इटहरी/ सुनसरीको इटहरीमा फेरी डोजर आतंक शुरू भएको छ । स्थानीयतहको निर्वाचनबाट निर्वाचित भए लगत्तै सार्वजनिक जग्गा खोजि अभियान चलाएका मेयर द्वारिकलाल चौधरीले पुनः इटहरीमा डोजर आतंक शिर्जना गरेका हुन् ।
मंगलबार एक व्यवसायीको नीजि जग्गामा बनेको भौतिक संरचना माथि डोजर लगाएर भत्काएपछि सामाजिक सञ्जालमा चौतर्फी बिरोध शुरू भएको छ । रिसोर्ट सञ्चालनका लागि नीजि जग्गामा निर्माण थालेका पर्खाललाइ मेयर चौधरीले डोजर लगाएर भत्काए पछि मेयर चौधरी पुनः बिवादमा तानिएका हुन् ।
बाटोको जमिन मिचेर भौतिक संरचना निर्माण गरेको भन्दै इटहरी उपमहानगरका मेयर चौधरीले मंगलबार इटहरीको खनार छेउमा बन्दै गरेको पर्खालमा डोजर प्रयोग गरेर भत्काइ दिएका हुन् । पर्खालले बाटोको जमिन मिचेको र स्थानीय पुलमा पानीको बहाव थुन्ने काम भएको जनगुनासो आएपछि स्थलगत अनुगमन गरि पर्खाल भत्काइदिएको मेयर चौधरीको दाबी छ ।
‘स्थलगत अनुगमन गर्दा सार्वजनिक जग्गा मिचेको पाइयो र तत्काल डोजर बोलाएर पर्खाल भत्काइयो’ मेयर चौधरीले भने । नगर प्रहरी, नेपाल प्रहरी र डोजर सहित दलबल बोकेर स्थलगत अनुगमन गर्न पुगेका मेयर चौधरीले बाटोको जमिन मिचेको र उपमहानगरसँग कुनै अनुमतिनै नलिइ रिसोर्ट सञ्चालनका लागि भौतिक संरचना निर्माण गरेको भन्दै पर्खालमा डोजर लगाएका हुन । उनले खोला, पैनी र बाटोको अधिकार क्षेत्र मिचेर बनाएका संरचनाका कारण पानीको वहाव छेकिएर जनता डुवानमा पर्ने गरेकाले भत्काउने एक्सन शुरु गरिएको बताए ।
डोजर लगाएर भत्काउने क्रममा केहि समय स्थानीयहरूसंग बिवाद पनि भएको थियो । शहरमा खुलेआम सार्वजनिक जग्गा मिचेर महल ठड्याउनेलाइ छुन नसकेको तर गाउँ घरमा सानो तिनो बिकास हुनै लाग्दा सार्वजनिक जमिन मिचेको भन्दै पर्खाल भत्काएर काम गरे जस्तो देखाउन खोजिएको स्थानीयहरूले मेयर माथि आरोप लगाएका छन् ।
स्थानीयको आक्रोशलाइ शान्त पार्न मेयर चौधरीले पुनः आफ्नो अभियान शुरू गरेको बताए ।
योजना बनाएर काम गर्दा अदालतबाट स्टे अर्डर आइहाल्ने प्रवृति देखिएकोले कसैलाइ केही नभनि धमाधम सरकारी जमिन फिर्ता ल्याउने अभियान चलाइने बताए । उनले भने, ‘अब कहाँ कति बेला डोजर चल्छ केहि भन्न सकिन्न, आज यहाँ, भोलि त्यहाँ भनेर योजना बनाएर काम गर्न नपाउदै अदालतले स्टे अर्डर ल्याएर हातमा थमाउने प्रवृत्तिले आफ्नो कार्यकाल त्यतिकै सक्किन लासिक्यो ।’ उनले अब सरकारी जमिन मिचेर बनेका संरचना हटाउने अभियान इटहरीमा शुरू भइसकेको घोषणा समेत गरेका छन ।
मेयर चौधरीले डोजर लगाएर भत्काएको पर्खाल सरकारी जमिन नभएर निजि जमिनमा बनाइएको स्थानीयको भनाई छ । नीजि जग्गामा बनेको संरचनालाइ सोध्दै नसोधी डोजर लगाएर भत्काउनुले इटहरीमा मेयरको दादागिरि शैलि देखिएको व्यवसायी किरण कुमार बुढाथोकीले बताए । उनले पर्खाल निर्माणको लागि अनुमति नलिएको स्विकार गर्दै कानुन अनुसार अनुमति लिने तयारी थाल्दा थाल्दै मेयरले एक्कासि डोजर लगाएर पर्खाल भत्काइदिदाँ लगानी डुबेको बताए ।
एक त कोरोना संक्रमणको कारण व्यवसायीहरू हतोत्साही भइरहेको समयमा स्थानीय सरकार प्रमुखको व्यवहारले झनै मर्माहित बनाएको गुनासो पोखे । उनले जग्गामा निर्माण गरिएको पर्खालले कुनै खोलाको पानीको बहाव नछेकेको र बाटोको जग्गा नछुएको दाबी गरेका छन् ।