धरान । अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाउन खोजेको भन्दै मंगलबार देखि आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक तथा विद्यार्थीहरुले विरोध र्याली प्रदर्शन गरेका छन् ।
प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरीले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई अंकुश लगाउँदै फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा। विष्णु पोखरेललाई स्पष्टिकरण सोधे पछि चिकित्सक तथा विद्यार्थीहरु आन्दोलित भएका हुन् । उनीहरुले २४ घण्टा भित्र स्पष्टिकरण फिर्ता लिदै माफि माग्नुपर्ने माग गरेका छन् ।
डा. पोखरेलले केही दिन अघि प्रतिष्ठानमा भएको अनियमितता र भ्रष्टाचारबारे अख्तियारको ध्यानाकर्षण गराउँदै एसएमएस गरेका थिए । सोही विषयलाई लिएर उपकुलपति डा। गिरीले गत जेठ ३० गते स्पष्टिकरण मागेका थिए । उपकुलपतिले वाक स्वतन्त्रतामा अंकुश लगाउन खोजेको भन्दै मंगलबार विरोधसभा र आज विरोध र्याली निकालेका हुन् ।
उपकुलपति कार्यालयअघि भेला भएका चिकित्सक तथा विद्यार्थीहरुले प्रतिष्ठानको मेन गेट, बुद्धचोक, शिवमार्ग हुदै डेन्टल कलेज पुगेर पुनः उपकुलपति कार्यालय अघि पुगेका थिए । बिहिबार भानुचोकसम्म र्याली निकाल्ने संयुक्त संघर्ष समितिले जनाएको छ ।
फ्याकल्टी वेल्फेयर सोसाइटीका महासचिव डा।एस।पी।रिजालले आफुहरुको माग पुरा नभएसम्म आन्दोलनको कार्यक्रम यथावत रहने बताए ।