारे हाटसम्म मान्छेको भीडभाड हुन्थ्यो । भरियाका ढाकर र बजार भर्न आउनेको बासले घरका दलिन भरिन्थे । बयरवन सैनिक टोलका संस्थापक युवा समाजसेवी मोहन राई बाल्यकाल सम्झँदै भन्छन्, ‘ढाकरबाट खसेका सुन्तलाका गन्ती हुँदैनथ्यो, खोटाङ, भोजपुरबाट झरेका भरिया, गाउँलेहरुले घरमा पाइला राख्ने ठाउँ हुँदैनथ्यो ।’ बाल्यकाल सम्झँदा र अहिले उराठ लाग्दो बजार देख्दा सपनाजस्तो लाग्ने समाजसेवी राईको अनुभव छ ।

६० को दशकपछि विस्तारै खस्कँदै गएको भण्डारीटार चतरा बजार विकासका केही रेखा कोरिए पनि माथि उठ्न सकेको छैन । २०७२ सालमा कोशी नदीमा पुल निर्माण भएपछि सडक विस्तारका कारण भण्डारीटार झनै सङ्कटमा पर्‍यो । ०७३ मा सडक विस्तार हुने क्रममा उत्तरतर्फका ३३ घर मुआब्जासहित विस्थापित भए । बजार सानो भयो । मदन भण्डारी लोकमार्ग विस्तारका क्रममा बजार व्यवस्थापन हुन नसक्दा खस्किएको बजार नउठ्ने गरी थला परेको युवा व्यावसायी केदार शाह बताउँछन् । रामपुर, उदयपुर, धनकुटा, छिन्ताङ, मचुवा, त्रिवेणी, ताम्राङ, टाङ्केरालगायतका क्षेत्रको नजिकको बजार भए पनि हिले पाख्रिबास, छिन्ताङतिरबाट धनकुटा पुग्ने सहजमार्ग बनेपछि भण्डारीटार चतरा बजार थप शून्यताको अवस्थामा पुगेको व्यावसायी शाह बताउँछन् ।

‘भण्डारीटार व्यावसायिक जोखिममा पर्नुका थुप्रै कारण मध्ये सडक विस्तार र व्यापारी बिचौलियाको कृषकसम्म पुग्ने सिधा सम्पर्क स्थापित हुनु पनि हो,’ व्यावसायी शाह भन्छन्,‘भण्डारीटारलाई पुनर्जीवित गराउन स्थानीय सरकारले नीति निर्माण गर्नुपर्छ, यसलाई कृषि बजारका रुपमा विकास गरेर लाने सम्भावना भने मरिसकेका छैनन् ।’

‘छैन, व्यवस्थित बजार’

बस बिसौनी, ट्याम्पु स्टेण्डको उचित व्यवस्थापन गर्न सके, सरकारी संघसंस्था, आधुनिक पसल व्यवसाय सञ्चालनका लागि सरकारी प्रोत्साहन हुन सके बजारले पुनर्जीवन पाउला कि भन्ने स्थानीय आशा व्यक्त गर्छन् । ‘पुरानो बस्ती मात्रै छ, सौन्दर्यकरणका उपाय केही छैन, त्यत्तिकै उजाड देखिएको छ, कसरी बजार होला,’ स्थानीय जितेन्द्र राई भन्छन्, ‘बिजुलीका पुराना पोल हटाउने, नयाँ पोल लगाउने र फोहोर व्यवस्थापनमा ध्यान दिने हो भने अलिक त राम्रै देखिएला ।’

ओरालो र कुइनेटो परेको ठाउँ भएकाले बेलाबेला दुर्घटनासमेत हुने गरेको दुर्वासाघाट महिला सामुदायिक वनकी पूर्व अध्यक्ष विणा राई बताउँछिन् । दुर्घटनाको जोखिम भएकाले सडक ऐना, जेब्रा क्रसिङ बनाउनुपर्ने उनको माग छ । ‘पहिलो नम्बरमा त नम्बरी जग्गा हुनुपर्‍यो, नाला बन्नु पर्‍यो, पानीको निकासा छैन, विकास भएन भनेर मात्र हुन्छ, सरकारी कार्यालय संघसंस्था केही छैन,’ राई भन्छिन्, ‘कम्तिमा भण्डारीटारलाई सफा र सुन्दर बनाउन स्थानीय सरकार नै जवाफदेही हुनुपर्छ ।’

जनप्रतिनिधिसँग नयाँ बस्ती व्यवस्थापनको नयाँ योजना नभएको स्थानीयको आरोप छ । ‘विनियोजित बजेटलाई त उचित सदुपयोग गर्न नसकेर स्थानीय सरकार आलोचित भइरहेका छन्, कसरी नयाँ बजार, बस्ती व्यवस्थापनमा उनीहरुको ध्यान पुग्ला ?’ स्थानीय युवा नेता राजेश शाह भन्छन्, ‘कम्तिमा देखिने र दीगो विकास हुनुपर्छ, एउटा जीवन्त बस्ती कसरी निर्जीव बन्ने रहेछ भन्ने उदाहरण हो भण्डारीटार । सचेतवर्गको ध्यानाकर्षण हुन जरुरी छ ।’

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved