बराहक्षेत्र । गत बर्षको जेठ ३० गते निर्माण सम्पन्न भएको व्यायाम केन्द्र हाल सम्म प्रयोगमा आउन सकेको छैन् । वराहक्षेत्र २ स्थित पुनरबासमा निर्माण भएको हलको औपचारिक उद्घाटन भन्ने गत मसिर १२ गते सुनसरी क्षेत्र १ का माननिय सांसद जय कुमार राईले गरेका थिए । शारिरिक व्यायाम हल सासद जय कुमार राईको स्थानीय विकास पूर्वधार साझेदारी कार्यक्रम अन्तर्गत दुई आर्थिक बर्षमा गरेर ३० लाखमा निर्माण भएको हो ।
दुई आर्थिक बर्षको बजेटबाट निर्माण भएको भवनको बारेमा स्थानीयवासि, स्थानीय राजनीतिक दल र स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी बिनै एक्लौटि रुपमा भवन निर्माण गरेको भन्ने आरोप उपभोक्ता समितिले खेप्नु परेको छ ।
स्थानीय कृष्ण भट्टराई भन्छन, ‘भवन निर्माण उपभोक्ता समिति गठन गर्दा स्थानीयलाई जानकारी नै गराएनन्, आफु खुसी मिलोमतोमा उपभोक्ता समिति गठन गरी राज्यको रकम दुरुपयोग भएको छ, ३० लाखमा बनेको भवन १ तले, सुबिधा सम्पन्न हुनु पर्ने हो , तर त्यस्तो छैन ।’ अझ शारीरिक ब्यायाम केन्द्रलाई चाहिने भौतिक सामाग्रीहरु उपलब्ध नगराइ भवनमा ढोकामा साचो लगाएर राख्नुले राज्यको लगानी बालुवामा पानी हाले सरह भएको उनीहरु बताउँछन् ।
व्यायाम केन्द्रको भवन पूर्ण रुपले निर्माण भए पछि सांसद राईले उद्घाटन गरे पनि अहिले सम्म सञ्चालनमा नआउँदा आश्चर्य लागेको वराहक्षेत्र १ का नेपाली कांग्रेसका उप– सभापति संन्तोष श्रेष्ठ बताउँछन् । उनले भने, ‘निर्माण उपभोक्ता समितिले भवन वनाएर कसलाई हस्तान्तरण गर्यो ?, सञ्चालन समितिको गठन भएको छ छैन, एउटा राजनैतिक दलको पार्टी कार्यालय जस्तो भएको छ, यस बिषयमा स्थानीय सरकारको ध्यानाकर्षण होस ।’ एकलौटी समिती वनाई काम गर्ने अनि एमाले बाहेकका अरुलाई उपयोग गर्न नदिदाँ यस्तो अवस्था आएको आरोप लागेको छ ।
व्यायाम केन्द्रको निर्माणको लागि उपभोक्ता समिति गठन गर्दा वडा कार्यालयलाई कुनै जानकारी नगराएको बराहक्षेत्र २ का वडाध्यक्ष हरिकृष्ण भट्टराई बताउँछन् । उनले भने, ‘निर्माण सम्पन्न भएको कुरा सुनेको हुँ, तर हालसम्म निर्माण सम्पन्न भएको सिफारिस वडा कार्यालयमा माग्न समितिका पधाधिकारीहरु कोही पनि आएका छैनन् ।’
निर्माण उपभोक्ता समितिले भन्ने लागत स्टमेट भन्दा बडी काम भएको दाबि गरेको छ । कुल लागतले नपुगेर समितिको नाममा १ लाख ५० हजार रुपैयाँ हाड्वेयर पसल लगायत अन्यलाई तिर्न बाकी रहेको समितिका पधाधिकारी बताउँछन् ।
अनियमितता, एकलौटी भन्ने कुरा गलत भएको उपभोक्ता समिति तथा सन्चालन समितिको अध्यक्ष अरुण राईको भनाई छ । उनले भने, ‘काम नगर्ने आरोप गलत प्रचार हो, ब्यायाम केन्द्रमा चाहिने सामग्रीहरु नहुँदा ढोकामा साचो लगाउन बाध्य भएको हौं ।’ भवन स्थानीय माधव थापाले २ कठ्ठा र असोक कार्कीले १ कठ्ठा भोगचलन गर्दै आएको ऐलानि जमिनमा निर्माण भएको हो ।