धरान । नेपाल आदिवासी जनजाती पत्रकार संघ सुनसरीको अध्यक्षमा नविन गुरुङ निर्वाचित भएका छन् ।
संघको नयाँ सदस्य तथा नविकरण सदस्यहरुको नामावली सार्वजनिकमा विवाद देखिए पछि गत मंसिर २८ गते सम्पन्न फोनिजको अधिवेसनको बन्द सत्र स्थगित भएको थियो । फोनिजको प्रदेश समितीको रोहबरमा सोमबार सम्पन्न निर्वाचन समितीको बैठकले अध्यक्ष गुरुङलाई सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितीको उपाध्यक्षमा सुनिल चौधरी, सचिवमा सुम्निमा राई सहसचिवमा एलन गच्छदार र कोषाध्यक्षमा राजकुमारी चौधरी रहेका छन् ।
त्यसै गरि सदस्यहरुमा बसन्त बान्तवा, मौसमी लिम्बु, विश्व राई, रश्मी प्रधान, स्वर्णिम हाङ फोम्बो र कमला चौधरी रहेका छन् । १३ सदस्यीय जिल्ला कार्यसमितीमा बाँकी रहेका दुई सदस्या नयाँ कार्यसमितीले चयन गर्ने अधिकार दिएको छ ।
त्यसै गरि आसन्न प्रदेश महाधिवेसन र केन्द्रिय महाधिवेसनका प्रतिनिधीहरु पनि नयाँ जिल्ला कार्यसमितीलाई दिएको निर्णय गरिएको नवनिर्वाचित अध्यक्ष गुरुङले बताए । उनका अनुसार अग्रज पत्रकार गोपाल देवानको संयोजकत्वमा निलिफा सुब्बा र सुकदेव चौधरी सदस्य रहेको तिन सदस्यीय निर्वाचन समिती गठन गरेको थियो ।