विराटनगर । नेपाल ट्रेड युनियन कांग्रेसमा आबद्ध पदाधिकारी तथा श्रमजीवीले कांग्रेसको आसन्न १४ औं राष्ट्रिय महाधिवेशनमा संयुक्त उम्मेदवारी दिनेघोषणा गरेका छन् ।
विराटनगरमा शुक्रबार आयोजना गरिएको १४ आंै महाधिवेशनमा श्रमजीवीहरुको भूमिका विषयक अन्तरसंवाद कार्यक्रममा मोरङबाट प्रतिनिधित्व गर्ने युनियनकर्मीले उम्मेदवारी घोषणा गरेका हुन ।
मंसिर ३ देखि १० गतेसम्म हुने महाधिवेशनमा २५ जनाले उमेदवारी घोषणा गरेका छन् । मोरङ जिल्ला सचिव पदमा दाबेदारी पेश गरेका ट्रेड युनियन कांग्रेस मोरङका अध्यक्ष सुशील कोइरालाले जिल्लाबाट कूल २५ जनाले उमेदवारी दिने तयारी भएको बताए ।
कार्यक्रममा सार्क टुकका महासचिव एंव प्रमुख अतिथि लक्ष्मणबहादुर बस्नेतले श्रमजीवीको भविष्य निर्माणका लागि उम्मेदवारी आउनु सुखद भएको बताउँदै भने,“सामाजिक न्यायका लागि ट्रेड यूनियनले भूमिका खोजिरहेको अवस्थामा नीति निर्माण तहमा आफ्नै उपस्थिती हुदाँ श्रमजीवीको हक अधिकार सुनिश्चित गर्न सकिन्छ ।”
नेपाल युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष पुष्कर आचार्यले पार्टीको नीति निर्माण तथा योजनासम्म पुग्नुपर्नेमा जोड दिदैं सो गन्तब्यसम्म नपुग्दा पार्टीले युनियकर्मलाई हेर्न दृष्टिकोण फरक पारेको दाबी गरे । विगतका निर्वाचनमा कांग्रेस मजदुर विरोध भएर देखिने गरेको आरोप लगाउदै उनले सत्तामा पुग्ने कांग्रेसले मजदुर पक्ष बन्न सक्नुपर्ने सुझाव दिए । यसपटकको महाधिवेशनबाट यूनियनकर्मीले मजदुर श्रमजीवीको हकहित र अधिकार सुनिश्चित गर्न पार्टीको सबै संरचनामा युनियनकर्मीको प्रतिनिधित्व रहनुपर्ने प्रस्टाए ।
त्यस अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसका प्रदेश १ अध्यक्ष नारायणबाबु कार्कीले नीति निर्माण तहसम्म आफूहरुको सहभागिता रहनुपर्नेमा जोड दिए । उनले भने,“नीतिगत तहसम्म पुराउन कन्जुस्यार्इं गर्ने गरेको छ ।”युनियनका केन्द्रीय उपाध्यक्ष अजयकुमार राईले पार्टीले श्रमिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको बताउँदै भने,“पार्टीको वैधानिक संरचनामा श्रमिकको भूमिका नदेखिएकोले अब आफ्नो हक अधिकार मागेर नभई संघर्षबाट लिनुपर्ने बेला भएको छ ।” कार्यक्रममा तत्कालिन पार्टी सभापति सुशील कोइराला र ट्रेड युनियनका अध्यक्ष लक्ष्मणबहादुर बस्नेतबीच श्रमजीवीको हक सुनिश्चित गर्न भएको ७ बुदें सम्झौता अझैपनि कार्यान्वयन आउन नसकेको युनियनकर्मीको गुनासो थियो । कार्यक्रममा विराटनगर महानगरपालिकामा सबै १९ वटा वडामा विजयी कांग्रेसका वडा सभापतिलाई सम्मान गरिएको थियो ।