विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमण भएर उपचारमा समस्या भएका पत्रकारहरूका लागि कोरोना कोभिड समन्वय कोष स्थापना गरेको छ ।
विहिबार देखि सञ्चालनमा ल्याईएको कोषमा महासंघका सल्लाहकार र कार्यसमितिका तर्फबाट ५१ हजार रुपैयाँ जम्मा गरिएको छ । कोषमा प्रदेश सरकारबाट प्राप्तहुने २ लाख पनि थप गरिने महासंघ अध्यक्ष सञ्जीव खनालले बताए । उनले भने, ‘कोषमा सहयोगका लागि दाताहरूलाई पनि आह्वान गर्दछौं ।’
कोष सञ्चालन तथा व्यवस्थापनका लागि अध्यक्ष खनालको संयोजकत्वमा सल्लाहकार शकंर खरेल, सचिव नेत्र पी अधिकारी र कोषाध्यक्ष अभयकुमार राई सदस्य रहने गरि समिति गठन गरिएको महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कोरोना संक्रमणमा परेका सञ्चारकर्मीहरुलाई अस्पतालमा भर्ना तथा प्रदेश र स्थानीय सरकारसँगको समन्वयका लागि महासंघ अध्यक्ष खनालको संयोजकत्वमा कार्य गर्न ‘¥यापिड रेस्पोन्स टिम’ गठन गरिएको छ । टिममा सल्लाहकार शंकर खरेल, उपाध्यक्ष मोहन भट्टराई, तारा आचार्य, सचिव नेत्र पी अधिकारी, कोषाध्यक्ष अभयकुमार राई सहित कार्यसमिति सदस्यहरुलाई आवस्यक सहयोगका लागि जिम्मेवारी दिईएको विज्ञप्तिमा जनाईएको छ ।
समाचार संकलन तथा सम्प्रेषणका क्रममा संक्रमित हुने सञ्चारकर्मीहरूलाई तत्काल उपचारको प्रवन्ध मिलाउनका लागि प्रदेश नं. १ सरकार, स्थानीय सरकारहरूको महासंघले ध्यानाकर्षण गराएको छ । कोरोना संक्रमण भई आईसोलेसन केन्द्र र होमआईसोलेसनमा रहेका सञ्चारकर्मीको स्वास्थ्यलाभको कामना गर्दै दैनिक स्थलगत समाचार संकलन÷सम्प्रेषणमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सावधानी अपनाउँदै र अत्यावस्यक काम बाहेक घरबाटै समाचार संकलन तथा सम्प्रेषणका लागि महासंघले आग्रह गरेको छ ।