धरान/ बेपत्ता भएको एक महिना पछि कुहिएको अवश्थामा शव भेटिएका धरान ५ का प्रदीप सुब्बाको मृत्यु प्रकरणमा मुछिएका एक जना पुर्पक्षका लागि थुनामा गएका छन् ।
गत जेठ ५ गते धरान–४ को बैदाङ खोपमा सडेको अवस्थामा उनको शव भेटिएको थियो । उनको मृत्यु प्रकरणमा इलाका प्रहरीले ३ जनालाई पक्राउ गरेको थियो । तिन जना मध्ये एक जनालाई सुनसरी जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
सुब्बाको शव भेटिएको तिन महिना पछि दोषि कारवाहीमा परहेका हुन् । मृतक प्रदीपको परिवारले दिएको उजुरीको आधारमा पक्राउ परेका ५४ वर्षीय जन्तरे भनिने राम बहादुर राईलाई अदालतले सोमबार भएको फैसलाबाट पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अन्य दुई जना ४४ वर्षीय मंगल सिंह लिम्बू र २० वर्षीय भरत भुजेल सादा तारिखमा छाडिएको प्रहरीले बताएको छ । अदालतको ८ नं न्यायधिस निर्मला योङयाको इजलासमा थुनछेक बहस भएको थियो भने अर्को फैसला नहुँन्जेल सम्मका लागि पुर्पक्ष राख्ने आदेश लागू हुनेछ ।
मृतकका बुबा सूर्य बहादुर सुब्बा र बहिनी कृतिमा सुब्बाले गत जेठ ७ गते दिएको उजुरी प्रहरीले दुई महिना पछि साउन ७ गते मात्र दर्ता गरेको थियो । उजुरी दर्ता भएपछि साउन ८ गते सुनसरी जिल्ला अदालतले ३ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रहरीले साउन ९ गते ३ जनालाई पक्राउ गरी अदालतबाट कर्तव्य ज्यान मुद्दामा तिन चरणको म्याद थप गरी अनुसन्धान गरेको धरानका डिएसपी नरेन्द्र कुँवरले बताए ।
यस घटनाको अनुसन्धानमा प्रदेश १ को प्रहरीको टोली, सुनसरीको प्रहरी टोली, संघीय इकाई प्रहरी कार्यालय धरानको टोली र धरान प्रहरीको संयुक्त टोलीले अनुसन्धान गरेको थियो । घटनाको अनुसन्धान फितलो भएको भन्दै पीडित पक्षहरूले विगत दुई महिना देखी गुनासो समेत गर्दै आएका थिए ।
धरान ४ स्थित मंगल सिंह लिम्बुको कृषि फर्ममा काम गर्दै आएको सुब्बा वैशाख ७ गते देखि हराएका थिए । उनको शव जेठ ५ गते पत्रङबारीको जंगलमा भेटिएको थियो । जेठ ७ गते इलाका प्रहरी कार्यालय धरानमा आरोपित तिनै जनाको नाममा किटानी जाहेरी दिएका थिए । प्रहरीले साउन ७ गते उजुरी दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो । मृत्यु भएको करिब तिन महिना पछि दोषि उपर कारवाही भएको छ ।