विराटनगर । प्रदेश १ मा कोरोना परीक्षणको लागि प्रयोग हुने किट तथा रिएजेन्ट अभाव हुन थालेको छ । अभावकै कारण एन्टीजेन टेष्ट बन्द भएको छ । खासगरी भारतीय नाका हुँदै प्रवेश गर्ने नागरिकहरुको एन्टीजेन परीक्षण गरी सम्बन्धित पालिका पठाइने गरेको थियो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले प्रदेशका अस्पतालहरुमा किट अभावमा परीक्षण प्रभावित बनेको बताएका छन । कार्कीले भने,“एक दुई दिनभित्रै किट र रिएजेन्ट प्राप्त नभए कोरोना परीक्षण नै स्थगन हुने अवस्था भईसकेको छ ।” अहिले प्रदेश १ मा दैनिक २ हजार २ सय जनाको पीसीआर परीक्षण हुँदै आएको छ । सचिव कार्कीका अनुसार प्रदेश सरकारले स्वीस डेभलपमेन्ट कोअपरेशनको सहयोगमा प्राप्त गरेको पीसीआर मेसिनबाट हुने परीक्षण नरोक्न स्विस सरकारसंग किट र एन्टीजेन माग गरेको जानकारी दिए । स्वास्थ्य सेवा विभागबाट माग भएपछि किट प्राप्त हुन नसकेको कार्कीको भनाई छ । प्रदेश १ मा दैनिक एक हजारको संख्यामा संक्रमित थपिने गरेका छन । परीक्षण गरिएकामा यो सरदर ५० प्रतिशत हो । यसैबीच, प्रदेश १ बाट अन्यत्र अक्सिजन ढुवानी हुने गरेकोमा अब भने अन्यत्र पठाउन सक्ने अवस्था बिस्तारै कम भएको सामाजिक विकास मन्त्रालयको अध्ययनले देखाएको छ । पूर्वमन्त्री योगेश मट्टराईले हिमाली जिल्ला ताप्लेजुङमा कोभिड नियन्त्रणको लागि सरोकारवालाबीच सोमबार गराएको छलफलमा सचिव कार्कीले नयाँ अक्सिजन सिलिण्डर नभएको र पुराना सिसिण्डरले धान्न छाडेकोले समस्या बढ्न थालेको सुनाए । भने,“कोसी कोभिड अस्पतालमा मात्र दैनिक पाँच सय सिलिण्डर खपत भई रहेको छ । तीनवटा अक्सिजन कम्पनीसंग सम्झौता गरेपनि अन्यत्र पठाउने भएकोले समस्या हुन थालेको छ ।” प्रदेश १ को सुनसरीमा ३ र मोरङमा अक्सिजन उत्पादन गर्ने ठूला प्लान्ट छन । नेपाल सरकार स्वास्थ्य मन्त्रालयका डा. महेन्द्र श्रेष्ठले प्रदेशहरुमा किटन र एन्टीजेन अभाव टर्ने बताएका छन । उनले भने,“ल्याउँदा केहीढिला भएको हो तर हिजो मात्र मन्त्रालयमा एन्टीजेन तथा टेष्ट किट आएको छ । अब चीनबाट आएको अक्सिजन सिलिनडर पनि सबै प्रदेशमा करिब एक हजारका दरले पठाउने छौं ।” श्रेष्ठले एक हजार सिलिन्डर हरेक प्रदेशमा थप हुँदा अहिलेको माग थेग्ने अपेक्षा रहेको सुनाए । यसैबीच हिमाली जिल्ला ताप्लेजुङमा दोस्रो लहरको कोरोना अधिक फैलिएपछि प्रदेश सरकारले अस्पतालका लागि रु. १५ लाख निकासा गरेको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४४ हजार २२५ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ८५६ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १२ हजार ७२१ पुगेको छ । प्रदेशमा दैनिक औसत दुई हजार जनाको कोरोना परीक्षण हुने गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।