विराटनगर / कोरोनाका कारण स्थगित भएको प्रदेश नम्बर १ लोकसेवा आयोगले पहिलो दुई वटा परिक्षा संचालन गरेको छ ।
इन्जिनियरिङ सेवा, सिभिल समूह, सहायक स्तर चौथो तह असिस्टेन्ट सब इन्जिनियर (पद संख्या ८५) र सहायक स्तर पाँचौ तह सब इन्जिनियर पदमा जम्मा ४८ पद संख्याको पदपूर्तिको लागि परीक्षा संचालन गरेको हो ।
आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईका अनुसार २०७७ चैत ९ गते, बैसाख ६ गते र असार २४ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न सेवा समूहका रिक्त पदहरुको परिपूर्तिका लागि माग आपुर्ती फाराम प्राप्त भएको थियो । सोही अनुरुप चैत ३० गते स्थानीय सरकारी सेवा अन्तर्गत विज्ञापन गरिएको थियो । तर, कोरानाको नयाँ भेरियन्टका कारण बैसाख १६ गतेदेखि दरखास्त संकलन स्थगन हुन पुग्यो । फेरि असार २४ गते पुनः दरखास्त संकलन गरेर प्रकाशित विज्ञापन अनुसार दुबै परीक्षा संचालन गरिएको भट्टराईले बताए ।
कर्मचारीको पदपूर्ति मिलानका लागि हाल संघीय सरकारले समायोजन ऐन लागू गरेको छ । विद्यमान कानुन अनुसार गर्न सक्ने अनुरुप नै प्रदेशमा लोक सेवा आयोगले परीक्षाका कार्यक्रमहरु संचालन गर्ने तर फायलबाट हुनुपर्ने बढुवामा भने समस्या रहेको बताउँदै आयोग अध्यक्ष भट्टराईले भने, “प्रदेश निजामती र स्थानीय तह सेवा सम्बन्धी ऐन आएको खण्डमा बढुवा लगायतमा समेत आयोगले काम गर्न सक्छ ।” संघीय निजामती सेवा ऐन नआउन्जेल संघीय समायोजन ऐन अनुरुप काम गर्न सकिने र अहिले सोही अनुसार विज्ञापन गर्न सकिने बताए ।
रिक्त स्थानमा कर्मचारीको माग अधिक रहेको पाइएको बताउँदै पद्धतिअनुसार कर्मचारी नियुक्ति भन्दा पनि करारबाट नियुक्ति हुने प्रक्रिया अब निरुत्साहित हुनुपर्ने जिकिर गरे । “अब आयोगको सहमति बिना करारमा नियुक्ति गर्न मिल्दैन । केही सानो अवधिको लागि राख्न सकिन्छ । माग फाराम भरेर आयोगलाई पठाउनु पर्छ । सबै प्रदेशका निकायमा माग गरेर पठाउन आग्रह गरिएको छ,” उनले भने, “करारमा निष्पक्षता नहुने भएकोले करारलाई निरुत्साहित गरेर लैजानु पर्छ । एक लटको लिखित परीक्षा सकेका छौं । दशैं अगाडि कर्मचारी सिफारिस गर्ने तयारी छ । भदौ २५ गतेदेखि फेरि अर्को परीक्षा संचालन गर्दैछौ ।”
आयोगले सहायक स्तर चौथो तहमा ५ हजार ६ सय ४८ र पाँचौ स्तरमा तहमा कूल ४ हजार ४ सय ९९ जनाको आवेदन प्राप्त भएको जनाएको छ । दुबै तहमा साउन २९ र ३० गते गरिएको परीक्षामा परीक्षार्थीको सहभाभागिता ८३ प्रतिशत भन्दा अधिक छ ।
चौथो तहमा ४ हजार ७ सय ५ जना र पाँचौ तहमा ३ हजार ७ सय ७८ जना परीक्षार्थी सहभागी भएको आयोगकी सदस्य सजना दाहालले जानकारी दिइन ।
नेपालको संविधानको धारा २४४ को उपधारा १ मा ‘प्रत्येक प्रदेशमा प्रदेश लोकसेवा आयोग रहनेछ’ भन्ने व्यवस्था छ । सोही अनुरुप २०७६ माघ ९ गते प्रदेश नं १ विराटनगरमा विधिवत रुपमा लोक सेवा आयोग स्थापना भएको थियो ।