सुनसरी/ इटहरी उपमहानगर पालिकाको विषय विज्ञका रुपमा रहेको प्रा.डा.बद्रीविशाल पोखरेलले सल्लाहकार सदस्यबाट राजिनामा दिएका छन् ।
उनले मंगलबार उपमहानगरपालिका प्रम्ुखलाई राजिनामा दिएका हुन् । इटहरीका स्रष्टाहरुले भाषा, कला, साहित्य र संस्कृतिका विषयमा संविधानतः गर्नु पर्ने काममा बेपर्वाह बेवास्ता मात्र होइन यस क्षेत्रलाई प्रमुख र अझ उपप्रमुखले घोर अपमान गरेको राजिनामा पत्रमा उल्लेख गरेका छन् ।
पोखरेलले इटहरी वरपरका नगरपालिकाले भाषा, कला र साहित्यका क्षेत्रमा प्रतिष्ठाननै गठन गरि उत्थानमा शुरुदेखि महत्वपूर्ण काम गर्ने योजना बनाए पनि आजका कुनै पनि काम हुन नसकेको बताए । आर्थिक वर्षको बजेटमा उपप्रमुख लक्ष्मी गौतमले भाषा, कला, साहित्य संस्था गठन गर्ने, यस क्षेत्रलाई पर्याप्त सहयोग गर्ने तथा विद्यमान पुस्तकालयलाई इ लाइव्रेरीमा रुपान्तर गर्ने प्रतिबद्धता जनाए पछि कुनै काम नभएको उनको गुनासो छ ।
इटहरीको स्रष्टा समाजले दिएका लिखित माग र आलोचनात्मक सुझावलाई दुवै जनप्रतिनिधिले नसुनेझैँ गरेको उनको भनाई छ । उनले भने, ‘आफैँले घोषणा गरेको र कबुल गरेका कामहरु अलिकति पनि पटक्क गरिएन, नगरपालिकामा स्वं धरणीधर दाहालले स्थापना गरेको पुस्तकालयमा एउटा पनि पुस्तक किनिएन, कोरोनाको बहाना बनाएर कुनै काम भएन ।’
उपमेयरकै पहलमा उक्त पुस्तकालयका पुस्तकहरु इटहरीका विभिन्न शैक्षिक, साहित्यिक तथा पुस्तकायमा जथाभावी वितरण गरेर पुस्तकालय विहीन इटहरी बनाउन खोजेपछि इटहरीका स्रष्टाहरुले दवाव दिएका थिए । उपमहानगरपालिकाबाट चरम अबौद्धिक र गैरसाहित्यिक चरित्र र चिन्तन भएकाले गैर जिम्मेवार गतिविधिबाट आजित भएर सल्लाहकार सदस्यबाट राजिनामा दिएको पत्रमा खुलाइर्एको छ ।