धरान/ कोभिड–१९ को महामारीका बेला सञ्चारकर्मीको स्वास्थ्य सुरक्षा तथा सुचना संकलनमा सहयोग पु¥याउन प्रेस चौतारी नेपाल सुनसरीले स्थानीय तहको ध्यानाकर्षण गराएको छ ।
प्रेस चौतारी नेपाल सुनसरी जिल्ला कार्य समितिले मंगलबार जिल्लाका १२ वटै स्थानीय तहका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउदै सञ्चारकर्मीलाई सुरक्षित भएर समाचार सम्प्रेषण गर्ने वातावरण तयार पारिदिन आग्रह गरेको छ ।
स्थानीय तहका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै कोरोना महामारीका समयमा सञ्चारक्षेत्र समेत धरासायी बन्दा सञ्चारकर्मीले समयमै तलब नपाउने समस्या हुने गरेकोले यसमा पत्रकारहरुका लागि स्थानीय सरकारले विभिन्न कार्यक्रम अगाडि सारेर सहयोग गर्न माग समेत गरेका छन् । उनीहरुले सञ्चारकर्मीहरुका लागि फेलोसिप कार्यक्रम ल्याउन, स्थानीय मिडियालाई समानुपातिक रुपमा विज्ञापन उपलब्ध गराउन, रिपोर्टिङ गर्न फिल्डमा खटिने सञ्चारकर्मीलाई आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउन साथै समन्वय गर्न आग्रह गरेको छ ।
प्रेस चौतारी नेपाल एक नं. प्रदेश सदस्य सन्तोष काफ्ले, पत्रकार महासंघ कतार शाखाका कार्यसमिति सदस्य खेमराज सुवेदी, प्रेस चौतारी नेपाल सुनसरी सदस्य तथा धरान इन्चार्ज दामोदर गुरागाई लगायतको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाइएको थियो ।
जिल्लाका धरान, इटहरी, बराहक्षेत्र, इनरुवा लगायतका स्थानीय तहका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाइएको प्रेस चौतारी सुनसरीका अध्यक्ष शेखर ढकालले जानकारी दिनुभयो । ज्ञापन पत्र बुझ्दै धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले प्रेस चौतारीले ध्यानाकर्षण गराएको विषयमा सकारात्मक रहेको प्रतिक्रिया दिए ।
मेयर राईले भने –‘प्रेस चौतारीले राखेको माग प्रति म सकारात्मक छु, यस विषयमा हामी छलफल गरेर स्वास्थ्य सामाग्री उपलब्ध गराउने, फेलोसिकालागी पत्रकार महासंघसँग समन्वय गर्ने तथा समानुपातिक विज्ञापनका विषयमा के गर्न सकिन्छ छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ संक्रमणका समयमा सञ्चारकर्मीका समास्या समाधानमा महासंघ गम्भीर नभएको आरोप
सकटका समयमा सञ्चारकर्मीका लागि नेपाल पत्रकार महासघ सुनसरीले महत्वपूर्ण भूमिका नखेलेको भन्दै प्रेस चौतारी नेपाल सुनसरीले ध्यानाकर्षण गराएको छ ।
नेपाल पत्रकार महासंघकै कार्यालयमा पुगेर अध्यक्ष जनकऋषि राईलाई ध्यानकर्षण पत्र बुझाउदै चौतारीले ध्यानाकर्षणपत्र दिँदै सञ्चारकर्मीका समस्यामा विषयमा गम्भीर हुन आग्रह गरेका हुन् ।
‘संकटसँग जुधिरहेका सञ्चारकर्मी र सञ्चार संस्थाहरुको राहतकोलागी आवश्यक कार्यक्रम ल्याउन नसकेकोले सञ्चारजगतको भूमिका समेत खुम्चिने अवस्था आएको’ ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ । महामारीको समयमा पत्रकारहरुलाई घरबाटै काम गर्ने वातावरण बनाउन भूमिका खेल्न, पारिश्रमिक नपाएका पत्रकार तथा सञ्चार गृहबाट निकालिएका पत्रकारहरुलाई आवश्यक सहयोग गर्न र संकटको समयमा तत्काल प्रभावकारी कदम चाल्न महासंघको ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षण पत्र बुझदै पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईले जिल्लाका सञ्चारसंस्था र सञ्चारकर्मीको अभिलेख राख्ने काम गरिरहेको भन्दै तत् पश्चात कार्यक्रम ल्याउने आश्वासन दिए ।