विराटनगर । विराटनगरको बाल सुधार गृहको तीन तल्लामाथिबाट हाम्फालेर फरार भएका चारै जना बालकलाई प्रहरीले पुनः पक्राउ गरेको छ । बाल बिज्याईं सम्बन्धी विभिन्न मुद्दामा अदालतबाट सजाय भई उनीहरु सुधार गृहमा रहँदै आएका थिए ।
शनिबार अपरान्ह प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका वडा नं.–३ स्थितमा बालसुधार गृहको छतबाट हामफाली ४ जना बाल बिज्याईकर्ताहरू फरार भएका थिए । तीमध्ये एक जनालाई तत्कालै विराटनगर ३ स्थितबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनएको छ ।
बाँकी तीन जना फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय मोरङ र १ नं. प्रदेश प्रहरी कार्यालय रानी विराटनगरबाट खटिएका प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आइतबार बिहान विराटनगर महानगरपालिका वडा नं.–४ स्थित पुलचोक नहर छेउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
डिएसपी मन्जिल मुकारुङले उनीहरू सामान्य घाइते समेत रहेको देखिएकोले उपचारको लागि कोशी अस्पताल विराटनगर पठाई थप अनुसन्धान भईरहेको बताए ।