धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको अनियमितता तथा भ्रष्टाचारका विरुद्ध अख्तियारलाई एसएमएस गरेका एक चिकित्सकलाई उपकुलपतीले स्पष्टिकरण सोधे पछि २४ घण्टा भित्र माफि माग्न चिकित्सक तथा विद्यार्थीहरुले माग गरेका छन् ।
प्रतिष्ठान स्थित चिकित्सा तथा दन्त चिकित्सक वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेललाई उपकुलपती डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानको नियमावली विपरित कार्य गरेको भन्दै सोमबार ३ दिन भित्र स्पष्टिकरण दिन पत्राचार गरेका थिए । अनियमितताबारे आवाज उठाउदा स्पष्टीकरण सोधिएकोमा वेल्फेयर सोसाइटीले घोर आपत्ति प्रकट गरेको छ ।
विरोध स्वरुप आज बिहान उपकुलपति कार्यालय अघि फ्याकल्टी, जेआर र विद्यार्थीहरुले विरोध सभा समेत गरेका छन् । उनीहरुले चौबिस घण्टा भित्र स्पष्टीकरण फिर्ता लिएर उपकुलपतिले माफी नमागे थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने मनसायले उपकुलपतिले स्पष्टिकरण सोधिएको सोसाइटीका महासचिव डा. एसपी रिजालले बताए । उनले भने, ‘प्रतिष्ठानका बेथितीहरुको विषयमा सम्बन्धित आयोगले अध्ययन गरेर निक्र्यौल गरिदिनु भनेर आफ्नो दायित्व निभाउँदा स्पष्टिकरण मागिन्छ भने त्यो नियत खराब हो ।’ यसलाई कडा रुपमा प्रतिरोध गर्ने उनको भनाई छ । संविधान अनुसार प्रतिष्ठानमा भएको अनियमितताको जाँच गर्नुस भनेर आग्रह गर्दा स्पष्टिकरण मागिनुको कडा प्रतिरोध गरिने उनले बताए । २४ घण्टा भित्रमा फिर्ता लिदै माफि माग्नु पर्ने उनले बताए ।
प्रतिष्ठानको अनियमितताबारे फ्याल्कटी वेल्फेयर सोसाइटीका अध्यक्ष डा.विष्णु पोख्रेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई एसएमएस गरेका थिए भने अन्यालाई पनि एसएमएस गर्न अपिल गरेका थिए । सोही बिषयलाई लिएर प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले उनलाई आइतबार स्पष्टीकरण सोधेका हुन् ।