सोलुखुम्बुः प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि सोलुखुम्बुलाई ३५ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ ।
आगामी वर्षमा खर्च गर्नेगरी जिल्लाका आठवटा स्थानीय तहका लागी प्रदेश सरकारबाट ३५ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन भएको हो । अघिल्लो बिहीबार प्रदेश १ को प्रदेशसभा बैठकबाट उक्त बजेट सर्वसम्मत रुपमा पारित भएको छ । जस अनुसार प्रदेश सभा (क) अन्तरगत पर्ने स्थानीय तहका लागि २३ करोड १८ लाख र प्रदेश सभा (ख) अन्तरगत पर्ने स्थानीय तहका लागि १२ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन भएको प्रदेशसभा सदस्य उत्तम कुमार बस्नेतले जानकारी दिए । प्राप्त जानकारी अनुसार सोलु दूधकुण्ड नगरपालिकालाई पाँच करोड ८१ लाख, माप्य दूधकोसी गाउँपालिकालाई दुई करोड १७ लाख, खुम्बु–पासाङ–ल्हामु गाउँपालिकालाई दुई करोड सात लाख र लिखुपिके गाउँपालिकालाई दुई करोड २२ लाख विनियोजन भएको छ ।
यस्तै थुलुङ दुधकोशी गाउँपालिकालाई नौ करोड ६८ लाख, नेचासल्यान गाउँपालिकालाई छ करोड ६२ लाख, सोताङ गाउँपालिकालाई दुई करोड ६ लाख र महाकुलुङ गाउँपालिकालाई चार करोड ८२ लाख बजेट विनियोजन भएको नेकपा एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक तथा प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । जिल्लाको दुईवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य राजभण्डारी र बस्नेतले यहाँको आवश्यकतालाई केन्द्रमा राखेर बजेटका लागि पहल गरेको बताए ।