इटहरी/ मोरङको लेटाङमा प्रस्ताब, माइन्युट लेखन तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।
गुडलक एजुकेशन तथा ट्रेनिङ सेन्टर प्रा.लि.इटहरीको आयोजनामा लेटाङ नगरपालिकाको सहयोगमा नगरका ९ वटै वडाबाट ५० जना सहभागीलाई तालिम प्रदान गरिएको हो । तालिम लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यतमा सम्पन्न भएको हो । समापनमा सहभागीहरुलाई प्रमाणपत्रका साथै तालिम पुस्तिका समेत वितरण गरिएको छ । कार्यक्रममा नगर प्रमुख राईले नगरपालिकाले नागरिकको क्षमता विकासका लागि यस्ता कार्यक्रमहरु आगामी दिनमा समेत सञ्चालन गर्दै जाने प्रतिवद्धता जनाए ।
कार्यक्रमका लेटाङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युत प्रसाद दाहाल, लेटाङ नगरपालिका शिक्षा शाखा प्रमुख कृष्णराज राई, लगायत विभिन्न वडाका वडाअध्यक्षहरुको उपस्थिती रहेको थियो । ३ दिन सम्म सञ्चालन भएको तालिममा लेटाङ नगरपालिका शिक्षा शाखा प्रमुख कृष्णराज राई, योजना शाखा प्रमुख भूपेन्द्र खनाल तथा सप्तकोशी एफएमका सम्पादक लिलाराज भट्टराईले सहजिकरण गरेका थिए । तालिममा प्रस्ताव लेखन, माइन्यूट लेखन, प्रतिवदेन लेखन, उद्घोषण र बजेट कार्यान्वयन तथा भुक्तानी लगायतको विषयमा प्रशिक्षण दिइएको गुडलक एजुकेशनका रेवती निरौलाले जानकारी दिए ।