इटहरी । नयाँ भेरियन्ट सहित समुदाय स्तरमा देखा परेको कोरोना संक्रमणको कारण प्रसाशनले लकडाउन जारी गर्दा इटहरीको ब्यवसायमा नराम्रो असर गरेको छ । प्रशासनले संक्रमणलाइ न्युनिकरण गर्न गत बैशाख १६ गते मध्यरात देखि जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । ब्यवसायलाइ सहजता प्रदान गर्दै निश्चित समय भित्र खोल्न अनुमति दिएपनि अझै पनि निषेधाज्ञा जारीनै छ ।
करिब २ महिनाको बन्दाबन्दीमा सुनसरीको इटहरीका व्यवसायीहरुले करीब ७ अर्बको ब्यापारमा नोक्सान व्यहोर्नु परेको छ । वार्षिक कुल ६६ अर्ब सम्म कारोबार हुने इटहरीको ब्यापार ब्यवसायलाइ अहिले देखिएको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणले पुर्ण रुपमा प्रभाव पारेको छ ।
आन्तरिक राजस्व कार्यालय इटहरीका अनुसार लकडाउन अवधिको दुइ महिनामा झण्डै ७ अर्बको ब्यापार घाटा भएको जनाएको छ । इटहरी शहरभित्र रहेका सबै ब्यवसायहरूको कुल कारोबार ६६ अर्ब रुपैया रहेकोमा यो दुइ महिनाको लकडाउनले ६ अर्ब ९८ करोडको ब्यापार घाटा देखाएको राजस्व कार्यालयले बताएको छ ।
त्यस्तै इटहरी उपवमहानगरको राजस्व शाखाले पनि यो आर्थिक वर्षमा लक्ष्य अनुरूपको राजस्व संकलन गर्न नपाएको जनाएको छ । आ.व. २०७७÷७८मा कुल रू ३७ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा अहिले सम्म १६ करोड ८८ लाख ३ हजार मात्रै राजस्व संकलन भएको जनाएको छ । अघिल्लो आ.व.मा करीब २० करोड राजस्व संकलन गरेको उपमहानगरले यो वर्ष कोरोनाकै कारण २ महिना लकडाउन हुँदा ५४ प्रतिशत राजस्व गुमाएको देखिएको छ ।
उपमहानगरका राजस्व शाखा प्रमुख नविन भट्टराईका अनुसार कोरोना महामारीकै कारण राजस्वमा गिरावट आएको हो । पुरानै अवस्थामा इटहरीको व्यवसाय फर्काउन अझै १ वर्ष लाग्ने राजस्व शाखाका प्रमुख भट्टराई बताउँछन ।
त्यस्तै लकडाउनकै कारण होटल ब्यवसायमा पनि नराम्रो असर परेको देखिएको छ । करीब ४ अर्ब रूपैया वार्षिक कारोबार हुने गरेको होटल व्यवसायमा पनि दुइ महिनाको लकडाउनले ३० करोड बढीको क्षति पुर्याएको छ ।
होटल व्यवसाय संघ इटहरीका अध्यक्ष जिवन पराजुलीका अनुसार इटहरीमा साना तथा ठुला गरी २ सय ६३ होटलहरू रहेका छन । उनिहरूको कुल कारोबार वार्षिक रूपमा ३ अर्ब ९८ करोड ६६ लाख हुने गरेकोमा लकडाउनका कारण ब्यवसाय धरासयी बनेको अध्यक्ष पराजुलीको भनाइ छ ।
यता उद्योग वाणिज्य संघ इटहरीले पनि कोरोना संक्रमणको कारण भएको लकडाउनले इटहरीको व्यापार व्यवसायलाइ नकरात्मक असर पुर्याएको बताएको छ । संक्रमणको कारण ब्यापार घाटा भन्दा पनि इटहरी क्षेत्रको ब्यवसायलाइ ३ वर्ष पछि सर्नेगरी धकेलेको उद्योग वाणिज्य संघ इटहरीका महासचिव पिताम्बर पोख्रेलले बताए ।
ब्यवसायलाइ धरासयी हुन नदिन इटहरी स्थानीय सरकार, उद्योग वाणिज्य संघका पदाधिकारी तथा सम्बन्धित सरोकारवालाहरूले यस बिषयमा बेलैमा गम्भिर भएर सोच्नुपर्ने उनले बताए ।