मोरङ/ प्रदेश राजधानी घोषणा भएको दुई वर्ष कटि सक्दा पनि प्रदेश नं. १ को नामकरण टुंगो नलाग्नु विडम्बना रहेको भन्दै विपक्षी गठबन्धनले सरकारको आलोचना गरेका छन् ।
पटक पटक छलफल र बहस भए पनि अहिले सम्म प्रदेश नामाकरण नटुंग्याउनु दुखद रहेको भन्दै प्रदेशका नागरिकहरुले पनि सरकारको कटाक्ष गरिरहेका छन् ।
मुख्यमन्त्री शेरधन राईले विभिन्न कार्यक्रमहरुमा प्रदेशको नामाकरण चाडै टुंगो लाग्ने बताए पनि संसदमा भने जोडदार रुपमा उठ्न नसकेको उनीहरुको आरोप छ ।
०७६ वैशाख २३ मा मुख्यमन्त्री राईको नेतृत्वमा रहेको सरकारले प्रदेशको राजधानी टुङ्गो लगाएको थियो । तर प्रदेश सरकार गठन भएको तीन वर्ष बितिसक्दा पनि प्रदेशको नामकरणमा भने सांसदहरुबीच नै मतभेद चलिरहेको छ ।
नेपाली कांग्रेसका प्रमख सचेतक केदार कार्कीले प्रदेश नं. १ मा नामाकरणको कुरा टुंगोमा लाग्न नसक्नु विडम्बना भएको बताए । उनले भने, ‘अहिले फेरि संसदमा नामकरणको विषयमा कुरो उठेको छ, मुख्यमन्त्रीले नै नामाकरणको विषयलाइ अगाडि ल्याउनु भएको छ, नामकरणको विषयमा चलाएको छलफल दोष कटाउन रुद्री लगाए जस्तो हो ।’ कार्कीले मुख्यमन्त्री राइले आफ्नै दलसंग सल्लाह नगरी सर्वदलीय बैठक राखेको आरोप लगाए ।
यता केही संसदहरुले भने छलफलका विषयमा अनविज्ञता प्रकट गरे । जनता समाजवादी पाटी एक नं.१ का संसदीयदलका नेता जयराम यादवले नामाकरणको विषयमा छलफलका विषयमा अनविज्ञता प्रकट गरे ।
उनले भने, ‘संसद बैठकको समयमा आफूहरू जिल्ला बाहिर भएकाले प्रदेशको नामकरणको विषयमा छलफलमा सहभागी हुन पाइएन, यो सम्बन्धि केही थाहा छैन ।’
यता संघीय लोकतान्त्रिक मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेले प्रदेश नामाकरण सम्बन्धी आधिकारिकरुपमा सदनमा छलफल नभएको बताइन् । उनले मुख्यमन्त्रीसंग ६ वटा दल मध्ये ४ वटा दलको उपस्थितिमा अनौपचारिक छलफल भएको बताइन् ।