धरान । कोरोना भाइरस महामारी र नियन्त्रणका लागि नर्सहरुले स्वतस्फूर्त ‘कोभिड विशेष नर्स समूह’ बनाएर निःशुल्क परामर्श दिन शुरु गरेका छन् । देशका सातै वटा प्रदेशमा समुहले अभियान संचालन गरेको छ । कोरोना शुरु भएदेखि नै नर्सहरुले उचित परामर्श दिने काम गर्दै आएपनि अहिले समूह नै बनाएर काम शुरु गरेका हुन् । कतिपय बिरामी कोभिड संक्रमण भएपछि स्वास्थ्य सामान्य हुँदा पनि आत्तिएर अस्पताल पुग्दा अस्पतालले धान्न नसक्ने स्थिति आएको र अस्पताल जानुपर्ने गम्भीर बिरामी सूचनाको अभावले घरमै बस्दा ज्यान जोखिममा परिरहेको भन्दै ‘कोभिड विरुद्ध नर्स समूह’ बनाएर परामर्श दिन थालिएको प्रदेश १ की संयोजक शिक्षा कार्कीले बताइन् ।
कोभिड विशेष नर्सले कोभिडबाट सङ्क्रमित नहुन के गर्ने ? यदि सङ्क्रमण भयो भने कसरी व्यवस्थापन गर्ने, घरमा आइसोलेशन बस्दा परिवारका अरु सदस्यलाई कसरी जोगाउने ? कस्तो खाना खाने ? आफ्नो मानसिक स्वास्थ्य कसरी सन्तुलित राख्ने ? कुन बेला अस्पताल जाने ? लगायतका विषयमा नागरिकलाई निःशुल्क परामर्श दिनेछन् । प्रदेश नं १ को कोभिडविरुद्ध नर्सको संयोजक कार्की सहित परामर्शदाता विद्या बस्नेत छन् । कोभिड विरुद्ध नर्स समूहमा नर्सिङमा मास्टर्स गर्दै गरेकाहरु सहित शिक्षक तथा स्वास्थ्य कार्यालयमा काम गरिरहेका नर्सहरु सहभागि रहेको कार्कीले बताईन् । समूहले होम आइसोलेसनमा बसेका बिरामीहरुलाई परामर्श सहित अस्पताल सम्म पुरयाउन सहजीकरण गर्नेछ ।
कार्कीले भनिन्, ‘सम्पर्कमा आएका होमआइसोलेसनमा बसेका विरामीलाई परामर्शदाताले सम्पर्क गर्ने छन्, कुनै पनि जानकारी उपलब्ध गराउनुहुन्छ, बिरामी अस्पताल जानु परेमा उनीहरुलाई सहजीकरण गर्नेछौं ।’ निको नहुँञ्जेलसम्म फलोअप गरिरहने उनले बताइन् । सरकारले पनि स्थानीयतह सँग सहकार्य गरेर सबै नगरपालिका र गाउँपालिकामा समन्वय गर्न आग्रह गरेकाले केही दिन भित्रै सबै पालिकाहरुमा अभियान संचालन हुने उनले बताइन् । अभियान शुरु भए पछि अहिले सम्म एक सातामा १ सय ७० जना सम्पर्क आइसकेका छन् । उनीहरुलाई विभिन्न परामर्श दिदै अस्पतालमा उपचारको लागि समेत सहजीकरण गरिएको उनले बताइन् ।