उत्कृष्ट बेसार उत्पादन गर्दै सिद्धिपुर: वार्षिक डेढ करोड भन्दा बढीको उत्पादन

  • मंसिर २९, २०७८
  • "रासस"
alt

उदयपुर/ उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सिद्धिपुरगाउँ जिल्लाको सबैभन्दा बढी बेसार उत्पादन हुने उत्कृष्ट बेसार पकेट क्षेत्र बन्न पुगेको छ ।
चौदण्डीगढी नगरपालिकाको सिद्धिपुर क्षेत्रमा केही वर्ष यतादेखि वार्षिक रू. डेढ करोडभन्दा पनि बढी मूल्यको बेसार उत्पादन हुँदै आएको कृषक बिन्द्रमान मगर बताउँछन् । १० वर्षदेखि व्यावसायिक बेसारखेती हुँदै आएको सिद्धिपुरमा दुई वर्ष अघिसम्म वार्षिक एक करोडको बेसार उत्पादन हुने गरेकामा गत वर्षदेखि वार्षिक रू. डेढ करोडभन्दा बढीको बेसार उत्पादन भएको अर्का कृषक भुपेन्द्र मगरले बताए ।
गत वर्षको तुलनामा यस वर्ष बेसारखेती विस्तारसँगै वृद्धि भएकाले यसपटक सरदर रू. दुई करोडसम्मको बेसार विक्री गर्न सकिने अवस्था रहेको उनी बताउँछन् । चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्रकुमार राईका अनुसार चौदण्डीको सिद्धिपुर क्षेत्र जिल्लाकै एक नम्बर बेसार पकेट क्षेत्र घोषणा गरिएको छ । वार्षिक सिद्धिपुरमा डेढ करोड बराबरको बेसार उत्पादन भएर विराटनगरतर्फ विक्री हुने गरेको नगरप्रमुख राईले बताए । सिद्धिपुरमा हाल ४० घर कृषकले व्यावसायिकरूपमा बेसारखेती गर्दै आएका छन् ।
जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख महेश चौधरीका अनुसार व्यवसायिक बेसारखेतीले फड्को मारेको छ । हाल जिल्लामा करीब १३७ हेक्टर क्षेत्रफलमा व्यवसायिक बेसारखेती हुँदै आएको छ । वार्षिक झण्डै ८ सय मेट्रिक टन बेसार उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख चौधरीले बताए । वार्षिक करीब रू. पाँच करोडभन्दा बढी मूल्यसम्मको बेसार उत्पादन भएर अन्यत्र विक्री हुने गरेको कृषि ज्ञान केन्द्र उदयपुरले जानकारी दिएको छ ।
जिल्लामा उत्पादन भएका अधिकांश बेसार विराटनगरस्थित गोल्छा र दुगड मिल्सले खरीद गर्ने गरेकाले बेसार विक्रीमा समेत सहज भएको केन्द्रका कर्मचारी बताउँछन् । सिद्धिपुरपछि त्रियुगा नगरपालिकाको साउने खाँबु, बेलकाको मैनामैनी, बबला, कटारी नगरपालिकाको रिस्कु र अन्य क्षेत्र सिरीसे, हर्देनी, उदयपुरगढी गाउँपालिकाको भलायाडाँडा र दनुवारबेँसी क्षेत्र बेसार उत्पादन पाकेट क्षेत्र रहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।
विगतमा परम्परागत प्रजातिको स्थानीय बेसार मात्र उत्पादन हुने गरेकामा केही वर्षदेखि काभ्रेमा उत्पादन हुने गरेको उन्नत सुगन्धा जातको बेसार खरीद गरेर उदयपुरमा यसको खेती शुरु भएको हो । उदयपुरमा सुगन्धा जातको उन्नत बेसार उत्पादन हुन थालेपछि अहिले वार्षिकरूपमा बेसार उत्पादनमा वृद्धि हुँदै गएको जिल्लाका कृषकले राम्रो आम्दानी गर्न थालेका छन् ।
जिल्लामा यस वर्ष झण्डै साढे तीन करोड बराबरको बेसार उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार पश्चिमी पहाडी क्षेत्रका सिरीसे, हर्दिनी, लेखानी, रिस्कु, तावाश्री तथा मध्यक्षेत्रका साउने, खाँबु, आँपटार, पोखरी क्षेत्रमा बेसार उत्पादन भएका छन् । यस्तै पूर्वी क्षेत्रको मैनामैनी, बबला, चोदण्डी तथा सिद्धीपुर क्षेत्रमा समेत यस वर्ष बेसार उत्पादन बढेको स्थानीय कृषकले बताएका छन् ।
उदयपुरको पूर्वी क्षेत्रबाट उत्पादन हुने बेसार सुनसरीको धरान, इनारुवा, दुहबी तथा विराटनगर क्षेत्रमा निर्यात हुने गरेको छ । मध्य पहाडी क्षेत्रमा उत्पादन भएको बेसार सप्तरी तथा सिरहा क्षेत्रमा र पश्चिमी क्षेत्रको पहाडी क्षेत्रमा उत्पादित बेसार सिरहा तथा धनुषा क्षेत्रमासमेत निर्यात हुने गरेको छ । बेसार खेतीले कृषकलाई राम्रो आम्दानी दिँदै आए पनि यस वर्ष तराई बन्दका कारण विक्रीमा अझैसम्म पनि उचित बजार पाउन नसकेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख पवन गिरीको भनाइ छ ।

५० वर्षसम्म नेपाललाई ...

सुर्खेत/  नेपालको पेट्रोलियम अन्वेषणको इतिहास ...

‘श्रमको कदर मात्रै, ...

धरान/  धरान–१६ को सर्दुखोला किनारमा ग्य ...

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved